भवन निर्माण तथा नवीकरण प्रणालीका कमजोरी गहन रूपमा समीक्षा गरी भविष्यमा यस्ता त्रासदी दोहोरिन नदिने उद्देश्यले न्यायाधीशको नेतृत्वमा स्वतन्त्र समिति गठन गर्ने तयारी छ।
हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट कम्प्लेक्समा भएको आगलागीमा १५१ जनाको मृत्यु भएपछि घटनाको छानबिन गर्न न्यायाधीशको नेतृत्वमा ‘स्वतन्त्र समिति’ गठन गर्ने घोषणा गरेका छन्। सो आगलागी पछिल्ला दशकमा शहरले सामना गरेको सबैभन्दा भीषण घटनामध्ये एक मानिएको छ।
“भवन निर्माण तथा नवीकरण प्रणालीका कमजोरी गहन रूपमा समीक्षा गरी भविष्यमा यस्ता त्रासदी दोहोरिन नदिने उद्देश्यले म न्यायाधीशको नेतृत्वमा एउटा स्वतन्त्र समिति गठन गर्नेछु,” उनले भने।
अधिकारीहरूका अनुसार आगलागी बाहिरी मचानमा प्रयोग गरिएको जालमार्फत तीव्र गतिमा फैलिएको थियो। जसले आवश्यक अग्नि–प्रतिरोध मापदण्ड पूरा गर्न नसकेको र अग्नि रोकथाम प्रणालीले भरपर्दो रूपमा काम गर्न नसकेको प्रारम्भिक जाँचले देखाएको छ।
हङकङमा अनुसन्धान आयोग गठन गर्ने कानूनी व्यवस्था विगतदेखि नै छ। जसमा सामान्यतया जटिल घटनाका तथ्य पहिचानका लागि न्यायाधीशले नेतृत्व गर्दै आएका छन। यसपटक भने लीले ‘स्वतन्त्र समिति’ भन्ने फरक शब्द प्रयोग गरेका छन्।
सुरक्षा, निगरानी, निर्माण र मर्मतसम्बन्धी मापदण्डमा तत्काल सुधार आवश्यक रहेको लीको भनाइ छ। “यी सबै कमजोरी बन्द भएको सुनिश्चित गर्न हामीले अत्यन्तै गम्भीरतापूर्वक काम गर्नुपर्छ। जिम्मेवारहरूलाई जवाफदेही बनाइनेछ, कमजोरीहरू हटाइनेछ र अवरोधहरू सम्बोधन गरिनेछ,” उनले भने। उनका अनुसार यस्ता घटनाबाट शहरलाई सुरक्षित राख्न सम्पूर्ण भवन नवीकरण प्रणालीमा सुधार कार्य अघि बढाइनेछ।
घटनाको संयुक्त अनुसन्धान गर्दै आएको भ्रष्टाचार–विरोधी प्रहरी र सामान्य प्रहरीले हालसम्म १४ जनालाई पक्राउ गरिसकेका छन्। तीमध्ये १३ जनालाई आगलागीका कारण भएका मृत्युमा संलग्न भएको आशंकामा पक्राउ गरिएको हो। लीका अनुसार, जिम्मेवार अपराधीहरूले निरीक्षण निकाय र कानून प्रवर्तन संस्थालाई धोका दिन घटिया जाललाई योग्य जालसँग मिसाएर प्रयोग गरेका थिए।
घटनापछि शहरभरि शोक छाएको छ, साथै व्यापक जवाफदेहिताको माग पनि उठिरहेको छ। तर जिवाफदेहिता माग्ने केही नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। २४ वर्षीय विद्यार्थी माइल्स क्वानलाई सरकारी जवाफदेहिताको माग गर्दै फ्लायर वितरण गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ। क्वानका चार मागसहितको अनलाइन निवेदनले सामग्री मेटिनु अघि एक दिनमै १० हजारभन्दा बढी हस्ताक्षर संकलन गरेको थियो। स्थानीय समाचारअनुसार पूर्व जिल्ला पार्षद केनेथ चेउङसहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।
गिरफ्तारीबारे सोध्दा लीले भने, “म कुनै पनि अपराधलाई सहन सक्दिनँ, विशेष गरी अहिले हामीले सामना गरिरहेको यो गम्भीर त्रासदीलाई राजनीतिक वा व्यक्तिगत रूपमा शोषण गर्ने गतिविधिलाई त बिल्कुलै सहन सक्दिनँ।”
उत्तरी ताई पो जिल्लाको वाङ फुक कोर्टको अग्लो आवासीय भवनमा गत बुधबार आगलागी हुँदा सन् १९८० पछिको विश्वकै सबैभन्दा घातक आवासीय दुर्घटनामध्ये एकको रूपमा यसलाई लिइएको छ। प्रहरीले सोमबार प्रभावित सात टावरमध्ये पाँचमा खोजी कार्य पूरा गरी अपार्टमेन्ट, दलान र सिँढी क्षेत्रमा पीडितका अवशेष फेला पारेको छ।
यता, केही पीडितका परिवारले सोमबार वाङ फुक कोर्ट फर्की परम्परागत अन्त्येष्टि संस्कार गरेका छन्, जुन केही दिन जारी रहने जनाइएको छ। (रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
