आफ्नो शपथग्रहण समारोहमा सुदन र उनको समूहसँग हात उठाएर फोटो खिचाएकी र खुट्टासमेत ढोग्न लगाएकी प्रधानमन्त्री सुशीला कार्की अहिले उनलाई भेट्नसमेत किन असहज मान्छिन्?
काठमाडौँ– जेन–जी आन्दोलनको स्वामित्व दाबी गरिरहेका सुदन गुरूङ अहिले पनि प्रधानमन्त्री निवास बालुवाटार सजिलै छिर्छन्। प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफ्ना कुरा राख्छन् र बाहिरन्छन्। तर बालुवाटारबाट बाहिरिँदा उनको अनुहारमा पहिलाजस्तो चमक देखिँदैन। बरु अध्याँरो अनुहारका साथ मुर्मुरिँदै बाहिरिन्छन्।
यसको एक मात्र कारण हो, गुरूङ बालुवाटारमा पहिला जस्तो ‘स्पेस’ पाइरहेका छैनन्। अन्तरिम सरकार गठन प्रक्रियामा अग्रपंक्तिमा देखिएका गुरूङ अहिले प्रधानमन्त्री सुशीला कार्कीका लागि ‘टाउको दुखाइ’ बनिरहेका छन्।
प्रधामन्त्री कार्यालयकै एक अधिकारीका अनुसार, त उनी प्रधानमन्त्रीका लागि ‘निल्नु न ओकल्नु’ भइरहेका छन्। “पहिले प्रधानमन्त्री बालुवाटार भएको सुइँको पाउने बित्तिकै जतिबेलै आइहाल्थे। प्रधानमन्त्रीले राम्रै समय दिनुहुन्थ्यो। अहिले पनि साताको तीन दिन जति आउँछन्,” प्रधानमन्त्रीको सचिवालयका एक सदस्य भन्छन्, “तर अहिले उनको कुरा सुन्न पनि दिक्दार मान्नुहुन्छ।”
कुनै समय ‘छोरा’को संज्ञा दिएकी सुदनलाई भेट्न अहिले किन कार्की सकस मान्छिन् त? प्रधानमन्त्रीको सचिवालयका ती सदस्यका अनुसार, सरकारमा अनावश्यक हस्तक्षेपका कारण सुदनसँग कार्की हैरान छिन्। सरकारी निकायहरूमा उनको अस्वभाविक उपस्थिति, सरकारी संयन्त्रहरूमा अनावश्यक हस्तक्षेप, जथाभाबी निर्देशन र दबाब दिने प्रवृत्तिका कारण कार्की दूरी बढाउन चाहन्छिन्।
“जब सुदन आफै सरकारी निकाय धाएर कर्मचारीलाई थर्काइरहेको ब्रिफिङ भयो, प्रधानमन्त्री निराश हुनुभयो। आन्दोलनको नाममा अराजकता फैलिँदैछ भन्ने भयो,” सचिवालयका ती सदस्य भन्छन्, “सिधै बालुवाटार नै आएर यसो गरौँ त्यसो गरौँ भनेर आदेशात्मक शैली देखाउँछन्।”
प्रधानमन्त्री झस्किएको त्यो रात
भदौ २४ को विध्वंशात्मक आन्दोलनकै रातदेखि नेपाली सेनाको अग्रसरतामा अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढेको थियो। सेनाले जेन–जी आन्दोलनका अगुवालाई सैनिक मुख्यालय जंगीअड्डामा छलफलका लागि बोलाएको थियो। तर त्यस रात ठोस निर्णय हुन सकेन।
भदौ २५ गते जेन–जीहरूको ठूलो समूहले प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारे पनि त्यो दिन अन्तरिम सरकार गठन हुन सकेन। भदौ २६ गतेदेखि त अनेक हल्ला फैलियो।
सामाजिक सञ्जालमा कसैले राजसंस्था फर्काउने खेल हुँदैछ भने, कसैले सेनाले ‘कू’ गर्न लागेको हल्ला फैलाए। कसैले त विदेशीले कब्जा गर्ने अफवाह पनि फैलाए। प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्ति हुने समाचार आइरहे पनि राति ९ बजेसम्म नियुक्ति भएन।
त्यही बेला सुदन गुरूङ ‘हामी नेपाल’को पेजमा राखिएको एउटा भिडियोमा देखापरे। उनले राष्ट्रपति भवनमा कार्कीसँगै रहेका वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालसँग सञ्जालमा फैलिरहेका हल्लाबारे सोधे, “अनि हल्ला त फेरि राजा ल्याउने छ रे। तपाईंहरू राष्ट्रपतिसँगै हुनुहुन्छ, यो विषयमा कतिको सत्यता छ?”
अर्यालले त्यसमा कुनै सत्यता नभएको, बरू कार्की, राष्ट्रपति रामचन्द्र पौडेल र सेनापति अशोकराज सिग्देलबीच सकारात्मक संवाद चलिरहेको बताए। अनि सुदनले ‘ल ग्रेट, धन्यवाद’ भन्दै फोन राखे।
यो संवादले सामाजिक सञ्जालको अनेक हल्ला मात्र चिरेन, राष्ट्रपति भवनबाटै ताजा सूचना दियो। अनि सुदनलाई त्यही सामाजिक सञ्जालले एकाएक जेन–जी आन्दोलनको ‘मसिहा’ बनाइदियो।
भोलिपल्ट कार्की प्रधानमन्त्रीमा नियुक्त भइन्, शपथमा सुदन त्यहीँ पुगेर कार्कीको खुट्टा ढोगेको देखियो। त्यो तस्वीरले सुदनको चर्चा झनै बढायो। प्रधानमन्त्री कार्कीले फोटो खिचाउन सुदन र उनका साथीहरूको हात तानेर माथि उचालिन्। जोडिएको हात देखाएको दृश्यले सरकार गठन सफल हुनुमा उनैको भूमिका मुख्य भएको ठानियो।
तर सुदनले एक दिन नबित्दै प्रधानमन्त्री कार्कीलाई ‘झड्का’ दिए। भदौ २८ गते राति करिब ९ बजे घाइते तथा मृतकका परिवारका केही सदस्य प्रधानमन्त्री निवासअगाडि होहल्ला गरिरहेकै बेला अचानक सुदन आइपुगे। उनीहरूको साथ दिँदै कार्कीलाई तुरून्तै भेट्न इच्छा जाहेर गर्दै भित्र सूचना पुर्याउन भने।
तर सुरक्षाकर्मीले अबेर भइसकेका कारण भोलिपल्ट बिहान मात्रै आउन भनेपछि सुदन आक्रोशित भएर प्रधानमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरे। उनले भनेका थिए, “जसरी कुर्सीसम्म पुर्याएँ, त्यसरी नै त्यहाँबाट थुत्न पनि सक्छु।”
सुदनको यही भनाइले प्रधानमन्त्री कार्की झस्किएको सचिवालय एक सदस्य बताउँछन्। “त्यही रात हो प्रधानमन्त्रीज्यूले सुदन ठोस मान्छे नभएको बुझेको। बोलीको पक्का नहुने मान्छे फेरि उनलाई मन नपर्ने रहेछ,” ती सदस्य सुनाउँछन्, “त्यसपछि त निरन्तर उनको आनिबानीसँग परिचित नै हुनुहुन्छ उहाँ। सकेसम्म कुरा सुन्ने र सम्झाएर पठाइदिने गर्नुभएको छ। कहिलेकाहीँ झोक्किनु पनि हुन्छ।”
सुदन अन्य मन्त्रीका काममा पनि उत्तिकै बाधक बनिरहेको थाहा पाएपछि प्रधानमन्त्री कार्कीले उनलाई भेट्ने समय कटौती गरेकी हुन्। “गृहमा गएर सरूवाबढुवाको कुरा गर्ने, कुलमानजीलाई फोन गरेर फलानोको विद्युत् महसुल छुट गर्नुपर्यो भन्ने। कुनै बेला अर्थमन्त्रीसँग कुनै व्यापारीको राजस्व छुटको प्रस्ताव गर्ने गर्छन्,” सचिवालयका ती सदस्य भन्छन्, “घरी ओली र लेखकलाई जसरी पनि जेल हालौँ भन्छन्। यस्तै व्यवहारले सुदनको छवि हिरोदेखि भिलेनको रूपमा देखिएको छ। सरकारको काममा उनी काँडासरी बनिसकेका छन्।”
ती सदस्यका अनुसार, प्रधानमन्त्री कार्कीले अहिले सुदनलाई हल्का रूपमा लिन थालेकी छन्। “उहाँले बुझिसक्नुभएको छ सुदनको बानी। दिनैपच्छे फेरिएको बोली सुन्दा आफूविरूद्ध कसैले चलाइरहेकोसम्म आशंका गर्नुभएको छ।”
प्रधानमन्त्रीलाई ब्रिफिङ– कल्याण श्रेष्ठले चलाइरहेछन्
करिब दुई साता सञ्चारमाध्यममा नदेखिएका सुदन कात्तिक २७ गते बिहानै लैनचौरस्थित स्काउट भवनअगाडि देखिए। सञ्चारकर्मीसँग कुराकानी गरिरहेका उनको पृष्ठभूमिमा पूर्व ऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले भोगचलन गरिरहेको नेपाल स्काउटको जग्गामा बनेको संरचनामा काठमाडौँ महानगरको डोजर चलिरहेको थियो।
‘चुनाव हुन्छ कि हुँदैन’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनेका छन्, “माग पूरा नभएसम्म कसरी चुनाव हुन्छ?”
जेन–जी आन्दोलनको केही समयपछि नै उनले ‘यो संविधान राखुँ कि फालुँ भन्ने द्विविधा भइरहेको’ बताएका थिए। त्यसको केही समयपछि आफूहरूले संविधान बमोजिम काम गर्न सरकारलाई आग्रह गरेको बताएका थिए।
पटकपटक बोली फेर्ने गरेकै कारण सुदनलाई ‘कसैले चलाइरहेको’ आशंका प्रधानमन्त्री कार्कीलाई भएको सचिवालयका ती सदस्य बताउँछन्। प्रारम्भिक रूपमा सुदनलाई पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उचालिरहेको प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ भएको छ।
“शुरूमा सुदनको व्यवहारलाई त्यति गम्भिरतापूर्वक लिइएको थिएन। तर गृहमन्त्रीको राजीनामा माग्न र संविधानमाथि नै प्रश्न उठाउन थालेपछि निगरानी बढाइएको छ,” ती सदस्य भन्छन्, “कल्याण श्रीमानको पनि गतिविधि निगरानी गर्दा सुदनलाई चलाएको बुझिएको छ।”
जेन–जी आन्दोलनयता पूर्व प्रधानन्यायाधीश श्रेष्ठ सक्रिय छन्। यो सरकार विघटन गरेर आफै प्रधानमन्त्री बन्न खोजेको श्रेष्ठमाथि आरोप पनि लागेको थियो।
कात्तिक २५ गते नेपाल कानून समाजले गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले संविधानले राम्रो नतिजा नदिएकै कारण जेन–जी पुस्ताले आन्दोलन गर्नुपरेको बताएका थिए। उनले भनेका थिए, “नतिजा आउँदै नआउने संविधान कसरी राम्रो हुन सक्छ?”
सुदननिकटका ओजश्वी थापा भने ‘श्रेष्ठले चलाइरहेको’ भन्ने कुरामा कुनै सत्यता नभएको बताउँछन्। श्रेष्ठलाई आफूले अहिलेसम्म नचिनेको ओजश्वीको दाबी छ। “अब सुदन दाइले एक्लै भेट्नु भएको छ कि छैन भन्ने मलाई थाहा छैन, तर म चाहिँ अहिलेसम्म चिन्दा नि चन्दिनँ,” उनले भने।
सरकारले आफूहरूलाई बाइपास गरिरहेको कुरा पनि सही नभएको ओजश्वी बताउँछन्। “हामीले दबाब दिएका छैनौँ। भेटेर आफ्ना मागहरू मात्रै राखिरहेका छौँ। सरकार हामीसँग असहज महसुस गरेको हामीलाई लागेको छैन,” उनी भन्छन्, “एक हिसाबले सरकारलाई भने घच्घचाइरहेका छौँ। अस्ति सुदन दाइले पनि गृहमन्त्रीको राजीनामा नै मागेर घच्घचाएको मात्रै हो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
