इकोनमी टिकटलाई बिजनेसमा सार्ने चलनमा नेवानिको रोक

नेवानिका बोर्ड अध्यक्ष विक्रम राईले शपथ लिएसँगै पैसा नतिरि बिजनेस क्लासमा अपग्रेड गराउने चलनमाथि रोक लगाउन निमित्त महाप्रबन्धक र व्यवस्थापकलाई निर्देशन दिएका छन्।

काठमाडौँ– नेपाल वायुसेवा निगम (नेवानि)ले नेपाल एयरलाइन्सको ‘इकोनमी क्लास’को टिकट काटेर ‘बिजनेस क्लास’मा अपग्रेड गर्ने चलनमाथि रोक लगाउने निर्णय गरेको छ।

मंगलबार नेवानिका बोर्ड अध्यक्ष विक्रम राईले शपथ लिएसँगै पैसा नतिरि बिजनेस क्लासमा अपग्रेड गराउने चलनमाथि रोक लगाउन निमित्त महाप्रबन्धक र व्यवस्थापकलाई निर्देशन दिएका हुन्।

प्रवक्ता अनिल घिमिरेका अनुसार, बिजनेस क्लासको सिट खाली रहेका बेला ‘विशेष व्यक्ति’लाई बिजनेस क्लासमा सार्ने गरिएको थियो। 

“अबदेखि जस्तोसुकै स्तरको मान्छे भए पनि टिकट नकाटी बिजनेस क्लासमा नसार्ने निर्देशन भएको छ,” घिमिरे भन्छन्, "यसअघि बिजनेस क्लसमा अपग्रेड गर्ने अधिकार मार्केटिङ डाइरेक्टर र कस्टमर सर्भिस डाइरेक्टरसँग थियो। उहाँहरूको अधिकार कटौती भएको हो।”

अन्तिम समयमा पनि पैसा तिरेर इकोनमी क्लासबाट बिजनेस क्लासमा अपग्रेड गराउने नियम भने यथावत् रहेको घिमिरेले बताए।