विश्वकप लिग–२ : अमेरिकासँग नेपाल १०६ रनले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आइतबार भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ।

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग पराजित भएको छ। आइतबार भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो।

अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालले ३९.१ ओभरमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाउन सक्यो। 

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ६० बलमा ३ चौका सर्वाधिक ४० रनको योगदान दिए। आशिफ शेख ३९ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा ३७ रन बनाउँदा भीम सार्कीले २९, आरिफ शेख २० र सोमपाल कामीले ११ रन बनाए। अरू कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेन।

बलिङतर्फ अमेरिकाका लागि हर्मित सिंहले सर्वाधिक ६ विकेट लिए। त्यस्तै, शुभम रञ्जनेले २ र रुशिल उगारकरले १ विकेट लिए।

यसअघि दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रनको बनाएको थियो। 

अमेरिकाका लागि समित पटेल र मिलिन्द कुमारको अर्धशतकीय इनिङ्स खेलेका थिए। समितले १०० बलमा ९ चौकाको मद्दतमा ७५ रन बनाए। 

त्यस्तै, मिलन्दले अविजित रहँदै ७० रन बनाउँदा ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, सैतेजा मुक्कामल्लले ४२ र शुभम रञ्जनेले १९ रन जोडे।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिएका थिए।

लिग–२ अन्तर्गत यूएई र अमेरिकासँगको शृंखलाका खेल आइतबारदेखि कात्तिक १९ गते बुधबारसम्म हुँदैछन्। नेपालले आफ्नो दोस्रो खेल कात्तिक १३ गते (बिहीबार) यूएईसँग खेल्ने तालिका छ।

यस्तै, शृंखलाको तेस्रो खेलमा कात्तिक १५ गते (शनिबार) अमेरिकासँग खेल्ने छ भने शृंखलाको अन्तिम खेलमा नेपालले कात्तिक १९ गते (बुधबार) यूएईसँग प्रतिस्पर्धा गर्नेछ।