मादलकै स्वर र तालमा हराउन सिकेकाले होला, सपनीमा उनी मादलकै वरपर हुने गर्छन्। तर मादलको परख गर्ने वा सिक्न खोज्ने कोही बिपनीमै आइदेओस् भन्ने लाग्छ उनलाई।
काठमाडाैँ– एउटा लाभा ब्रान्डको सानो हाते फोन छ प्रेमदेव गिरीसँग। यो फोनमा रहेको 'मेमोरी कार्ड'मा २०२९ सालदेखि २०४५ सम्मका ५० भन्दा बढी लोकगीत, भाका र मादलका तालहरू संग्रहित छन्।
आफ्नै संकलन, भाका र लयका यी लोकबोली प्रेमदेवको जीवनमा जोडिएका अन्तरंग यारों हुन् जसबारे बयान गर्नपरेमा उनी दिनरात नभनी बोलिरहन्छन्।
“मैले बाँचेको त्यो स्वर्णिम युगलाई मैले आफ्नै खल्तीमा राख्ने गरेको छु जहाँ यो देशका बरिष्ठतम र आदरणीय कलाकारहरू जोडिनुभएको छ। रेडियो नेपाल, रत्न रेकर्डिङ हुँदै भारतका स्टुडियोमा रेकर्ड गरिएका मेरा गीतहरू पनि यही फोनमा समेटेर राखेको छु,” प्रेमदेव भन्छन्– “मेरो लागि यो एउटा युग हो, म त्यो युगमा मादल बजाएरै बाँचेको रहेछु।”
लोकभाका, संस्कृति र सभ्यताको प्रवर्द्धनमा अतुलनीय योगदान दिएबापत वर्ष २०८१ को जगदम्बाश्री पुरस्कार थाप्न सुर्खेतबाट शुक्रबार अपराह्न काठमाडाैँ आइपुगेका ७२ वर्षे प्रेमदेव यो लोकभाकाका संकलक मात्रै नभएर आफैं वाद्यवादक (मादल वादक) कलाकार समेत हुन्।
२०२९ सालमा भएको देशव्यापी नृत्य प्रतियोगितामा भेरी अञ्चल, सुर्खेतको प्रतिनिधित्व गरेर काठमाडौँ आएको कलाकार टोलीमा प्रेमदेव पनि थिए। त्यो टोली प्रतियोगितामा प्रथम मात्रै भएन, यसका केही सदस्य राष्ट्रिय नाचघरमा जागिरे समेत बन्न पाए। तीमध्ये एक प्रेमदेव पनि थिए।
“मेरो मुख्य कामै मादल बजाउने थियो। अरु आइपरेका बेला नाच्ने, स्टेजको पर्दा तान्ने, ढोकामा उभिएर टिकट जाँच गर्ने वा जेजसो आइपरे पनि गर्नैपर्थ्यो,” शनिबार बिहान उकालोसँग संवाद गर्दै प्रेमदेवले सुनाए–“त्यो अवसरमा गायक नारायण गोपालदेखि गणेश रसिक, हिरन्य भोजपुरे, कमला श्रेष्ठ, कुमार बस्नेत, भुवन थापा लगायतका दर्जनौं कलाकारसँग संगत बढ्यो। म लगातार ४१ सालसम्म जागिरे बनेर सुर्खेत वापस फर्किएको थिएँ। फेरि ४३ सालमा काठमाडाैँ आएर झण्डै ३ वर्ष रेडियो नेपालमा पनि काम गरेँ।”
आफ्नो क्षमता देखाउन र नयाँ खालका अवसरहरू बटुल्न जोकोही राजधानी काठमाडाैँमा आइरहेका भए पनि प्रेमदेवलाई भने आफ्नो पुर्ख्याैली थलो सुर्खेतले जहिल्यै तानिरह्यो।
“काठमाडाैँको बसाइ र भोगाइ मेरा लागि छात्रवृत्ति पाएर विश्वविद्यालयमा पढ्न जान पाएको अवसर झैं थियो,” विनीत भावमा उनी भन्छन्–“काठमाडौँ आएकैले अवसर पाएर ‘कान्छी’ फिल्मको गीतमा मादल वादक बनेर म कलकत्ता जान पाएँ। पछि अरु अवसरमा रुस, हङकङ, बेलायत पनि पुगेँ। इतिहासमा स्वर्ण अक्षरले नाम लेखिएका वरिष्ठ गायक, संगीतकार, कलाकारका समीपमा रहेर काम गर्न पाएँ। त्यो नै मेरो भाग्य हो।”

अहिले आएर आफ्नो छोरा देवराज गिरी पनि यही वाद्यवादन क्षेत्रमा लागेकाले प्रेमदेव यो पुस्तान्तरण प्रति खुशी छन्। आफूले गुरु सुवि शाहबाट मादल वादनमा गहिरो ज्ञान लिन सकेको बताउँदै यस्तो संस्कृति र सिकाइको कुरा कक्षाकोठामा पढेर भन्दा बढी व्यवहारमा भोगेर बढी अर्थपूर्ण बन्ने उनले सुझाए।
“अब त काठमाडाैँ आउन पनि त्यति जाँगर चल्दैन। किनभने आफ्नो समयका अग्रज वा समकालीन कलाकार आज यो दुनियाँमा छैनन्। ऊ मादल बजाउने हाम्रो प्रेमदेव आएछ भनेर डाक्नेहरू पनि कोही छैनन्,” उनले भने–“यो हेरीकन आफ्नै सुर्खेत ठीक छ जहाँ रेडियो नेपालमा बजेको आवाज(बोल) मेरो घर–आँगनमैं ठोकिन आइपुग्छ।”
खासमा मादल कसको बाजा हो? नेपाली पहिचान र चिनारीको बाजा हो भनेर सबैले भन्छन्। तर, उहिल्यै ऋषिमुनी र भगवान शिवकै पालामा पनि डमरु बाजाको उत्पत्ति भैसकेको कथामा मादललाई हाम्रै उत्पत्तिको बाजा भन्न मुस्किल रहेको प्रेमदेवको बुझाइ छ।
शास्त्र र कथामा जे बयान भए पनि जीवनमा ५० वर्षभन्दा बढी मादल भिरेरै आफूले मादलसँग जोडिएको पहिचान बनाउन सकेकोमा प्रेमदेव दंगदास पनि छन्। मादलकै स्वर, ताल र भाकामा हराउन सिकेकाले होला, सपनीमा पनि उनी मादलकै वरपर हुने रहेछन्।
“बरु बिपनीमा भने यो बाजा बजाउन सिक्ने र यसमा परख गर्ने अरु कोही आइदिए हुन्थ्यो नि भन्ने लाग्छ। तर, कोही आइगएको छैन,” उनी भन्छन्–“मादल बजाउनका लागि अब मेरा हातहरू पनि लुला हुँदै गएका छन्। तर, मन–मस्तिष्क र कान भने अझ तिख्खर बनेको छ जसले कहीँकतै ख्याली, झ्यारे वा चुट्के बजिरहेको पो छ कि भनेर चनाखो हुँदै खोजबिन गरिरहेको हुन्छ।”
भिडियो:
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
