कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहनेछ।

काठमाडौँ– देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जसका कारण बुधवार दिउँसो र राति देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी तथा तराई भूभाग, मधेश प्रदेशका केही र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने देखिएको छ।

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, राति पनि सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराईका केही भूभाग र बाँकी प्रदेशमा मध्यम वर्षा हुनेछ। 

कोशी, मधेश, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।