दशैँबिदा: घुमफिरसँगै भेटघाटको अवसर

दशैँ टीका र पारिवारिक भेटघाटसँगै यात्राको मौसम पनि बन्न थालेको छ। धेरैले दशैँलाई ट्रेकिङ र भ्रमणको उपयुक्त समयको रूपमा उपयोग गरिरहेका छन्। यतिबेला पर्यटकीय गन्तव्यहरूमा चहलपहल बढेको छ।

काठमाडौँ– भक्तपुरकी मन्दिरा थापा दशैँको बिदामा परिवारसहित ताप्लेजुङ पुगेकी छन्। त्यहाँको पाथीभरा मन्दिर पुग्नु र वरपरका ठाउँ घुम्नु उनीहरूको उद्देश्य हो। 

अरुबेला दशैँको समयमा घरमै टीका लगाएर मनाउने गर्थे। तर यस पटक छोराछोरीले पनि घुमाउन अनुरोध गरिरहेका थिए। त्यसैले उनीहरूलाई लिएर ताप्लेजुङ पुगेको उनले बताइन्। उनी भन्छिन्, “बच्चाको छुट्टी पनि यही समयमा हुने। आफ्नो पनि अरुबेला मिल्दैन। त्यही भएर यसपटक दशैँको बिदामा  घुमफिर गर्न लागेका हौ।” बच्चाहरू पनि दशैँमा टिका मात्र लगाएर घर बस्नभन्दा हिँडडुल नै मन पराउने गरेको थापा बताउँछिन्।

उनीहरू घुम्न गएको ताप्लेजुङ कोशी प्रदेशको हिमाली जिल्ला हो। यहाँका विश्वको तेस्रो अग्लो चुचुरो कञ्चनजंघा हिमाल, पाथीभरा मन्दिर, फुङफुङ्‍गे झरनालगायत मन्तव्यमा पर्यटकहरू घुम्न जाने गर्छन्। ताप्लेजुङ पदयात्रीका लागि पनि उत्तम गन्तव्य हो। यहाँको कञ्चनजंघा संरक्षण क्षेत्रमा हिउँ चितुवा, हिमाली कालो भालु, हाब्रे, स्वर्णवक्ष फूलबुट्टा, चिलिमे चरा, टुंगालगायत जीवजन्तु देख्न सकिन्छ। 

मन्दिरा जस्तै नक्सालकी बिजेता भुजेल केही वर्षयता दशैँमा नयाँनयाँ अनुभव बटुल्न थालेकी छन्। अघिल्लो दशैँको १० दिन उनले विपश्यना ध्यान केन्द्रमा बिताइन्। यस पटकको दशैँमा भने भारत भ्रमणमा निस्किने तयारीमा छिन्। परिवारसँग हरिद्वार, ऋषिकेश हुँदै देहरादुनसम्म पुग्ने योजना छ। 

null

“जति ठूलो हुँदै गयो, बाल्यकाल जस्तो दशैँको रौनक नरहने रहेछ,” उनले सुनाइन्, “वर्ष दिनभरि सबैभन्दा लामो छुट्टी पनि यही समय हुने भएकाले किन फरक-फरक अनुभव नगर्ने भनेर घुम्न निस्किन लागेको।” दशैँमै उनी घुम्न निस्कनुको अर्को पनि कारण छ। त्यो हो, सहज आर्थिक व्यवस्थापन। दशैँका बेला अफिसबाट अतिरिक्त तलब पाइने हुनाले पनि यो समय छुट्याएको बिजेताले बताइन्। “एक हप्ताको घुमघामले वर्षभरी रिचार्ज हुने भएकाले यो समय आफ्ना लागि छुट्याउनु जरुरी छ,” उनले भनिन् । 

हिजोआज धेरै युवा दशैँमा घुमफिर गरेर रमाइलो गर्न थालेका छन्। उनीहरू नयाँनयाँ ठाउँमा घुम्ने, हिँड्ने र डुल्ने गर्छन्।

दशैँमा ट्रेकिङ जाने धेरै
दोलखाका राजन कटुवाल यस पटकको दशैँमा भाइसँग मर्दी हिमाल ट्रेकिङमा निस्किएका छन्। उनको हिमाल हेर्ने धोको निकै अगाडिदेखिको हो। नजिकै आफ्नै आँखाले हिमाल नियाल्ने उनको योजना छ।

यसपटक दशैँको टिका नभएकाले ट्रेकिङ गएको उनले बताए। “यसपालि घरमा जुठो परेको छ। टिका नभएकाले हामी दाजुभाइ घुम्न हिँडेका हौँ। अब अर्को पटक के हुन्छ? त्यही भएर यस पटक हिँड्न लाग्या हो,” उनी भन्छन्।

काठमाडौँ बस्ने राजन अरुबेला पनि वरपर हाइकिङ गरिरहन्छन्। यसले उनलाई हप्ताभरिका कामको तनावबाट मुक्त भएको महसुस हुन्छ। त्यसैले आफूलाई रिफ्रेस राख्न अलि लामो यात्रामा निस्कन खोज्छन्। तर, हत्तपत्त समय मिल्दैन। आफूलाई मिलेको बेला हिँड्ने  सिजन मिल्दैन। भन्छन्  “झन् हिमालको यात्रा त लेक लाग्ने भएकाले आफूले भनेको समयमा फुत्त निस्किन नमिल्ने  रहेछ। निजी अफिसमा काम गर्ने मान्छे भनेको बेला छुट्टी पनि मिल्दैन। यसपटक मनाउन नमिल्ने भएकाले घुम्न निस्कन पाइयो।” अघिल्लो वर्ष पनि दशैँको टिकाको दिन उनी च्छोरोल्पा गएका थिए। 

nullमार्दी ट्रेकिङ रुटमा रहेको मार्दी गेट रेस्टुरेन्टका सञ्चालक हिमाल केसी दशैँ लागेसँगै विदेशीभन्दा आन्तरिक पर्यटक बढेको बताउँछन्। भन्छन्, “पहिला–पहिला नेपालीभन्दा विदेशी पर्यटन धेरै आउँथे। अहिले नेपालीको घुइँचो लाग्न थालेको छ। त्यसमाथि पनि दशैँको मौका छोपेर थुप्रै नेपाली आउन थालेका छन्।” 

मुख्यगरी दशैँ आसपासको समय ट्रेकिङका लागि उपयुक्त समय भएकाले पर्यटक धेरै आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्रको प्रहरी चेकपोस्टका प्रहरी प्रभुराम थापाले बताए। उनले भने, “पर्यटक आउने सिजन यही बेला हो। आन्दोलनले बीचमा रोकिएको थियो। तर फेरि दशैँको बिदामा हिमाल चढ्ने धेरै आउन थालेका छन्।”

null