उत्तरी केन्याको खडेरी: गाईपालन छोडेर उँटको भरमा जीवन धान्दै स्थानीय

खडेरीका कारण केन्याको सुक्खा र अर्ध–सुक्खा क्षेत्रका करिब ७० प्रतिशत गाईबस्तु मरेपछि स्थानीय पशुपालकमा कुपोषणको समस्या देखियो। यसको समाधानका लागि सम्बुरु काउन्टीका अधिकारीले उँटपालन कार्यक्रम थालेका हुन्।

उत्तरी केन्याको सुक्खा भूमिमा गत अप्रिलयता वर्षा भएको छैन। यससँगै, स्थानीय गोठालाका लागि गाई–गोरु पालन अब अतीत बन्दै गएको छ। बवुल (अकासिया)का रूखतिर दौडिरहेका दर्जनौँ उँटहरूलाई नियाल्दै दुई गोठालाले ‘हे भगवान्, तिनीहरूको रक्षा गर्नुहोस्’ भन्दै प्रार्थना गर्ने दृश्य यहाँ सामान्य भइसकेको छ।

नजिकैको कुवाको किनारमा बसेका गोठालाका अनुसार, सन् २०२१ र २०२२ को लगातार न्यून वर्षाले चार दशककै सबैभन्दा भीषण खडेरी निम्त्यायो र उनीहरूका अधिकांश गाई–गोरु मरे। त्यसयता उनीहरूले आफ्नो जीवनयापनको स्वरूप नै परिवर्तन गर्नुपरेको छ।अर्ध–घुमन्ते सम्बुरु समुदायका सदस्य लोलपुसिक भन्छन्, “अब हाम्रो घरमा गाईबस्तु छैनन्, हामीले केवल उँट पाल्छौँ।”

उँटहरू सुक्खा घाँस खाएर पनि बाँच्न सक्छन्, एक हप्ताभन्दा बढी पानीबिना रहन सक्छन् र गाईको तुलनामा ६ गुणा बढी दूध उत्पादन गर्न सक्छन्। यही विशेषताले जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उत्तरी केन्याका बासिन्दालाई उँटलाई जीवनको नयाँ आधार बनाउन प्रोत्साहित गरेको छ।

केन्याको सुक्खा र अर्ध–सुक्खा क्षेत्रमा सन् २०१५ मा थुप्रै खडेरीका कारण करिब ७० प्रतिशत गाईबस्तु मरेपछि स्थानीय पशुपालकमा कुपोषणको गम्भीर समस्या निम्तिएको थियो। त्यसपछि सम्बुरु काउन्टीका अधिकारीहरूले उँट पालन कार्यक्रम शुरू गरेका हुन्। सो कार्यक्रमअन्तर्गत, गत वर्ष थप एक हजारसहित करिब पाँच हजार सोमाली उँटहरू वितरण गरिए। यी उँटहरू देशी प्रजातिभन्दा ठूला र बढी उत्पादक मानिन्छन्।

पहिले उँटबारे खासै जानकारी नभएका लोलपुसिकले सन् २०२३ मा केही उँट प्राप्त गरे। अहिले उनको झाडीले घेरिएको सवान्ना क्षेत्रका साना आयाताकार झुपडीहरूको समूह 'मन्याट्टा'मा एक दर्जन उँट शान्तिपूर्वक चरिरहेका छन्। गाउँका प्रशासक जेम्स लोलपुसिक (नाम मात्र मिल्ने व्यक्ति)का अनुसार, काउन्टीको लक्ष्य 'हरेक परिवारको आफ्नै उँट हुने' रहेको छ। “यदि खडेरी जारी रह्यो भने गाईवस्तुहरू यहाँ टिक्न सक्दैनन्,” उनले भने।

यद्यपि उँटपालनसँग रोगको सम्भावनासहित केही जोखिमहरू छन्। तर, यसका सकारात्मक परिवर्तन प्रष्ट देखिएका छन्—उँटको दुधले बालबालिकाको पोषणमा ठूलो सुधार ल्याएको छ। गाउँ प्रमुखका अनुसार उँटहरूले दिनमा पाँचपटकसम्म दूध दिन सक्छन्।

४० वर्षीया नैमालु लेन्टाका भन्छन्, “गाईले त घाँस हरियो हुँदा मात्र दूध दिन्छ, तर उँटहरू सुक्खा मौसममा पनि निरन्तर दूध दिन्छन्, यही हो ठूलो भिन्नता।” उनका अनुसार अहिले गाउँका धेरै परिवार ‘उँट र तिनीहरूको दूधमा नै निर्भर’ छन्।

सन् २०२२ मा केन्याको मेरु विश्वविद्यालयले गरेको अध्ययनले उँटको दूधमा मानव स्तन दूधजस्तै पोषण र उपचारात्मक गुणहरू रहेको देखाएको थियो। तथ्यांकअनुसार, उत्तरी केन्याका समुदायहरूमा खडेरीका समयमा उपभोग गरिने कुल पोषक तत्त्वको करिब आधा भाग उँटको दूधबाटै प्राप्त हुने गरेको छ।

उँटहरू केवल जीविकोपार्जनका साधन मात्रै होइनन्, यहाँका सांस्कृतिक र खेलकुदका तारा पनि बनेका छन्। सेप्टेम्बरको अन्त्यमा सम्पन्न मारालाल इन्टरनेसनल क्यामल डर्बीमा करिब ४० वटा उँटहरू उत्साहित भीडका सामु दौडिएका थिए। विजेताले २१ किलोमिटर (आधा म्याराथन) दूरी मात्र एक घण्टा २२ मिनेटमा पूरा गरे।

कार्यक्रमका आयोजकहरूले भनेका छन्, “यो प्रतियोगिता शान्तिपूर्ण सांस्कृतिक अन्तरक्रियाको माध्यम हो, जसले स्रोतका लागि लड्ने समुदायहरूलाई एकसाथ ल्याउँछ।” वास्तवमा, उँटलाई यहाँ ‘शान्तिको प्रतीक’का रूपमा समेत हेरिन्छ।

सुक्खा मौसममा गोठालाले गाईबस्तुका झुन्डहरूलाई उर्वर क्षेत्रतर्फ लैजानाले वर्षौंदेखि थुप्रै द्वन्द्व निम्त्याएको छ। तर उँटहरू भने जहाँ छन् त्यहीँ बस्न सक्ने भएकाले यसले हिंसा र प्रतिस्पर्धा घटाएको छ।

यद्यपि यो कठोर जनावरलाई पनि जीवित रहन केही पानी चाहिन्छ। त्यसैले स्थानीय बासिन्दाहरू अझै पनि वर्षाको प्रतीक्षा र प्रार्थनामा छन्। “हामी केवल यही प्रार्थना गर्छौं कि स्थिति अझ बिग्रिन नपाओस्,” गाउँ प्रशासक जेम्स लोलपुसिकले भने।