सावित्राको २ गोलमा भारतविरु​​​​​द्ध नेपाल विजयी

सावित्राको दुई गोलमा भारतलाई २–१ ले पराजित गर्दै नेपालले थ्री नेसन्स कपको सुखद अन्त्य गरेको छ।

काठमाडौँ— थ्री नेसन्स कपमा नेपालले भारतलाई पराजित गरेको छ। सिलोङको जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

नेपालका लागि दुवै गोल कप्तान सावित्रा भण्डारीले गरिन्। उनले खेलको दोस्रो मिनेटमै गोलको खाता खोलिन्। उनले विमला विकको लामो पासलाई सदुपयोग गर्दै पहिलो गोल गरेकी थिइन्।

उनको दोस्रो गोल भने ६२औँ मिनेटमा सम्भव भयो। यसका लागि उनले फ्रि–किकको सुन्दर उपयोग गरिन्।

भारतका लागि भने करिष्मा पुरुषोत्तमले ८२ औँ मिनेटमा एक गोल फर्काएकी थिइन्।

यस जितसँगै नेपालले दुई खेलबाट तीन अंक जोड्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ।

नेपाल पहिलो खेलमा इरानसँग ३–० अन्तरले पराजित भएको थियो। इरानले भने दुवै खेल जितेर यसअघि नै उपाधि जितिसकेको छ। भारतले भने कुनै पनि अंक जोड्न सकेन।