क्यानडाका प्रधानमन्त्री कार्नी अमेरिकासँग वार्ता थाल्न इच्छुक, मलेसियामा सीलाई भेट्ने तयारी

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार रहेको बताएका छन्।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार रहेको बताएका छन्। क्यानडासँगको व्यापार वार्ता केवल भ्रामक विज्ञापन अभियान मात्रै भएको भन्दै राष्ट्रपति ट्रम्पले सबै वार्ता रद्द गरेको बताएका थिए।

त्यसपछि प्रधानमन्त्री कार्नीले पत्रकारहरूसँग भने, “जब अमेरिका वार्तामा बस्न तयार हुन्छ, हामी अमेरिकासँग बस्न तयार छौँ; हामी राष्ट्रपति ट्रम्प र अमेरिकी प्रतिनिधिसँग वार्तामा बस्न तयार छौँ।”

राष्ट्रपति ट्रम्पसमेत सहभागी रहेको मलेसियाको क्षेत्रीय शिखर सम्मेलनका क्रममा कार्नीले यस्तो बताएका हुन्। कार्नीले क्वालालम्पुरमा अमेरिकी राष्ट्रपतिसँग आफ्नो कुनै सम्पर्क नभएको पनि स्पष्ट पारे।

प्रधानमन्त्री कार्नीले बुधबार दक्षिण कोरियामा हुने एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने तयारी भएको पनि बताए। कार्नीले सीसँगको वार्तामा ‘व्यापारिक सम्बन्धका साथै विश्वप्रणालीको विकास’का विषयमा छलफल हुने जानकारी दिए।

यसैबीच, अमेरिकी राष्ट्रपतिले कार्नीसँग भेट्ने आफ्नो कुनै योजना नभएको बताएका छन्। एपेक शिखर सम्मेलनमा कार्नीसँग भेट्ने सन्दर्भमा के हुन्छ भनी सोधिएको प्रश्नमा उनले एयर फोर्स वानमा पत्रकारहरूसँग आफू अहिले उनलाई भेट्न इच्छुक नभएको बताए।

“म उहाँसँग केही समयका लागि भेट्ने छैन,” ट्रम्पले भने, “व्यवहार गर्न सबैभन्दा कठिन देशहरूमध्ये एक क्यानडा हो। म क्यानडा र क्यानडाका जनतालाई माया गर्छु।”

ट्रम्प प्रशासनले गरेको विश्वव्यापी क्षेत्रगत करवृद्धिको विशेष गरी स्टिल, आल्मुनियम र अटोमोबाइल क्षेत्रमा क्यानाडालाई नराम्ररी असर पारेको छ। यस करवृद्धिका कारण रोजगारी गुम्ने र व्यवसाय धराशायी बन्ने अवस्था सिर्जना भएको छ।

यद्यपि, स्टिल, आल्मुनियम र ऊर्जासँग सम्बन्धित क्षेत्रमा उल्लेखनीय प्रगति भएको अमेरिकी व्यापार वार्तातर्फ संकेत गर्दै कार्नीले भने, “हामीले व्यापार सम्बन्धमा उल्लेखनीय प्रगति गरेका छौँ।” यद्यपि, ट्रम्पले करवृद्धि कहिलेबाट शुरू हुन्छ भन्ने पुष्टि भने गरेका छैनन्।

क्यानडाको पक्षबाट रोनाल्ड रेगनको सन् १९८७ को व्यापारसम्बन्धी रेडियो सम्बोधनका उद्धरणहरू प्रयोग गरिएको छ। सो सम्बोधनमा रिपब्लिकन ‘आइकन’लाई उद्धृत गर्दै भनिएको छ, “उच्च करले अनिवार्य रूपमा विदेशी देशहरूको प्रतिशोध निम्त्याउँछ र भयंकर व्यापार युद्धहरू निम्त्याउँछ।”

यो उद्धरण रेगन प्रेसिडेन्सियल लाइब्रेरीको वेबसाइटमा उनको भाषणको ट्रान्सक्रिप्टसँग मेल खान्छ। रोनाल्ड रेगन फाउन्डेसनले बिहीबार एक्समा ओन्टारियो सरकारले ‘चयनात्मक अडियो र भिडियो’ प्रयोग गरेको उल्लेख गर्दै यसबारे कानूनी विकल्पबारे छलफल गरिरहेको बताएको थियो।