काठमाडौँ उपत्यकामा सार्वजनिक कुकुरको व्यवस्थापन चुनौती बन्दा मोटरसाइकल र पैदलयात्री जोखिममा परिरहेका छन्। तर स्थानीय तहले बन्ध्याकरणबाहेक व्यवस्थापनका अन्य उपाय पहिचान गर्नै सकेका छैनन्।
काठमाडौँ— करिब दुई वर्षअघि काठमाडौँ अनामगरका साजन श्रेष्ठ राति ९ बजेतिर मोटरसाइकलमा ज्ञानेश्वर हुँदै घर फर्किंदै थिए। सवारीसाधन र पैदलयात्रुको आवतजावत पातलो भइसकेको थियो। अचानक सडक छेउबाट उनलाई कुकुरले झम्टियो।
आत्तिएका साजन दुर्घटनामा परे। “मैले त के गर्ने सोच्नै सकिनँ, हातले एक्सिलेटर बटारेँछु। घुम्ती कटेर पछारिएँ। सम्झिँदा पनि आङ सिरिङ्ग हुन्छ,” उनले भने।
उनको देब्रेहात भाँच्चिएको थियो, दुवै खुट्टामा चोट लागेको थियो। नजिकका मान्छेले उनलाई अस्पताल पुर्याए। १५ दिनको अस्पताल बसाइपछि घर फर्किए।
उनलाई पूर्णरूपमा निको हुन करिब ६ महिना लाग्यो। “एउटा कुकुरले गर्दा झन्डै मेरो ज्यान गयो। अहिले त्यो बाटो हिँड्न छोडेँ,” उनी भन्छन्, “वडामा गएर कुरा राखेको हो, तर त्यो कुकुर अझै घुमिरहेको छ। अझै कतिको दुर्घटना हुने हो।”
भक्तबहादुर तामाङ टेकुको फोहोर संकलन क्षेत्र आसपास खाजा पसल गर्छन्। नौ महिनाअघि उनले दिएको खानेकुरामा केही कुकुरबीच झगडा भयो। झगडा छुट्याउन खोज्दा एउटा कुकुर एक्कासि उनीतिरै आइलाग्यो। “एउटा कमजोर कुकुरलाई मैले नै प्रायः खाना दिने गर्छु। अरू कुकुर आएर खानै दिँदैनन्। त्यसैलाई बचाउन खोज्दा अर्कोले मलाई टोकिहाल्यो,” उनले भने।
उनले त्यसैदिन टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा खोप लगाए। यसअघि आफूलाई कुकरले तीन पटक टोकिसकेको उनी बताउँछन्। कहिलेकाहीँ कुकुरले नयाँ मान्छेलाई लगातार भुक्ने र मोटरसाइकल पछ्याउने गर्दा पैदलयात्री तथा सवारी चालक आजित हुन्छन्।
“मलाई त कुकुरले झम्टिने, आक्रामण गर्ने कुराको लत लागिसकेको छ। तर नयाँ मान्छेहरूले बुभ्दैनन्, उनीहरूले कुकुरलाई पिटिहाल्छन्। यसरी बिजोग हुनुभन्दा सरकारले कतै ठाउँ बनाएर राखिदिए सबैका लागि राम्रो हुने थियो,” उनी भन्छन्।
टेकु क्षेत्रकै बासिन्दा राम महर्जन सरकारले कुकुरको व्यवस्थापन गरिदिनु पर्ने बताउँछन्। टेकुको फोहार संकल केन्द्र आसपास खानाको लागि भौतारिने कुकुरको संख्या ठूलो छ। यहाँ कुुकुर र मानिसबीच द्वन्द्व भइरहने उनको भनाइ छ।
यसको समाधान गर्न सरकारले कुकुरलाई सेल्टरको व्यवस्था गर्नुपर्ने महर्जनको भनाइ छ। “कुनै एउटा ठाउँ खोजेर खानापानी दिएर राख्दा हुन्छ। न यिनीहरूलाई हाम्रो डर हुन्छ, न त हामीलाई यिनीहरूको डर,” उनी भन्छन्, “यो सधैँको समस्या हो, वडालाई पनि कति भन्ने!”
कुकुरबाट आमनागरिक मात्र होइन वडाध्यक्षसमेत आजित छन्। ज्ञानेश्वर क्षेत्रसमेत पर्ने काठमाडौँ महानगर–३० का वडाध्यक्ष दलबहादुर कार्कीले २०७९ साउनको नगर कार्यपालिका बैठकमा आक्रोश पोखेका थिए। कुकुरले दुःख दिइरहे पनि व्यवस्थापन गर्न नसकिएको बताएका थिए। बैठकमा उनले भनेका थिए “वडामा कुकुर व्यवस्थापन धेरै सकस छ। मैले त औषधि खोजिरहेको थिएँ, तर बजारमा पाइन। नभए एकैदिन २५ सय कुकुर मार्थें।”
के गर्दैछन् स्थानीय तह?
काठमाडौँ उपत्यकामा अनुमानित ३५ हजार सार्वजनिक कुकुर छन्। घरपालुवा कुकुरको संख्या पनि उल्लेखनीय छ। हरेक दिन समान्यतः २०० जना रेबिज विरुद्धको खोप लगाउन टेकु अस्पताल पुग्छन्। रेबिजबाट वार्षिक १०० जनाभन्दा बढीको मृत्यु भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमानित तथ्यांक छ।

काठमाडौँ महानगरको कृषि तथा पशुपन्छी विभागकी पशु चिकित्सक पूजा खनालका अनुसार, महानगरले कुकुरहरूलाई रेबिजविरुद्धको खोप लगाउने र बन्ध्याकरण गर्ने गरेको छ। बन्ध्याकरणपछि सार्वजनिक कुकुरबाट नयाँ उत्पादन नहुने हुँदा यसलाई दिगो समाधान मानिएको उनको भनाइ छ। “बन्ध्याकरण गरेपछि हर्माेनल परिवर्तन हुन्छ र धेरै आक्रमक पनि हुँदैनन्,” उनी भन्छिन्।
खनालका अनुसार काठमाडौँ महानगरभित्र मात्र करिब २२ हजार सार्वजनिक कुकुर छन्। आर्थिक वर्ष २०८०/८१ मा महानगरले १६ हजार कुकुरलाई रेबिजविरुद्धको खोप लगाउनुका साथै पाँच हजार ५०० वटा कुकुरको बन्ध्याकरण गरेको थियो।
गत आर्थिक वर्ष १६ हजार ५६९ कुकुरलाई खोप लगाइएको र ६०० वटाको बन्ध्याकरण गरिएको छ। खनालका अनुसार, गत वर्ष कम बजेट हुँदा थोरै कुकुरको बन्ध्याकरण भएको हो।
आ.व. २०८०/८१ मा कुकुर व्यवस्थापनका लागि १ करोड ८० लाख बजेट छुट्याइएको थियो। गत वर्ष भने ५० लाख बजेट भएकाले थोरै संख्यामा बध्याकरण गरिएको थियो। चालु आर्थिक वर्ष १ करोड रुपैयाँ विनियोजन भएको छ। महानगरले कात्तिक १४ गतेदेखि खोप लगाउने र बन्ध्याकरण गर्ने गरिरहेको छ। अहिलेसम्म दुई हजारभन्दा धेरै कुकुरको बन्ध्याकरण गरेको छ।
ललितपुर महानगरले पनि कुकुर व्यवस्थापनमा काम गरिरहेको प्रवक्ता राजु महर्जन बताउँछन्। उनका अनुसार, महानगरभित्र करिब १० हजार सामुदायिक कुकुर छन्। ती कुकुरलाई विभिन्न संघसंस्थासँग मिलेर बन्ध्याकरण गर्ने र रेबिजविरुद्धको खोप लगाउने गरिएको छ।
ललितपुर महानगरमा पनि कुकुरले मानिसलाई झम्टिने, सामुदायमा झगडा गरेर दुःख दिने गरेको गुनासो आउँछ। “कुकुरको व्यवस्थापनको लागि बन्ध्याकरण गर्ने र रेबिजको खोप लगाउने गरिएको छ। यसबाहेक अरू उपाय छैन,” महर्जनले भने।
भक्तपुर नगरपालिकाले पनि रेबिजको खोप लगाउने र बन्ध्याकरण गर्ने गरेको छ। कृषि समिति संयोजक तथा वडा नं. ३ का अध्यक्ष राजकृष्ण गोराले नगरपालिकामा करिब चार हजार सार्वजनिक कुुकुर रहेको बताए। भक्तपुरले पनि केही वर्षदेखि कुकुरहरूको बन्ध्याकरण गर्ने गरेको छ।
गत आर्थिक वर्ष करिब ४०० कुकुरको बन्ध्याकरण गरेको र १२ सयलाई खोप लगाएको थियो। आक्रामक र रेबिज लागेका कुकुरहरूलाई भने समुदायले नै समाधान गर्ने गरेको उनको भनाइ छ। “स्वस्थ कुुकुरलाई त खान दिन सकिएको छैन, त्यस्ता कुकुरलाई कसरी सक्नु?” उनी भन्छन्, “आफै भन्नु न, दुःख दिइरहने कुकुरलाई (मार्नुबाहेक) अरू केही उपाय छ त?”
तर कुकुर मार्नु कानूनी रूपमा दण्डनीय छ। मुलुकी अपराध संहिता २०७४ को दफा २९० मा जनावरमाथि निर्दयी व्यवहार गर्न नहुने उल्लेख छ। त्यस्तो व्यवहार गरेको पुष्टि भए तीन महिनासम्म कैद र ५ हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।
के छ दिगो व्यवस्थापनको उपाय?
उपत्यकाका सार्वजनिक कुकुरहरूका लागि खानाको मुख्य स्रोत फोहोरको डंगुर हो। पछिल्लो समय उपत्यकाको फोहोर व्यवस्थापन हुन थालेपछि कुकुरको खानेकुरामा कमी भएको छ। कुकुरहरू खाना खोज्दै होटल, वधशाला आसपास भौतारिन्छन्। तर पेटभर खान नपाउँदा आक्रामक बन्ने पशु अधिकारकर्मी बिना पन्त बताउँछिन्।
भाले कुकुर बढी झगडालु हुनुका साथै संसर्ग गर्न नपाउँदा बढी आक्रामक पनि हुन्छन्। “कुकुरहरू आक्रमक बन्नुका कारणहरू हुन्छन्, तर मानिसले बुझ्न सक्दैनन् र पशुलाई दोष दिन्छन्। स्थानीय सरकार वा समुदायले त्यस्ता कुकुरलाई केही समय विभिन्न संघसस्थाको सेल्टरमा राखेर तालिम दिन सक्छन्,” पन्त भन्छिन्।
उनका अनुसार, कुकुरहरूलाई सधैँ निश्चित सेल्टरमा राखेर व्यवस्थापन गर्न सकिँदैन। निस्फिक्री घुम्न पाउनु पशुको अधिकार हो। कुकुरको दिगो व्यवस्थापन भनेकै बन्ध्याकरण भएको उनी बताउँछिन्।
काठमाडौँ महानगरको कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनीधि न्यौपाने पनि बन्ध्याकरण गरेरै कुकुर व्यवस्थापन गर्न सकिने बताउँछन्। तर सबै स्थानीय तहको समन्वय हुनुपर्ने र संघीय सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ।
न्यौपानेका अनुसार, काठमाडौँ, भक्तपुर र ललितपुरका सबै स्थानीय तह मिलेर एकैपटक खोप र बन्ध्याकरण शुरू गर्न सके पाँच वर्षभित्रै सार्वजनिक कुकुरको समस्या कम हुनसक्छ। तर समन्वयको अभाव रहेको उनी बताउँछन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशुसेवा विभागले भने कुकुर व्यवस्थापनमा काम गरिरहेको छैन। विभागकी वरिष्ठ पशु चिकित्सक डा. पूजा शर्मा विभागले निश्चित रोगविरुद्ध मात्रै काम गर्ने बताउँछिन्। कुकुर व्यवस्थापनमा स्थानीय तहले नै काम गर्नुपर्ने, बरु स्थानीय तहले समन्वयको माग गरे सघाउन सकिने शर्माको भनाइ छ।
केन्द्रीय रिफरल पशु चिकित्सालयबाट कुकुर व्यवस्थापनको काम भइरहेको डा. शर्माले बताइन्। अस्पताल ल्याइएका कुकुरहरूलाई रेबिजविरुद्धको खोप लगाउने तथा बन्ध्याकरण गर्ने काम गरिरहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
