वन्यजन्तु शिकार–तस्करीका नामुद अभियुक्तहरू कारागार बाहिरै, संरक्षणमा बढ्यो चुनौती

जेन–जी आन्दोलनका बेला कारागारबाट भाग्नेहरूमा गैँडालगायत वन्यजन्तुको शिकार–तस्करीमा संलग्न कुख्यात अभियुक्तहरू पनि छन्। उनीहरू समाजमा फुक्काफाल हुँदा संरक्षणमै चुनौती थपिएको छ।

काठमाडौँ– २०६७ चैत २७ गते चितवनको रतनी घाटमा भाले गैँडा मृत भेटियो। चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको टोलीले खाग झिकिसकेको अवस्थामा त्यो गैँडा भेटेको थियो। यसबाट तस्करले गोली हानेर गैँडा मारेको र खाग लिएर गएको निष्कर्षमा पुग्न गाह्रो भएन।

अनुसन्धानका क्रममा खुल्यो– यो गैँडा मार्ने र खाग निकाल्ने काममा चितवनकै कालिका नगरपालिका बस्ने, ‘ठूला कान्छा’ र ‘सागर प्रजा’को नामले चिनिने बिन्दरसिंह प्रजा रहेछन्। तर उनी फेला परेनन्। 

अनुसन्धानबाट खुलेअनुसार बिन्दरसिंह वन्यजन्तु शिकार–तस्करीमा संलग्न प्रमुख व्यक्ति अर्थात् योजनाकार थिए। एक ठाउँ अपराध गरेपछि उनी परिचय फेरेर अर्को ठाउँ पुग्थे र लुकेर बस्थे। तर सधैँलाई छिप्न सकेनन्। यो घटना भएको ११ वर्षपछि २०७८ जेठ ७ गते चितवन राष्ट्रिय निकुञ्जको टोलीले उनलाई पक्राउ गर्यो। त्यसबेला उनी तनहुँको व्यास नगरपालिका–११ स्थित घाँसीकुवामा फेला परे। 

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले २०७२ असार ३० गते उनलाई १५ वर्ष कैद सजाय र १० लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। यही कसुर–मुद्दामा उनका छोरा ‘करण मुक्तान’ भनेर चिनिने करण प्रजालाई पनि दोषी ठहर गरिएको थियो। करण पनि २०७८ मै मकवानपुरबाट पक्राउ परे। 

निकुञ्ज प्रशासनका अनुसार बिन्दरसिंह प्रजाविरुद्ध यसबाहेक थप तीनवटा मुद्दासमेत छन्। 

अनि भदौ २४
लामो समयसम्म नाम र ‘सेल्टर’ फेर्दै कानूनी दायराबाट बच्दै आएका बिन्दरसिंह र करण पछिल्लो चार वर्षयता चितवन जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए। जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते सरकारी संरचना, कारागार र प्रहरी कार्यालयमा समेत आगजनी र तोडफोड मच्चियो, अनि देशभरका कारागारबाट कैदीबन्दी भाग्ने–भगाउने क्रम तीव्र बन्यो। त्यही क्रममा बिन्दरसिंह र करण पनि भागे।

चितवन कारागारबाट भाग्ने वन्यजन्तु शिकार–तस्करीका अभियुक्त यी दुई मात्र थिएनन्। 

२०८० कात्तिक ३० गते चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत चपरचुली पोस्टको दक्षिणतर्फ बडेला खोला इलाकामा दुईवटा पोथी गैँडा मृत भेटिएका थिए। निकुञ्ज प्रशासन र नेपाली सेनाको टोली घटनास्थल पुग्दा ठूलो गैँडा खाल्डोमा भेटिएको थियो भने अर्को सानो गैँडा गोली हानेर मारेको अवस्थामा फेला पारे। दुवै गैँडाबाट खाग झिकिएको थियो।

संरक्षित क्षेत्र निकुञ्जभित्रै दुईटा दुर्लभ एक सिंगे गैँडा मारेर खाग लगिएको भेटेपछि तत्कालै सुरक्षा टोली परिचालन भयो। अनुसन्धानका क्रममा मकवानपुरका रमेश खातीको योजनामा गैँडा मारेको पुष्टि भयो। 

त्यसपछि यसमा संलग्नहरू पक्राउ पर्न थाले। मंसिर ९ सम्म घटनामा संलग्न सबैलाई निकुञ्ज प्रशासनले पक्राउ गरिसकेको थियो। 

पक्राउ परेकाहरूले दिएको बयानअनुसार उनीहरू कात्तिक ९ मै निकुञ्ज प्रवेश गरेको थियो। गैँडा मार्न निकुञ्ज छिरेको तीन जनाको समूहले त्यसकै लागि ७ दिनमा ७ वटा खाडल खनेको थियो। कात्तिक २९ गते ठूलो गैँडा तिनैमध्ये एउटा खाडलमा परेको थियो। सानो गैँडा पनि खाडलमा फसेको देखेपछि यो समूहले टाउकोमा तीनवटा गोली हानेर मारेको र त्यसपछि दुवै गैँडाको खाग काटेर लिएको थियो। 

चितवन जिल्ला अदालतले रमेश खाती, पासाङ भनिने आइतसिं मुक्तान, स्याङबो भनेर चिनिने इन्द्रबहादुर तामाङ र सिताराम थिङलाई १५ वर्ष कैद सजाय र १० लाख रुपैयाँ जरिबाना हुने फैसला सुनायो। त्यस्तै, घले दाइ भन्ने सोमराज गुरुङ र जनक भन्ने शक्ति बल लामालाई ७ वर्ष कैद र ७ लाख रुपैयाँ जरिबाना तोक्यो। 

दुई वर्षदेखि चितवन जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका उनीहरू पनि भदौ २४ को घटनापछि कारागारबाट भागेका छन्। कारागार प्रशासनका अनुसार अन्य मुद्दाका कसुरदार झैँ वन्यजन्तु शिकार–तस्करीका थुप्रै अभियुक्त कारागारबाट भागेका छन्। 

कारागारबाट कैदीबन्दी भागेको दुई महिना बितिसक्यो। त्यसरी भागेकाहरूलाई कारागारमै फर्कन कारागार व्यवस्थापन विभागले असोज २० गतेसम्मको समय दिएको थियो। तर त्यसपछि पनि धेरै कैदीबन्दी नफर्किएपछि विभागले गत असोज ३० गते कारागारमा फर्केर नआएकाहरूको सूची सार्वजनिक गरेको थियो। 

सार्वजनिक विवरणअनुसार देशभरका कारागारमा कैद सजाय भुक्तान गरिरहेका वन्यजन्तु अपराधसँग सम्बन्धित ४३ जना कैदीबन्दी अझै फर्किएका छैनन्। यीमध्ये तीनजना भारतीय नागरिक छन्। उनीहरू गैँडा, सालक, रेडपान्डा, हिउँचितुवा लगायत दुर्लभ वन्यजन्तुका शिकार–तस्करी गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएका कैदीबन्दी हुन्। त्यसमा गैँडा मारेर खाग बिक्री र ओसारपसार गरेको कसुरका मात्र १५ जना छन्। 

चितवन कारागारबाट मात्र वन्यजन्तु अपराधका १८ जना कैन्दीबन्दी भागेका थिए। चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तका अनुसार तीमध्ये गैँडाको खाग तस्करी कसुरका सीताराम थिङ र  सालकको आखेटोपहार ओसारपसार गरेको कसुरका विवश रोक्का मात्र पक्राउ परेका छन्। १६ जना अझैँ कानूनी दायराबाहिर छन्। 

संरक्षणमै चुनौती थपिने चिन्ता
गैँडा शिकार–तस्करीमा संलग्न योजनाकारका रूपमा पक्राउ परेका र अदालतबाट समेत कसुर ठहर भएपछि कारागारमा सजाय भुक्तान गरिरहेका विन्दरसिंह प्रजा र रमेश खाती वन्यजन्तु शिकार–तस्करीका ती प्रमुख खेलाडी हुन् जसका कारण चितवनमा एक सिंगे गैँडाको शिकार–तस्करी बढेको निकुञ्ज प्रशासनको निष्कर्ष छ। “देशभरमै सबैभन्दा धेरै वन्यजन्तु शिकार र तस्करी हुने ठाउँ चितवन हो, एक सिंगे गैँडाको खाग तस्करी यहाँको ठूलो चुनौती हो,” निकुञ्जका एक अधिकारी भन्छन्, “अहिले कारागारबाट भागेकामध्ये कतिपय ठूला कुख्यात वन्यजन्तु तस्कर छन्। उनीहरू बाहिरै रहनु संरक्षणका लागि नयाँ चुनौती हो।” 

यो चुनौती आकलन गरेरै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कारागारबाट भागेका वन्यजन्तु अपराधका कैदीबन्दीलाई पक्राउ गर्न सबै निकायसँग समन्वय भइरहेको जनाएको छ। मंसिर ५ गते विभाग मातहतको वन्यजन्तु अपराध नियन्त्रण ब्युरोको बैठकले यसरी भागेका कैदीबन्दीको निगरानी गर्दै उनीहरूलाई नियन्त्रणमा लिने निर्णय गरेको थियो।

विभागका प्रवक्ता वेदकुमार ढकालले मातहतका निकायलाई यसका लागि निर्देशन दिइसकिएको बताए। “निकुञ्ज र सेनाको टोलीले निगरानी बढाइरहेका छन्, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित निकुञ्जअन्तर्गतका जिल्लाका सुरक्षा निकायलाई पनि आग्रह गरिएको छ,” उनले भने, “कोर एरिया र मध्यवर्ती क्षेत्रमा सेना र निकुञ्जले तथा बाहिरी क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले निगरानी बढाएका छन्।” 

सीआईबीको ‘पिलर ४’ ले वन्यजन्तु सम्बन्धी अपराध अनुसन्धानका काम हेर्ने गर्छ। विगतमा एक सिंगे गैँडा चोरी शिकारी गरेको कसुरमा सजाय र जरिवाना तोकिएका कतिपय व्यक्तिलाई सीआईबीले विदेशबाट समेत पक्राउ गरेर ल्याएको थियो।

जस्तो, २०६०–२०६७ को बीच चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा २१ वटा गैँडा मारेर खाग तस्करी गर्ने कार्यमा संलग्न राजकुमार प्रजालाई २०७१ माघ २५ गते सीआईबीले मलेसियाबाट पक्राउ गरेर ल्याएको थियो। नाम बदलेर विभिन्न ठाउँमा लुक्दै आएका उनी पछिल्लो पटक रोजगार भिसामा मलेसिया पुगेका थिए। मलेसिया जान उनले ‘भक्तराज गिरी’ नामबाट नागरिकता र राहदानी बनाएका थिए। नक्कली राहदानी प्रयोग गरेको खुलेपछि सीआईबीले मलेसियन प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको थियो। 

वन्यजन्तु तस्करीमा संलग्न राजकुमार प्रजा नामकै अर्का व्यक्तिलाई सीआईबीले २०७९ असार १४ गते पक्राउ गरेको थियो। यी राजकुमारले गत भदौ २४ गते चितवन कारागारबाट भागेका बिन्दरसिंह प्रजाको समूहसँग मिलेर गैँडा मार्ने र त्यसको खाग निकालेर बेच्ने गरेको सीआईबीको अनुसन्धानले देखाउँछ। उनलाई पक्राउ गर्न पुगेका सीआईबीका तत्कालीन एक अधिकारी उनी गैँडा मारेर खाग तस्करी गर्ने समूहका ठूला योजनाकारमध्ये हुन्। “गैँडा मारेर खाग तस्करी गर्नेदेखि अन्य संरक्षित वन्यजन्तु शिकार–तस्करी गर्ने, विभिन्न ठाउँमा नाम बदलेर बस्ने उनको स्वभाव नै हो,” उनले भने, “कारागारबाट भागेका उनीजस्तै तस्करका कारण संरक्षणमा चुनौती थपिएको छ।”

विभागका प्रवक्ता ढकाल पनि एकपटक कैद सजाय काटेर बाहिर निस्केपछि फेरी चोरी, शिकारीमै संलग्न भएका नजिर विगतमा पनि रहेकाले थप चुनौती देखा परेको बताउँछन्। “कारागारबाट फरार भएकाहरू फेरी वन्यजन्तु कसुरको अपराधमा संलग्न हुने जोखिम छ। त्यहीकारण निकुञ्ज र सेनाको टोली अलर्टमा छन्। व्यक्तिको विगत हेरेर त्यसैअनुसार निगरानी बढाइएको छ,” उनले भने, “चोरी शिकारी बढ्ने खतरा रहेकाले हामी थप चनाखो बनेका छौँ।”

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्त कारागारबाट भागेकामध्ये केही पुनः व्यक्तिको विगत हेर्दा नै पुनः चोरी शिकारीमा संलग्न हुने जोखिम रहेको बताउँछन्। निकुञ्जका अनुसार गैँडा मार्ने उद्देश्यले हतियारसहित निकुञ्जको ‘कोर एरिया’मा प्रवेश गरेपछि पक्राउ परेका अक्कलबहादुर विश्वकर्मा तिनैमध्ये हुन्। गैँडा मार्ने उद्योग गरेको कसुरमा धरौटीमा रिहा भए पनि हातहतियार कसुरमा पुर्पक्षका लागि कारागार चलान भएका उनी अहिले फरार छन्। त्यस्तै, गैँडा मारेर खाग बिक्री तथा ओसारपसार कसुरमा कारागारमा रहेका ‘सोमा’ र ‘मीनबहादुर गुरुङ’ भनेर चिनिने खड्गबहादुर गुरुङ, राजमान थापामगर, तारा चेपाङ भनिने वीरमान सिंह प्रजा, जीवन भनिने सुरेश प्रजा, प्रकाशराज जोशी, विजय गुरुङ, शासन गुरुङ पनि कारागारबाट छन्।

सालकको आखेटोपहर ओसारपसार कसुरमा कारागारमा रहेका शमुएल नेपाली, सुमित सुनार, आशिष लिम्बु, अन्य वन्यजन्तु कसुरका उदित चन्द्र भनिने उदिचन मुखिया सुनसरीको झुम्का कारागारबाट भागेका छन्। जगन्नाथदेवल कारागारबाट भागेका गोपालबहादुर बानिया, पासाङ टासी तामाङ, डम्बरकुमार आले, सुकबहादुर तामाङ, प्रदीप मगर, शुकलाल तामाङ, आशिष जोगी, दावा घले, अर्जुन सेन ठकुरी, ताराबहादुर थापा, कुवेरबहादुर स्याङतान, सुवास तामाङ, सविन गुरुङ, ओमनारायण श्रेष्ठ, संजय तामाङ, टेकबहादुर तामाङ, पूर्ण राई, टासी तामाङ, विष्णुबहादुर गुरुङ, माया तामाङ, सूर्यबहादुर स्याङ्तान पनि वन्यजन्तु कसुरकै अभियुक्त हुन्। 

त्यस्तै, रेडपान्डाको छाला ओसारपसारको कसुरमा रौतहट कारागारमा रहेका निश्चल श्रेष्ठ र एकराज राई पनि फरार छन्। वन्यजन्तु कसुरमै कारागारमा रहेका तीन भारतीय नागरिक गौतमकुमार पिपल, शाह फैशल र श्रवणकुमार बाबरिया पनि फरार छन्। “उनीहरूबाट हुनसक्ने जोखिम ख्याल गरेर हामी संयुक्त रूपमा अपरेसन चलाइरहेका छौँ। निकुञ्ज र मध्यवर्ती बाहिरी क्षेत्रमा प्रहरीले पनि निगरानी गरिरहेको छ,” पन्तले भने।