ब्लग
शान्ति, अमनचैन र सद्भाव कति जरुरी छ भन्ने माओवादी हिंसादेखि साम्प्रदायिक तनावको भुक्तभोगी रहेको नेपालगन्ज जति सायदै कसैले बुझ्ला। यसकै खोजी गर्दै, यही सन्देश बाँड्न दौडिरहेको शहरसँगको अनुभूति:
गत कात्तिक अन्तिमतिर भर्खर ६ वर्ष पुगेकी छोरी रायनाले अचानक एउटा अप्रत्याशित प्रश्न तेर्स्याइन्– “बाबा, मैले रनिङ कम्पिटिसन/इभेन्टमा रन गरेको छु?” उत्तर स्वाभाविक थियो– छैन। “मलाई रनिङ कम्पिटिसनमा जान मन छ, कहिले जान पाइन्छ?” उनको अर्को प्रश्न अझै अप्रत्याशित थियो।
त्यसदिन केही बेरपछिका लागि एउटा कफी भेट तय थियो। नेपालगन्ज म्याराथनका परिकल्पनाकार तथा संस्थापक टीएस ठकुरी आएका बेला सामान्यतया कफी भेट छुट्दैन। यसपालि छोरी पनि थपिइन्। संयोग कस्तो भने ठकुरी रनिङ (म्याराथन दौड)को लोगोअंकिट टिसर्ट र क्यापमा थिए। त्यो देख्नसाथै छोरीको प्रश्न तेर्सिइहाल्यो, “यो त रनिङ इभेन्ट जस्तो छ, मलाई पनि रन गर्न मन छ।”
भनाइ नै छ– १२ वर्षमा खोलो पनि फर्किन्छ। दौडमा भाग लिने छोरीको इच्छा यो बेला प्रकट नभएको हुँदो हो, उनकै केही व्यक्तिगत कागजात बनाउने सरकारी कामकाजका लागि कर्मचारीतन्त्रबाट थोपरिएको झन्झटिलो प्रक्रियाले यहीबेला गृहजिल्ला पुग्नैपर्ने बाध्यता नआइलाग्दो हो त सम्भवतः यो संयोग जुर्न पनि ठ्याक्कै १२ वर्ष लाग्ने रहेछ। तर १२ होइन, ११औँ वर्षमै संयोग जुर्यो– नेपालगन्ज म्याराथनलाई प्रत्यक्ष हेर्ने, बुझ्ने र छोरीसँगै दौड (पूरा होइन, केही दूरी) मा भाग लिने।
पत्रकारिता जीवनका शुरूआती र उर्बर एक दशक बिताएको नेपालगन्जले प्रायः तानिरहन्छ– कहिले चाडबाडको बहानामा त कहिले पेसागत कामबाटै। यो शहर छाडेर काठमाडौँलाई कर्मथलो बनाएपछिका १७–१८ वर्षमा यस्तै संयोगले नेपालगन्जमा तानिरहे, यो शहरसँगको सामीप्य जोडिरहे। नेपालगन्जमा यहीबीच ‘रोड रेस’ प्रतियोगिताका रूपमा म्याराथन दौड शुरू भएको थियो। देशका असाध्यै गर्मी हुने शहरमध्येको नेपालगन्जलाई हामी प्रायः ‘चिसो शहर’ पनि भन्ने गर्थ्यौं। तापक्रमका हिसाबले असाध्यै तातो यो शहरलाई यस्तो उपमा दिनुको कारण मूलतः यसका कतिपय सामाजिक र आर्थिक चरित्र र व्यवहारसँग जोडिन्छ।
हपहप गर्मीले सताउने यो ‘चिसो शहर’ले लगातार १०औँ वर्ष म्याराथन आयोजना गरिसकेको थियो। कोभिड महामारीको लकडाउनमा पनि नरोकिएको म्याराथनले पछिल्ला वर्ष त विश्व म्याराथनको सर्वोच्च निकाय ‘एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेसेस’ (एम्स)बाट नेपालकै पहिलो आधिकारिक म्याराथन रुटको मान्यता पाएको थियो। यही ‘रोड रेस’ इभेन्टसँग साक्षात्कार हुन पटक–पटक निम्तो पाउँदा र आफ्नै निरन्तर प्रयासका बाबजुद पनि कहिल्यै समय जुरेको थिएन। म्याराथन शुरू भएको चार वर्षपछि जन्मेकी छोरीले दौडिने उत्कट इच्छा देखाएपछि ११औँ वर्षमा आएरै किन नहोस्, यसले अन्ततः तानिछाड्यो।
पश्चिम नेपालको पुरानो शहर नेपालगन्जबाट शान्तिको सन्देश दिन शुरू गरिएको इभेन्ट थियो नेपालगन्ज म्याराथन। शान्तिको सन्देश नै किन त भन्ने प्रश्न अर्थपूर्ण छ। किनभने यो त्यही शहर हो जसले अनेक आवरणमा हुने हिंसाको लामो चक्र पार गरेको छ।

हिंसाको त्यो त्रासद
देश माओवादी हिंसात्मक विद्रोहको चपेटामा पर्दै थियो, हामी नेपालगन्जलाई कर्मथलो बनाएर पत्रकारिता गर्थ्यौं। प्रहरी चौकी आक्रमण, घरबिदा आएका प्रहरीदेखि गाउँठाउँमा दलका कार्यकर्ताहरूलाई ‘भौतिक कारबाही’का नाममा गरिने हत्या–आक्रमणका घटना बढ्दै थिए। सुरक्षा तैनाथी, बन्दव्यापार, स्वास्थ्योपचार, शैक्षिक गतिविधि सबै हिसाबले नेपालगन्ज त्यसताका मध्यपश्चिम र सुदूरपश्चिमको केन्द्र थियो। माओवादी आक्रमणमा परेका प्रहरी, दलका कार्यकर्ता र सर्वसाधारणलाई उपचारका निम्ति ल्याइने ठाउँ यही थियो। नेपालगन्जको तत्कालीन भेरी अञ्चल अस्पतालले त ‘माओवादी पीडितको अस्पताल’ भन्ने अघोषित परिचय नै पाएको थियो जहाँ यस्तै भरिभराउ हुन्थे।
बिस्तारै माओवादी हिंसा फैलिँदै–चर्किंदै गयो। प्रहरीसँगै सेनामाथि पनि आक्रमण हुन थाल्यो। सैनिक ब्यारेक नै माओवादी आक्रमणमा परेपछि देशमा संकटकाल लाग्यो। सेना परिचालन भयो। त्यसपछि त यो शहर नै युद्धभूमि जस्तो लाग्न थाल्यो। जतिखेरै बज्ने एम्बुलेन्सको साइरन, धेरैजसो उडिरहने नाइटभिजन (सैनिक) हेलिकप्टरको आवाज, कुनै रात त शहरभित्रै गोलाबारी। शहर पस्ने गौँडा (चेक पोइन्ट) हरूमा बीचबीचमा भइरहने भिडन्त। अनि सुरक्षा कारबाहीका नाममा माओवादी कार्यकर्ता, समर्थक र कहिलेकाहीँ त निहत्था सर्वसाधारण मारिने र बेपत्ता पारिने क्रम बढ्दै गयो। लाग्थ्यो– यो एउटा युद्धग्रस्त क्षेत्र हो।
पत्रकारितामा जम्दै गरेका हामी यस्तो जगजगीसँग जुध्दै काठमाडौँबाट प्रकाशित हुने ‘ब्रोडसिट’मा प्रायः ‘फ्रन्टपेज बाइलाइन’ पाइरहँदा दंग पर्थ्यौं। तर यो खुशीसँगै अरू अप्रिय कुरा पनि जोडिएर आउँथे। कहिले सेनाले ब्यारेक, प्रशासन कार्यालय बोलाएर बेस्सरी केरकार गर्थ्यो। कहिले माओवादीले हामीलाई नै ‘सफाया’को फर्मान जारी गर्थ्यो। हामी आफैमाथि मडारिएको यो विघ्न असुरक्षाको भयभन्दा आफू बसिरहेको शहरले भोगिरहेको त्रासदीबाट ज्यादा पिरोलिन्थ्यौँ। पिरोलिने को पो थिएनन्! त्यसबाट त्राण मिल्ने झिनो आशा बोकेर उद्योगी–व्यवसायी, सामाजिक संघ–संस्था र नागरिक समुदायले निरन्तर शान्ति र्याली निकाल्थे। हत्या हिंसा बन्द गर्न अपिल गर्थे। तर त्यसको असर–प्रभाव नगण्य थियो।
तत्कालीन सात दल र माओवादीबीच १२ बुँदे (दिल्ली) समझदारी भएर त्यसकै जगमा २०६२/६३ को जनआन्दोलन भयो, त्यसको सात महिनापछि माओवादीको हिंसात्मक विद्रोह अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता भयो। त्यसपछि बल्ल नेपालगन्जले यस्तो त्रासदबाट त्राण पायो।
तर नेपालगन्जले बेहोरेको हिंसाको त्रासद यति मात्र छैन। माओवादी हिंसात्मक विद्रोहको जगजगी कायम रहेकै बेला २०६१ सालमा देशले अर्को त्रासद भोग्यो जो भदौ १६ को काण्ड भनेर चिनिन्छ। त्यस दिन देशको राजधानी काठमाडौँ विध्वंस, आगजनी र लुटपाटमा लपेटिएको थियो। इराकमा १२ जना नेपालीलाई एउटा आतंकवादी समूहले हत्या गरेपछि त्यसको विरोधमा प्रदर्शनमा उत्रिएको अराजक भीडले निश्चित समुदायका व्यक्ति, व्यवसायीहरूलाई निशाना बनाउँदै तोडफोड, आगजनी र लुटपाट मच्चाएको थियो। अवस्था यतिसम्म डरलाग्दो थियो कि काठमाडौँबाट मेरा तत्कालीन सम्पादक राजेन्द्र दाहालले टेलिफोन गरेर भनेका थिए, “नेपालगन्ज जोगाऊ है, रुक्मांगद् कटवाललाई भनेर हुन्छ वा के कसो गरेर हुन्छ, नेपालगन्जलाई जल्नबाट बचाऊ।” (त्यसबेला कटवाल सेनाको नेपालगन्जस्थित मध्यपश्चिम पृतनाका पृतनापति थिए, पछि प्रधानसेनापति नै बने।)
नेपालगन्ज विभिन्न धर्म, सम्प्रदायको मिश्रित बसोबास रहेको पुरानो शहर हो। यो शहरको यस्तो विशेषता बेलाबेला आफ्नै लागि चुनौतीसमेत बन्ने गर्छ। खासगरी चुनाव आउँदा पार्टी र उम्मेदवारले भोट तान्नलाई लगाउने उग्र नारा र सञ्चालन गर्ने अराजक गतिविधिका कारण नेपालगन्जले त्यसअघि पनि साम्प्रदायिक हिंसा र तनावको अवस्था बेहोरेको थियो। दलीय वा यस्तै अरू स्वार्थका कारण यहाँका धार्मिक सम्प्रदायबीच तनाव बढाउने काम पटकपटक भइसकेकाले हुनुपर्छ, सम्पादक दाहालले काठमाडौँबाट यस्तो चिन्ता जनाएका थिए।
चिन्ता स्वाभाविक र जायज थियो। तर उनले भने जस्तो केही गर्नु चाहिँ परेन। किनभने धार्मिक र सामाजिक अगुवा शान्ति र सद्भाव कायम राख्न आह्वान गर्दै संयुक्त रूपमा सडकमा ओर्लिए, उनीहरूले त्यस्तो कुनै वितण्डा हुन दिएनन्। हुन पनि पछिल्लो समय नेपालगन्जले त्यो शहरको परिचय बनाइरहेको छ जहाँ देशका कुनै भूभागमा धर्म वा सम्प्रदायका नाममा ‘धमिलो पानीमा माछा मार्ने’हरू सलबलाउँदा सबै धर्म र सम्प्रदायका अगुवा त्यसलाई निस्तेज पारेर शान्ति र सद्भाव कायम गराउन संयुक्त रूपमा अग्रसर भइहाल्छन्। नेपालगन्जको यो अग्रसरता अरू कैयौँ शहरका लागि अहिले मोडलझैँ बनेको छ।
२०६३ सालमा समान अधिकार र प्रतिनिधित्वको मागसहित मधेश आन्दोलन शुरू हुँदै गर्दा नेपालगन्ज नै हो जहाँबाट साम्प्रदायिक तनाव निम्त्याउने प्रयास गरिएको थियो। अहिलेको मधेश प्रदेशमा पर्ने तत्कालीन पूर्वी र मध्य तराईमा आन्दोलनको आगो नबल्दै नेपालगन्जमा एउटा समूहले निश्चित समुदायका व्यक्ति र व्यवसायमाथि छानीछानी आक्रमण गरेको थियो। तर मिलेर बसेका पहाडे र मधेशी समुदायलाई आमनेसामने ल्याएर भिडाउने यस्तो प्रयत्न सफल भएन। धार्मिक र सामाजिक अगुवा अघि सरेर यसलाई तत्कालै निस्तेज पारे, सामाजिक सद्भाव कायम राख्न डटेर जुटे।
अनि ‘पिस म्याराथन’
स्वार्थको राजनीतिले जताततै गाँजेका बेला समाजमा शान्ति र सद्भाव जहिल्यै अप्ठेरोमा हुन्छ। नेपालगन्ज त्यसमा झन् ज्यादा संवेदनशील ठाउँ हो। छिमेकी भारतमा राजनीतिक लाभका लागि प्रायः लागिराख्ने ‘हिन्दूत्व’को नारा सम्भवतः सबैभन्दा प्रभावी रहेको उत्तरप्रदेश छेउमै छ। उता केही घटना हुँदा वा देशमै अरूतिर सद्भाव खल्बल्याउने गतिविधि देखा पर्दा नेपालगन्ज सधैँ त्रस्त बन्छ। भर्खरै भदौ २४ मा भएको विध्वंसका क्रममा नेपालगन्जमा जे जस्ता घटनाक्रम भए, तिनमा संलग्नहरूको उल्लेख्य हिस्सा सीमापारिबाट आएको रेकर्ड सुरक्षा निकायदेखि सामाजिक अगुवाले नै सुनाए, देखाए। यो अवस्थाले उब्जाएको एउटा प्रश्न यहाँ अक्सर सुनिन्छ– धार्मिक र सामाजिक अगुवाको अग्रसरताले मात्र कतिन्जेल यी र यस्ता सम्भावित हिंसा निस्तेज पार्न सक्ला?

यही प्रश्नमा घोत्लिने क्रममा जन्मिएको हो नेपालगन्ज म्याराथन। शुरूआतको वर्ष, २०७२ मा त यसको नाम नै ‘नेपालगन्ज पिस म्याराथन’ थियो। “१० वर्षे माओवादी द्वन्द्वको असाध्यै चपेटामा परेको ठाउँ, सामाजिक सद्भाव बिथोलिने र शान्ति खलबलिने अरू कैयौँ घटना भएको, भइरहेको शहर। मधेशी–पहाडी र हिन्दू–मुस्लिम समुदायबीचको सद्भाव पनि खलबलिने अवस्था आएको ठाउँ। त्यो सद्भावलाई बरकरार राख्न केही गर्नुपर्छ भन्ने लाग्यो,” नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी भन्छन्, “नेपालगन्ज पिस म्याराथन नाम दिएर एउटा प्रतियोगिता शुरू गरौँ न त भन्ने सोच बन्यो। अनि नेपालगन्ज म्याराथन जन्मियो।”
संविधानसभाबाट भर्खर संविधान जारी भएको समय थियो। सरकार र तत्कालीन माओवादी विद्रोहीबीच शान्ति प्रक्रिया शुरू गर्न विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन (२०६३ मंसिर ५) लाई ध्यानमा राखेर त्यही मितिको सेरोफेरोमा म्याराथन शुरू गरियो। त्यसयता प्रत्येक वर्ष मंसिरको पहिलो शनिबार म्याराथन आयोजना हुन्छ। “विदेशमा हुने म्याराथनमा हामी एकै पटक हजारौँ मानिस भेला भएको देख्थ्यौँ, फरक धर्म र समुदायका मानिस एकैठाउँ आइपुग्थे। विविधता र अनेकताका सबै मानिसलाई एउटै मञ्चमा अटाउन सक्ने ठाउँ त म्याराथन पो रहेछ भन्ने लाग्यो,” ठकुरीले भने, “धार्मिक, जातीय तथा सामाजिक सद्भाव कायम राख्ने सबैभन्दा राम्रो प्लेटफर्म यो पो रहेछ भन्ने बुझेपछि हामी यसमै लाग्यौँ। प्रायः नयाँ पुस्ता जोडिने हुँदा यसले पछिसम्म शान्ति र सद्भाव बलियो बनाउन योगदान गर्छ भन्ने लाग्छ।”
शान्ति र सद्भाव बढाउन केन्द्रित नेपालगन्ज म्याराथन हिजोदेखि नै खेलकुदमा अलग्गै पहिचान बनाएको नेपालगन्जको यो चिनारीमा पनि योगदान गर्दै छ। बेलाबेला म्याराथनमा नेपालबाट ओलम्पिक छनोट प्रतियोगिताका रूपमा पनि मान्यता पाइरहेको यो प्रतियोगिताका विजेताले लन्डन ओलम्पिकसमेत दौडेर ‘एक्सपोजर’ पाइसकेका छन्।
मुख्य कुरा यसले ‘रोड रेस’लाई नयाँ पुस्तामाझ संस्कृतिका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ। म्याराथनमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी हुने नै भए, यसले साना बालबालिकाको किड्स रन (३ किमी दौड), विद्यार्थी तथा बालबालिका रन (५ किमी दौड) जस्ता इभेन्टबाट नयाँ पुस्तालाई नै क्रमशः यसमा तानिरहेको छ।
नेपालगन्ज झट्ट हेर्दा हिजोभन्दा धेरै बदलिएको छ। सीमानाकादेखि कोहलपुरसम्म चार लेनको सडक, गाउँ देहातसम्म चिल्ला पक्की सडक, परम्परागत पसल–व्यवसायका ठाउँ लिइरहेका ठूल्ठूला कम्प्लेक्स र तारे होटल। तर तिनले पर्खिरहेका ग्राहक र पर्यटक भने खासै देखिँदैनन्। यसले बन्दव्यापारमा मन्दी छ, लगानीकर्ता–व्यवसायीमा गुनासोसँगै निराशा बढ्दो छ। बनेका पूर्वाधार ‘मेन्टेन’ भइरहेका छैनन्। किनभने व्यापार सुस्त हुँदा नेपालगन्ज उपमहानगरपालिकाको आम्दानी असाध्यै न्यून छ जसले आफ्नै पूर्वाधार मेन्टेन गरिराख्नलाई खर्च गर्ने उपाय भेट्टाइ रहेको छैन।
मुलुक संघीयतामा जानुअघि नेपालगन्ज यो भेगकै केन्द्र थियो, धेरैमा आशा बरकरार थियो। संघीयतासँगै छेउको दाङ र सुर्खेत क्रमशः लुम्बिनी र कर्णाली प्रदेशका राजधानी बने। गणतन्त्रअघि राजा ज्ञानेन्द्रले क्षेत्रीय सदरमुकामका नाममा सुर्खेत र नेपालगन्जबीच विग्रहको बीजारोपण गर्दा राजाज्ञाविरुद्ध हस्ताक्षर अभियान नै चलाएको नेपालगन्जसँग यतिबेला गुनासो ज्यादा छ। हुन त प्रदेश राजधानी हुनु र नहुनुको तात्त्विक अर्थ छैन, शहर चलायमान हुन अरू कुरा नै निर्णायक हुन्छन्।
तर दलगत र नेतागत स्वार्थले प्रदेश राजधानी तय गर्दा नेपालगन्ज त्यही लहरमा बगेको देखिन्छ जसले शहर चलायमान पार्ने उपाय भेट्टाउन सकेको छैन। जब शहर चलायमान हुँदैन, अर्थतन्त्र कमजोर बन्छ, यसले त्यहाँका बासिन्दाको जीवनस्तर सुधार्न सक्दैन, त्यहाँ शान्ति र सद्भाव दिगो बनाउन चुनौती खडा हुन्छ। किनभने कमजोर आर्थिक अवस्था नै स्वार्थका चलखेललाई खेल्ने ठाउँ बन्छ। नेपालगन्जको मुख्य चुनौती यही हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
