मन्त्री र उच्च तहका कर्मचारीलाई निर्देशन दिँदै हिँडेका सुदन गुरुङ संवैधानिक पद, राजदूत नियुक्ति र कर्मचारी सरुवामा ‘कोटा’ मात्र खोजिरहेका छैनन्, प्रतिपक्षकै भूमिका दिनुपर्ने माग पनि गरिरहेका छन्।
काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा ‘जेन–जी’ प्रतिनिधिलाई सामेल गराउन असोज १८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकियो। बैठकमा अन्तरिम सरकारका मन्त्री, प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूसँगै विभिन्न जेन–जी समूहका प्रतिनिधि पनि थिए। तर बैठकमा न प्रधानमन्त्री सुशीला कार्की उपस्थित भइन्, न त मन्त्रिपरिषद् विस्तारबारे छलफल भयो।
डेढ घन्टा चलेको बैठकमा जेन–जी आन्दोलनको स्वामित्व दाबी गरेको ‘हामी नेपाल’का संयोजक सुदन गुरूङले अप्रत्याशित रूपमा आठ बुँदे मागपत्र पेश गरे। उनको पत्रमा मन्त्रिपरिषद् विस्तारबारे कुनै सुझाव थिएन।
बरू पत्रको दोस्रो बुँदामै जेन–जी आन्दोलनमा भएको विध्वंश र तोडफोडमा संलग्नमाथि कुनै कारबाही नगर्ने/नगराउने शर्त राखिएको थियो। बुँदा नं ६ मा प्रधानन्यायाधीश तथा न्यायपरिषद् अध्यक्षबाट प्रकाशमान सिंह राउतको राजीनामा र न्यायपरिषद्को पुनर्संरचना गरिनुपर्ने माग छ।
पत्रमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको समेत राजीनामा माग गरिएको छ। अख्तियारमा राजनैतिक पूर्वाग्रहबाट मुक्त नयाँ प्रमुख आयुक्त नियुक्ति गर्ने पनि माग गरिएको छ। सबै माग पूरा गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सात दिनको समयसीमा दिइएको छ।
सुदनको आठ बुँदे मागबारे बैठकमा उपस्थित मन्त्रीहरूले केही बोलेनन्। बरु, जेन–जी समूहकै अर्को खेमाबाट उपस्थित रक्षा बमलगायतले असहमति प्रकट गरे। सुदनको आठ बुँदे पत्रमा समावेश अधिकांश माग संविधानविपरित रहेको रक्षाले उकालोसँग बताइन्।
बैठकमा सुदनले अचानक मनलाग्दी माग झिकेपछि आफूहरूले अस्वीकार गरेको उनको भनाइ छ। “प्रधानमन्त्रीज्यू बैठकमा नआएपछि त्यसैमा छलफल हुँदा हामी चुपचाप नै बसिरहेका थियौँ। तर मनलाग्दी मागहरू सुनेपछि तुरुन्तै त्यस्तो हुँदैन भन्यौँ,” रक्षा भन्छिन्, “त्यसपछि उनले यो संविधान मानेर परिवर्तन ल्याउन सकिन्छ? जस्तो कुरा गर्न थाले, हामी मौन रह्यौँ।”
सुदनले संविधानविपरीत माग राखेको यो पहिलो पटक होइन। उनले विभिन्न माग राखिएको सातबुँदे पत्र असोज २ गते अधिकांश मन्त्रालय पुगेर सचिवहरूलाई बुझाएका थिए।
जेन–जी नेपाल लेखिएको ‘लेटरहेड’मा जिल्लाका सीडीओ, स्थानीय तहका लेखापाल र कार्यकारी प्रमुखलाई खटाउँदा जेन–जीसँग समन्वय गर्नुपर्ने, जिल्ला समन्वय समितिलाई तत्काल खारेज गरी जेन–जीलाई सरकार र कामकारबाहीको प्रतिपक्ष भूमिकामा रहेनगरी निष्पक्ष खबरदारी गर्ने सार्वजनिक संस्थाको रूपमा विकास गरिनुपर्ने माग उल्लेख छन्। त्यस्तै, संवैधानिक आयोग र राजदूत नियुक्तिमा ५० प्रतिशत जेन–जीको प्रतिनिधित्व हुनुपर्ने माग छ।
नेपाल सरकारका मुख्यसचिव र अन्य सचिवको सचिवालयमा जेन–जीको प्रतिनिधित्व हुनुपर्ने माग पनि छ। अन्तिम बुँदामा भनिएको छ, “नेपाल सरकारले सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू जस्तै, भन्सार, मालपोत, नापी, सडक विभाग, जिल्ला प्रशासनलगायत कार्यालयमा खटिने कार्यालय प्रमुख निष्पक्ष आचरणयुक्त हुनुपर्ने र पठाइँदा जेन–जीको समन्वयमा पठाउनुपर्ने।”
सरकारभन्दा माथि सुदन!
जेन–जी आन्दोलनको स्वामित्व दाबी गरेर एकाएक चर्चामा आएका सुदनले सरकारसँग मागपत्र मात्र पेश नगरेर कामकारबाहीमा हस्तक्षेपसमेत गरिरहेका छन्। उनी मन्त्री र विभिन्न निकायका कर्मचारीलाई निर्देशात्मक आदेश दिइरहेका छन्। त्यसको ताजा उदाहरण असोज १८ गते बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक हो।
असोज १७ गतेबाटै परेको अविरल वर्षाले विभिन्न ठाउँमा क्षति पुर्याउन थालेपछि १८ गते प्राधिकरण बैठक बसेको थियो। कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकमा अरू को–को सहभागी थिए भन्ने समाचार कतै आएको थिएन।
त्यही दिन सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने घोषणा गर्यो। साँझ प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गरिन्।
राति करिब १० बजे भने समाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो, जसमा सुदनले कार्यकारी प्रमुख भट्टसहित कर्मचारीहरूलाई निर्देशन दिइरहेको देखिन्थ्यो। बैठकमा उनले भनिरहेका थिए, “जहाँ–जहाँ मान्छे अड्केका छन्, त्यसको पहिचान हुन सकेका छैन। त्यो पहिले पहिचान हुनुपर्यो नि। तब तपाईंहरूले यो–यो ठाउँमा मान्छे अड्किएको छ, सेल्टर बनाएर राख्दिनुपर्यो भनेर भन्न सकिन्छ। बरु राज्यले के गर्नुपर्छ त्यसमा हामी पछि हेर्दिउँला। रासनपानी के–के हुन्छ, यसो मिलाइदिनु पर्ला। किनभने, त्यहाँ खाना छैन।”
बैठकमा सुदनले निर्देशन दिइरहँदा कार्यकारी प्रमुख भट्टसहितका कर्मचारीले सुनिरहन्छन्। उनी मन्त्रीले निर्देशन दिएको शैलीमा निरन्तर बोलिरहेको सुनिन्छ। जबकि, प्राधिकरणको बैठकमा उनलाई औपचारिक निमन्त्रणा नै थिएन।
“एम्बुलेन्समा भएकाहरूलाई शुरूमा उद्धार गर्नुपर्यो। बीच बाटोमा फसेपछि बिरामीहरू मर्नु न बाँच्नुको अवस्थामा हुन्छन्,” सुदन भन्छन्, “एम्बुलेन्स छ कि छैन भनेर पहिचान गरी कसरी उद्धार गर्ने भनेर हेर्नुपर्यो। उच्च जोखिममा रहेका व्यक्तिहरूको हामी पहिला उद्धार गर्न सक्छौँ।”
बैठकमा निमन्त्रणा नगरीकन सुदन उपस्थित भएको प्राधिकरणकी प्रवक्ता शान्ति महत बताउँछिन्। उनका अनुसार, गृहमन्त्री ओमप्रकाश अर्यालले व्यक्तिगत तवरबाट बोलाएको बाहेक प्राधिकरणलाई उनको उपस्थितिबारे जानकारी थिएन।
कुन अधिकारले प्राधिकरणको बैठकमा पुगेर निर्देशन दिएको भन्ने प्रश्नमा सुदनले आफूलाई गृहमन्त्रीले बोलाएको दाबी गरेका छन्। “हामी गृहमन्त्रीसँग कुराकानी गरेर त्यहाँ गएका हौँ। प्राधिकरणको बैठक छ, तपाईंहरू पनि आउनुस् भनेपछि गयौँ,” उनी भन्छन्, “आफ्नो अनुभव बाँडेर र विशेषज्ञताअनुसार सहयोग गरेर फर्कियौँ।”
पछिल्लो समय सुदन बालुवाटार र सिंहदरबारमा मात्रै सीमित छैनन्, अस्पताल र विमानस्थलजस्ता संवेदनशील क्षेत्रमा पुगेर पनि कर्मचारीलाई निर्देशन दिइरहेका छन्। जेन–जी आन्दोलनका घाइते भेट्न बारम्बार राष्ट्रिय ट्रमा सेन्टर र शिक्षण अस्पताल महाराजगन्ज पुगिरहने उनले बिरामीसँग कुरा नगरी सिधै चिकित्सक र कर्मचारीलाई थर्काउने गरेको त्यहाँका कर्मचारीको गुनासो छ।
ट्रमा सेन्टरका एक कर्मचारीका अनुसार सुदन चिकित्सकमाथि नै जाई लाग्नेगरी प्रस्तुत भइरहन्छन्। “उनी न मन्त्री हुन्, न अस्पातल प्रमुख। तैपनि फरक किसिमले प्रस्तुत भइरहन्छन्,“ ती कर्मचारी भन्छन्, “कमसेकम सभ्य शैलीमा त प्रस्तुत भइदेओस्। एक्लै पुग्नुपर्ने बेडहरूमा पनि हुलका हुल केटाहरूलाई ल्याइरहन्छन्।”
असोज ९ गते उनीसहितको टोली वीर अस्पताल पुगेर डाक्टरहरूलाई कारबाहीको चेतावनी नै दियो। अस्पताल प्रशासनले बिरामीसँग गर्ने व्यवहार परिवर्तन नभए र उपचार नपाए कडा कदम चाल्ने उनले बताए।
“कुनै बिरामीलाई तँ/तिमी भनेर सम्बोधन गरेको सुनेमात्रै पहिलो कारबाही नै तपाईंहरूलाई गर्छौं। त्यसैले यसमा ध्यान दिनुहोला,” उनको भनाइ उधृत गर्दै एक कर्मचारीले सुनाए, “हामीलाई तपाईंहरू हल्का रूपमा नलिनुहोला। हामी यो आन्दोलन हुनुअघि पनि थियौँ, पछि पनि छौँ। यो फेरि आग्रह हो, कृपया निर्देशन नबुझ्नुहोला।”
अन्तरिम सरकार गठनको बेला पनि सुदनले राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध गैरकानूनी हर्कत गर्ने चुनौती दिएका थिए। आफूहरूले भनेबमोजिम नचले राष्ट्रपतिलाई ‘थुतेर बाहिर निकाल्ने’ बताएका थिए।
त्यस्तै, सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ खाएको भोलिपल्ट अबेर राति बालुवाटार छिर्न नपाउँदा उनले प्रधानमन्त्रीमाथि नै असभ्य टिप्पणी गरेका थिए। उनले भनेका थिए, “जसरी पदमा पुर्याएको हुँ, त्यसरी नै फेरि थुतेर बाहिर निकाल्न नपरोस्।”
उनले सोमबार पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको तस्वीर फेसबुकमा सार्वजनिक गर्दै दुवैजनालाई तुरून्तै पक्राउ गर्न भनेका छन्। उनले लेखेका छन्, “डु ओर डाई फर द नेसन, हत्यारालाई पक्राउ गर।”
सुदनले सरकारमाथि जबरजस्ती हस्तक्षेप गरिरहेको प्रधानमन्त्री कार्कीका सचिवालय सदस्यहरू पनि महसुस गरिरहेका छन्। सचिवालयका एक सदस्यका अनुसार, कार्की नेतृत्वको क्याबिनेटले सुदनलाई सिधै ‘साइड’ लगाउनुको साटो एउटा संयन्त्र बनाएर व्यवस्थापन गर्न खोजेको छ।
“हामीलाई उनको व्यवहारबारे निकै कमेन्टहरू आइरहेका छन्। यो विषयमा हामी छलफल गरिरहेकै छौँ,” ती सदस्य भन्छन्, “मन्त्री नै बनाएर पनि उनलाई सरकारी संयन्त्रमा, जहाँ सबै समूहको प्रतिनिधित्व हुन्छ, त्यहाँ व्यवस्थापन गर्छौं।”
‘राष्ट्रलाई सन्देश’ दिँदै
भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि सुदन सरकारकै तहमा सक्रिय छन्। उनी देशका संवेदनशील निकायहरूमा पुगेर अनधिकृत रूपमा प्रस्तुत भइरहेका छन्। सरकारसँग मात्र हुनुपर्ने नागरिकका कतिपय सूचना पनि मागिरहेका छन्।
उनले चार दिनअघि मात्रै आफ्नो फेसबुक भिडियो पोष्टमार्फत ‘राष्ट्रको नाममा सन्देश’ जारी गरे। त्यसमा आफू र आफ्नो टिम कसरी अगाडि बढ्ने भन्ने खाका आफूले तयार गरिरहेको उनले बताएका थिए।
“धेरै जनालाई लागिरहेको छ, हामी केही कामै गरिरहेका छैनौँ। तर काम धेरै नै अगाडि बढिरहेको छ। हाम्रो अजेन्डा र माग पूरा नहुनेमा कुनै सत्यता छैन,” उनले भनेका छन्, “हामी थोरै जनाको समूह शहरमा बसेर गाउँको अजेन्डा तयार पार्न सक्दैनौँ, त्यसैले हामी एउटा ठूलो टिम बनाएर हाम्रो अजेन्डा र मागलाई पूरा गराउछौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
