दिल्लीमा वायु प्रदूषणको कहर: श्वासप्रश्वासजन्य र आँखाका बिरामीको संख्यामा उच्च वृद्धि

वायु प्रदूषणका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी जोखिममा रहेको उल्लेख गर्दै चिकित्सकहरूले दिल्लीवासीलाई सकेसम्म बाहिरी गतिविधिमा संलग्न नहुन सल्लाह दिएका छन्।

फाइल तस्वीर

दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरू रुघाखोकी र दम तथा आँखा र नाकबाट पानी बग्ने समस्याबाट पीडित बिरामीको संख्यामा उल्लेखनीय वृद्धि भएको दिल्लीका चिकित्सकले बिहीबार बताएका छन्। स्थानीय मिडियाका अनुसार भारतको नयाँ दिल्लीका अस्पताल विगत केही दिनदेखि त्यस्ता बिरामीले भरिएका छन्।

दिल्लीको दक्षिणी भागमा धुवाँको बाक्लो तह जमेपछि बिहीबार दिल्लीका धेरै क्षेत्रहरूको वायु गुणस्तर सूचकांक 'खराब' श्रेणीमा पुगेको जनाइएको छ।

वायु प्रदूषण नियन्त्रण गर्न सरकारले रुख तथा सडकमा पानी छर्कने र दिल्लीको शान्ति पथ क्षेत्रमा स्ट्रिटलाइटका खम्बाहरूमा वाटर मिस्ट स्प्रेयर जडान गर्ने जस्ता विभिन्न उपाय अपनाइरहेको छ।

प्रेस ट्रस्ट अफ इन्डियाको एक अनलाइन रिपोर्टअनुसार, दिल्लीमा प्रदूषित र विषालु धुवाँको मात्रा बढेकाले चिकित्सकहरूले आँखाको समस्यामा ६० प्रतिशतसम्मको वृद्धि रिपोर्ट गरेका छन्। उनीहरूले प्रदूषित धुवाँ फोक्सोका लागि मात्र नभई आँखाका लागि पनि हानिकारक हुने चेतावनी दिएका छन्।

दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा मेडिसिनका प्राध्यापक पुलिन कुमार गुप्ताले आफू काम गर्ने अस्पतालमा वायु प्रदूषणसम्बन्धी रोगबाट पीडित बिरामीको संख्या २२–२५ प्रतिशत रहेको बताएका छन्।

चिकित्सकहरूले वायु प्रदूषणबाट दिल्लीका बासिन्दाहरू प्रभावित भएको उल्लेख गर्दै बालबालिका र वृद्धवृद्धाहरू सबैभन्दा बढी जोखिममा रहेको बताएका छन्। उनीहरूले दिल्लीवासीलाई सकेसम्म बाहिरी गतिविधिमा संलग्न नहुन र अत्यावश्यक कार्य घरभित्रै बसेर गर्न सल्लाह दिएका छन्।