रौतहटमा १७ हजार हेक्टरमा लगाएको धानबालीमा वर्षाले क्षति

बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधव नारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकालगायतमा क्षति पुर्‍याएको छ।

चन्द्रपुर– रौतहटको बकैया नदी र बागमती नदीले बाँध कटान गरेर पसेको बाढीले १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पुर्‍याएको छ। 

बाढीले १७ हजार ६३८ हेक्टर खेतको धानबाली, एक हजार ८०४ हेक्टर क्षेत्रफलको उखुबाली, ६८५ हेक्टरको तरकारी, ४०७ हेक्टरको फलफूलबाली र ५०० हेक्टर अन्य बालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिए। 

जिल्लाका १८ वटै पालिकासँग समन्वय गरेर क्षतिको विवरण संकलन गरिएको हो। बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधव नारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकालगायतमा क्षति पुर्‍याएको छ। 

बाढीले पुर्‍याएको क्षतिका कारण जिल्लामा ७४ हजार मेट्रिक टन धान उत्पादन घट्ने  अनुमान गरिएको छ। यसैबीच दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले किसानले पाउनुपर्ने राहत रकम चाँडोभन्दा चाँडो उपलब्ध गराउन माग गरेका छन्। बाढीले रौतहटका करिब ४५० घरपरिवार विस्थापित भएका थिए।

भित्र्याउने बेलाको धान वर्षाले भिजाएपछि किसान चिन्तित बनेका हुन्। वर्षाले किसानले धान भित्र्याउन नपाएको बृन्दावन– १ का किसान शिवमंगल पटेलले गुनासो गरे। खेतमा काटेर राखेको धान वर्षाले डुबाएको छ।