अमेरिकाको प्रस्तावित शान्ति योजनामा छलफल गर्न इजरायल र हमासका प्रतिनिधि इजिप्ट पुगेपछि युद्ध अन्त्य हुने आशा पलाएको छ। यसबाट हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइको सम्भावना बढेको छ।
काठमाडौँ– प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलको दक्षिणी भाग किबुत्जमा भीषण आक्रमण गरेपछि शुरू भएको युद्धले दुई वर्ष पूरा गरेको छ।
प्यालेस्टिनी भूमि गाजामा शासन गर्दै आएको हमासको त्यस आक्रमणमा परी १० नेपाली विद्यार्थीको पनि ज्यान गएको थियो। केही घाइते भएका थिए। हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात छ।
उक्त आक्रमणका घाइते तथा विपिनका साथी कैलालीका धनबहादुर चौधरीले मंगलबार बिहानै फेसबुकमा लेखेका छन्, “अक्टोबर ७, २०२३ को दिनले नेपाली इतिहासमा र हाम्रो मनमा कहिल्यै नबिर्सिने घाउ छोडेको छ।”
हमासले अचानक गरेको त्यस आक्रमणबाट इजरायलमा एक हजार १३९ जनाको मृत्यु भएको थियो। हमासले २५१ जनालाई बन्धक बनाएको थियो। तिनै बन्धकमध्ये एक हुन् विपिन जोशी।
“हाम्रा साथी अनि सबैका भाइ विपिन जोशी (कञ्चनपुर) हमासद्वारा अपहरण भई आजसम्म पनि बन्दी अवस्थामा रहेका छन्, उनको र अन्य सबै बन्दीहरूको तत्काल रिहाइ मानवताको हितमा आवश्यक छ,” चौधरीले लेखेका छन्।
यसैबीच, गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास–इजरायल युद्धविरामका लागि नयाँ प्रस्ताव अघि सारेका छन्। उक्त प्रस्तावले युद्धविरामको आशा जगाएको बताइएको छ। ट्रम्पको नयाँ शान्ति प्रस्तावबारे छलफल गर्न इजरायल र हमासका प्रतिनिधि इजिप्टको शर्म अल–शेख पुगेका छन्।
सोमबार ती प्रतिनिधिहरूबीच अप्रत्यक्ष वार्ता भएको छ। उनीहरूसँग इजिप्ट र कतारका प्रतिनिधिले बेग्लाबेग्लै छलफल गरेको अलजजिराले उल्लेख गरेको छ। “इजिप्टमा इजरायल र हमासबीच पुनः शुरू भएको अप्रत्यक्ष वार्ताको पहिलो दिन सकारात्मक रूपमा समाप्त भएको छ,” अलजजिराले लेखेको छ, “गाजामाथिको युद्ध अन्त्य गर्नेबारे डोनाल्ड ट्रम्पको २० बुँदे योजना कार्यान्वयन गर्ने सम्भावित सम्झौताको आशाका बीचमा वार्ता सम्पन्न भएको धेरै स्रोतहरूले अलजजिरा र अन्य सञ्चार माध्यमहरूलाई बताएका छन्।”

अमेरिकाको प्रस्तावित शान्ति योजनाअन्तर्गत दुवै पक्षका प्रतिनिधिहरू मंगलबार पनि अप्रत्यक्ष वार्तामा संलग्न भएका छन्। हमास र इजरायली वार्ताकारबीच आमनेसामने भेट नभई, इजिप्ट र कतारी मध्यस्थकर्तामार्फत संवाद भइरहेको छ। वार्ताको आधार ट्रम्पको २० बुँदे गाजा शान्ति योजना हो।
ट्रम्पले अघि सारेका मुख्य बुँदामा दुवै पक्षले सहमति जनाए तत्काल युद्ध अन्त्य हुने, इजरायली फौजहरू सीमामा फर्किने र सबै सैन्य कारबाही स्थगित हुने उल्लेख छ। यस्तै, इजरायलले सहमति जनाएको ७२ घण्टाभित्र हमासले सबै बन्धक (जीवित र मृत) फिर्ता गर्ने तथा लगत्तै इजरायलले आजीवन कारावास पाएका २५० जना हमास कैदी र पछि पक्राउ परेका १७ सय गाजावासी (महिला र बालबालिकासहित) रिहा गर्ने मुख्य बुँदा छन्। गाजा क्षेत्रलाई आतंकमुक्त क्षेत्र बनाउने विषय पनि परेको छ।
तर वार्ताको निष्कर्ष के निस्किन्छ र इजरायली युद्धबन्दी र प्यालेस्टिनी कैदीबन्दी रिहाइको विषय कति सार्थक हुन्छ भन्ने यकिन छैन। अल जजिराका प्यालेस्टिनी पत्रकार तारिक अबु अजम लेख्छन्, “अहिलेको शत्रुतापछि वास्तविक सफलता मिल्छ कि मिल्दैन भनेर हेर्न उनीहरू हालको वार्ता चरणमा भर परिरहेका छन्।”
बीबीसीले हमास निकट स्रोतलाई उधृत गर्दै जनाएअनुसार, अक्टोबर ७ को वार्षिकोत्सवको पूर्वसन्ध्यामा शुरू भएको वार्ता केही दिनसम्म चल्नेछ। अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताकारहरूलाई ‘छिटो प्रगति गर्न’ आह्वान गर्दै भनेका छन्, “हामी सम्झौताका नजिक छौँ, धेरै सद्भाव देखिएको छ।”
तर विश्लेषकहरूले दुवै पक्षले योजना स्वागत गरे पनि यसको कार्यान्वयनमा सहमति प्राप्त गर्न कठिन हुने चेतावनी दिएका छन्। योजना कार्यान्वयनको पहिलो चुनौती इजरायलमा आजीवन काराबास भोगिरहेका प्यालेस्टिनी र युद्ध शुरू भएदेखि नै मुद्दा नचलाई थुनामा राखिएका गाजाका मानिसहरूको बदलामा इजरायली बन्धकहरूको रिहाइको परिस्थिति निर्माण गर्नु हो।
यद्यपि, राष्ट्रपति ट्रम्प छिटो परिणाम चाहन्छन्। उनी मध्यपूर्वमा ठूलो सम्झौता गर्ने आफ्नो महत्त्वकांक्षालाई पुनर्जीवित गर्न चाहन्छन्, जसको केन्द्रमा इजरायल र साउदी अरेबियाबीचको सम्बन्ध हुनेछ।
अरब राष्ट्रहरूले स्वतन्त्र प्यालेस्टिनी राज्यको लागि स्पष्ट र अपरिवर्तनीय बाटोबिना शान्ति सम्झौता हुन नसक्ने बताउँदै आएका छन्। तर इजरायली सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमीरले चेतावनी दिएका छन्, “यदि यी वार्ताहरू असफल भए, हाम्रो सेना फेरि गाजामा लडाइँमा फर्किनेछ।”
बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोवेनका अनुसार, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आन्तरिक राजनीतिमा आफ्नो शक्ति जोगाइराख्न चाहन्छन्। भ्रष्टाचारको मुद्दालाई निरन्तर स्थगित गरिरहन चाहन्छन्। अर्को वर्ष हुने चुनाव जित्न र नाजी नरसंहारपछि यहुदीहरूका लागि सबैभन्दा घातक दिन निम्त्याउने सुरक्षा त्रुटिहरूको लागि जिम्मेवार नेताको रूपमा इतिहासमा नाम नजोड्न चाहन्छन्।
त्यो हासिल गर्न उनलाई ‘पूर्ण विजय’ घोषणा गर्ने विश्वसनीय तरिका चाहिन्छ, जुन वाक्यांश उनले बारम्बार प्रयोग गरेका छन्। उनले यसलाई बन्धकहरूको फिर्ती, हमासको विनाश र गाजाको निशस्त्रीकरणको रूपमा परिभाषित गरेका छन्। यदि त्यसो गर्न सक्दैनन् भने, विगत दुई वर्षमा इजरायलले लेबनान र इरानमा आफ्ना शत्रुहरूलाई पुर्याएको क्षतिलाई औंल्याउनु मात्र उनका लागि पर्याप्त हुनेछैन।
हमास र इजरायली प्रतिनिधिमण्डल दुवैका आफ्नै देशमा शक्तिशाली आलोचकहरू छन्, जो युद्ध जारी राख्न चाहन्छन्। हमास स्रोतहरूलाई उधृत गर्दै बीबीसीले जनाएअनुसार, गाजामा अझै रहेका सैन्य कमाण्डरहरू अन्त्यसम्म लड्न र सकेसम्म धेरै इजरायलीलाई आफूसँगै लैजान तयार छन्।
बेन्जामिन नेतान्याहूको गठबन्धन अति राष्ट्रवादी र अतिवादीहरूको समर्थनमा निर्भर छ। उनीहरू गाजाका प्यालेस्टिनीलाई निष्कासन गर्ने र त्यहाँ यहुदीहरुलाई स्थापित गर्ने सोच राख्छन्। “यदि इजिप्टमा वार्ता असफल भयो भने, दुवै खेलहरू सम्भव हुनेछन्,” बीबीसीले लेखेको छ।

दुईपटक अस्थायी युद्धविराम
गाजामा युद्ध शुरू भएको दुई वर्षमा दुई पटक अस्थायी युद्धविराम भएका छन्। त्यस बेला बन्धक र कैदीहरूको आदानप्रदान समेत भयो। पहिलो पटक २०२३ नोभेम्बर २४ देखि डिसेम्बर १ सम्म चलेको सात दिनको युद्धविराममा हमासले १०५ बन्धक (८१ इजरायली र २३ थाई र एक फिलिपिनी नागरिक) रिहा गरेको थियो। बदलामा इजरायलले २४० प्यालेस्टाइनी कैदी (मुख्यरूपमा महिला र बालबालिका) रिहा गरेको थियो। त्यसपछि पुनः इजरायलले गाजामा आक्रमण गर्न शुरू गर्यो।
दोस्रो चरणको युद्धविराम गत जनवरी १९ देखि मार्च १८ सम्म भएको थियो। यसबीचमा विभिन्न आठ चरणमा कैदीबन्दी र बन्धक आदानप्रदान भयो। हमासले कुल ३० बन्धक (२५ इजरायली र पाँच थाई) रिहा गर्यो। बदलामा इजरायलले लगभग दुई हजार प्यालेस्टाइनी कैदी रिहा गरेको थियो।
यो युद्धविराम सहायता वितरण, इजरायली फौजको आंशिक फिर्ती र पुनर्निर्माण छलफलका लागि थियो। तर मार्च १८ मा इजरायलले आकस्मिक हवाई आक्रमण गरेर फेरि युद्धमा फर्कियो।
यसबीच इजरायली सेनाले पटकपटक गरी कम्तीमा ६० जना इजरायली बन्धकको शव गाजाबाट बरामद गरिसकेको छ। अझै ४८ बन्धक गाजामा रहेका र तीमध्ये २० जनाको मृत्यु भएको हुनसक्ने इजरायली सेनाले जनाएको छ।
दुवै युद्धविरामका क्रममा विपिन जोशीको रिहाइ हुने आशा गरिए पनि त्यसो भएन। नेपाल सरकारले कतार, इजिप्ट, इजरायललगायत देशका नेता तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि अपिल गर्दै आएको छ। फोनवार्ता, भेटघाट र अन्य कूटनीतिक पहल गरे पनि दुवै अस्थायी युद्धविराममा विपिनको रिहाइ हुन सकेन।
पछिल्लो पटक विपिनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलमै पुगेर विपिनसहित बन्धकहरूको रिहाइको माग गरे। उनीहरूले इजरायली राष्ट्रपति आज्याक हर्जोगलगायत नेतालाई भेटेका थिए। विपिन रिहाइको आवाज उठाउन उनीहरू अहिले अमेरिका पुगेका छन्।
युद्धमा खण्डहर गाजा
राष्ट्रपति ट्रम्पले इजरायललाई आफ्नो बमबारी अभियान रोक्न भनेकै दिन शुक्रबारदेखि इजरायली सेनाले गाजामा कम्तीमा १०४ जनाको हत्या गरेको छ। इजरायलले जलवायु कार्यकर्ता ग्रेटा थनबर्गसहित ग्लोबल सुमुद फ्लोटिलाबाट १७१ जना कार्यकर्तालाई देशनिकाला पनि गरेको छ।
गाजाको अवस्था अझै पनि भयानक छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् भने, एक लाख ६९ हजार घाइते छन्। मन्त्रालयले यीमध्ये कति हमास लडाकु र कति सर्वसाधारण छन् भनेर छुट्याएको छैन। स्वतन्त्र विज्ञहरूले भने मृत्यु हुने र घाइतेमध्ये आधा महिला तथा बालबालिकाहरू रहेको अनुमान गरेका छन्।

गाजामा रहेका ९२ प्रतिशत आवासीय भवन र ८२ प्रतिशत व्यापारिक भवन ध्वस्त छन्। गाजाको जनसंख्याको लगभग ९० प्रतिशत विस्थापित भएको छ। स्वास्थ्य सेवा तहसनहस छ। १२५ अस्पताल पूर्णरुपमा ध्वस्त छन्। इजरायली आक्रमणमा परेर झन्डै दुई हजार डाक्टरको ज्यान गइसकेको छ।
गाजाबासी धेरैलाई आफ्नो क्षेत्रबाट विस्थापित हुन बारम्बार बाध्य पारिएको छ। खाना र पानीको गम्भीर अभाव छ। अन्तर्राष्ट्रिय संस्था तथा विज्ञहरूले गाजा शहरमा अनिकालको अवस्था रहेको बताएका छन्।
प्यालेस्टिनी पत्रकार अबु जम गाजामा युद्ध भएको दुई वर्ष बितिसक्दा पनि मानिसहरू कहिल्यै नसकिने दुःस्वप्न बाँचिरहेको बताउँछन्। “गाजाका प्यालेस्टिनीहरू विगत दुई वर्षदेखि निराशाको अनन्त चक्रबाट गुज्रिरहेका छन्, किनकि उनीहरू रोटी र पानीको लागि लाइनमा बसिरहेका छन्,” अबुले अलजजिरामा लेखेका छन्, “मानिसहरूले महसुस गरिरहेको कुरा केवल शोक मात्र होइन, तर एक प्रकारको स्थायी दिशाहीनता हो। पहिले विवाह, विद्यालय र बालीनाली जस्ता कुराहरूले चिनिने उनीहरूको जीवन अब हवाई आक्रमणको संख्याले मापन गरिन्छ।”
यो युद्धकै बीचमा इजरायलले इरानसहित पाँच देशका राजधानीमा पनि हवाई आक्रमण गरेको छ। हमासका धेरै वरिष्ठ नेता र हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको हत्या गरिएको दाबी इजरायलको छ।
दुई वर्ष लामो द्वन्द्वपछि दुवै पक्षमाथि शान्ति कायम गर्न अन्तर्राष्ट्रिय दबाब बढेको छ। संयुक्त राष्ट्रसंघको अनुसन्धानले इजरायलमाथि नरसंहारको आरोप लगाएको छ। तर अधिकार समूहहरूले अक्टोबर ७ को आक्रमणमा हमासमाथि युद्ध अपराधको आरोप लगाएका छन्। दुवैले यी आरोप अस्वीकार गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
