अंक तालिकामा पुछारमा रहेको यूएईले राहुल चोप्रा कप्तान नियुक्त भएपछि खेलेका ९ ओडीआईमध्ये दुईवटामा मात्र जित हासिल गरेको छ। राहुल एक वर्षअघि मुहम्मद वासिमलाई विस्थापित गर्दै कप्तान भएका थिए।
काठमाडौँ- इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) ले आइतबारदेखि घरेलु मैदानमा हुने लिग-२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) श्रृंखलाका लागि शुक्रबार टोलीको घोषणा गरेको छ।
ब्याटर तथा विकेटकिपरसमेत रहेका कप्तान राहुल चोप्रा नेतृत्वमा यूएईले १५ सदस्यीय टोली घोषणा गरेको हो। यूएईको टोलीमा अलिशान शारफु, आर्यश शर्मा, ध्रुव पराशर, हैदर अलि, हर्षित कौशिक र जुनैद सिद्दिक छन्। त्यस्तै, मयन कुमार, मुहम्मद अर्फान, मुहम्मद शाहदाद, मुहम्मद वासिम, मुहम्मद रोहिद खान, शोएब खान, सिम्रनजित सिंह र जाहिद अली पनि टोलीमा समावेश छन्। यूएईको मुख्य प्रशिक्षक लालचन्द राजपुत छन्।
यो श्रृंखलामा यूएईसहित नेपाल र अमेरिका पनि सहभागी छन्। लिग-२ का खेलहरू दुबई अन्तर्राष्ट्रिय रंगशाला र आईसीसी एकेडेमी ओभल-१ मा हुनेछन्। प्रतियोगिताको उद्घाटन खेलमा आइतबार नेपाल र अमेरिकाबीच हुनेछ। यो खेल नेपाली समयअनुसार बिहान ११:१५ देखि शुरू हुनेछ।
यूएईले पहिलो खेल मंगलबार अमेरिकासँग खेल्नेछ। आठ देश सम्मिलित लिग-२ को अंक तालिकामा यूएई अन्तिममा छ। १६ खेलबाट उसको ६ अंक छ। नेपाल भने यूएईभन्दा एक स्थान मात्र माथि छ। नेपालले १६ खेलबाट १२ अंक बटुलेको छ। अमेरिका २० खेलबाट २८ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा छ।
लिग-२ को यो सिजनमा यूएईको प्रदर्शन गतिलो छैन। उसले १६ खेलमा तीन वटा मात्र जितेको छ। यसअघि पहिलो सात खेलमा एक खेल मात्र जितेपछि ईसीबीले तत्कालीन कप्तान मुहम्मद वासिमलाई हटाएर राहुल चोप्रालाई नयाँ कप्तान बनाएको थियो। त्यसयता उनको कप्तानीमा खेलेका नौ खेलमा पनि यूएईले दुई वटामा मात्र जितेको छ।
यूएईले पछिल्लो पटक स्कटल्यान्ड र नेदरल्यान्ड सम्मिलित श्रृंखला खेल्दा चारमध्ये एउटा खेलमा स्कटल्यान्डलाई पराजित गरेको थियो। नेपालले पनि पछिल्लो श्रृंखला स्कटल्यान्ड र नेदरल्यान्डसँगै स्कटल्यान्ड गएर खेलेको थियो। उक्त श्रृंखलामा नेपाल चारमध्ये एउटा खेलमा स्कटल्यान्डसँग मात्र पराजित भएको थियो।
अमेरिकाले भने लिग-२ मा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। पछिल्लोपटक ओमान र क्यानडासम्मिलित लिग-२ को श्रृंखलाका चार खेलमध्ये अमेरिका एउटामा ओमानसँग मात्र पराजित भएको थियो। यही सिजन अमेरिकामै भएको लिग-२ को श्रंखलामा नेपाल अमेरिकासँग दुवै खेलमा पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
