संस्कृतिविद् प्राडा विणा पौड्याललाई प्रश्न : दशैँ किन ‘डिकन्स्ट्रक्ट’ हुँदैछ? (भिडियो)

‘मेरो कूलपरम्परामा दशैँ मनाउने चलन होइन रहेछ भन्ने मान्छेलाई बोध भयो भने नमनाउन पनि पाइन्छ। तर, कुरा के हो भने, अर्काले गरेको चाहिँ विरोध गर्नु भएन।’

इतिहासविद् प्राडा. विणा पौड्यालको बाल्यकालको दशैँ अनिवार्य नुहाउने चलन, कन्यापूजा, कागजका चंगाको प्रतिस्पर्धा र मालती रागजस्ता विशेष सामाजिक गतिविधिले भरिएको थियो। वर्तमानमा भने मालती राग र सामूहिक सरसफाइजस्ता चलनहरू हराएका छन्। दशैँ मनाउने तरिकामा पनि परिवर्तन आएका छन्। नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागकी पूर्वप्रमुख प्राडा. पौड्यालसँग दशैँका बदलिँदा स्वरूप र नेपाल तथा भारतको दशैँ मनाउने प्रचलनमा रहेको भिन्नताबारे उकालोका लागि सविना देवकोटाले गरेको कुराकानी

बाल्यकालको दशैँ भन्नेबित्तिकै के सम्झनुहुन्छ?
म अब ७० वर्ष लाग्दैछु। बाल्यकालको दशैँ भन्नेबित्तिकै मलाई नवरथाको बिहान अनिवार्य नुहाउनुपर्ने चलनको याद आउँछ। त्यो बेला काठमाडौँ अहिलेभन्दा धेरै चिसो थियो। 'नुहाएन भने बोका हुन्छ' भन्ने चलन थियो।

दोस्रो कुरा– हामी सबै साथीभाइ मिलेर मन्दिर जान्थ्यौँ। नौ दिनमा विभिन्न नौ पीठहरू जान्थ्यौँ। म पाटनमा हुर्केको हुनाले बंगलामुखी पनि जान्थ्यौँ। काठमाडौँमा रक्तकाली, श्वेतकाली, भद्रकालीदेखि दक्षिणकाली मन्दिरलगायतका अधिकांश देवीका मन्दिरहरू पुग्थ्यौँ। त्यो बेला काठमाडौँमा बाक्लो हुस्सु लागेर अँध्यारोअँध्यारो नै हुन्थ्यो।

पाटन र उपत्यकाका अधिकांश टोल, डबली र बाटोबाटोमा मालतीराग गाउँदै डफ्फा बाजा बजाएका मान्छेहरू खुब देखिन्थे। उनीहरू अधिकांश नेवार समुदायका हुन्थे। मन्दिरमा गएर भेटी र खानेकुरा चढाएपछि मन्दिरमै बसेर खानुपर्ने चलन थियो; केही पनि नखाई मन्दिरबाट फर्कन पाइँदैनथ्यो। त्यसैले मन्दिर जाने मानिसहरू घरबाटै खानेकुरा लिएर जान्थे र चढाएर खान्थे।

अर्को रमाइलो भनेको चाहिँ नयाँ लुगा लगाउने भनेकै दशैँमा मात्रै हुन्थ्यो। प्रायःले एक जोर, सक्नेले दुई जोरसम्म किन्थे। जुत्ता किनी नै हाल्नुपरे दशैँ र स्कुल दुवैलाई टार्ने गरी जुत्ता किनिन्थ्यो। हामी केटाकेटीलाई चाहिँ 'स्कुलका लागि मिल्ने' भन्दा पनि अर्कै किसिमको जुत्ता किन्न पाए हुन्थ्यो र पैसा हाल्ने पर्स पनि किन्न पाए हुन्थ्यो भन्ने ध्याउन्नमा हुन्थ्यौँ।

ठाउँठाउँमा लिंगेपिङ हालिएका हुन्थे। अरू बेला पिङ खेल्न पाइँदैनथ्यो।

null

त्यस्तै, चंगाको तयारीमा हाम्रो बाल्यकाल खुब बित्थ्यो। अहिले जस्तो प्लास्टिकको होइन, नेपाली कागजका चंगा हुन्थे— माझा लगाउनु पर्थ्यो। मेरो माइलो भाइ थियो, ऊचाहिँ माझा लगाउन साह्रै सिपालु। काँचो रुईलाई पिनेर लगाउने। टोलटोलमा यसरी चंगा उडाएपछि हाम्रो ध्यान कुन चंगाले कसको चंगा काट्छ भन्नेमै हुन्थ्यो। हामी त चंगाको पनि नाम राख्थ्यौँ— कोही 'दारीवाल' भन्थे, कोही 'पुच्छरवाला' भन्थे। त्यो दशैँको रौनक भनेको आकाशभरि चंगा नै चंगा देखिनु थियो। उडाउनेभन्दा पनि काट्ने प्रतिस्पर्धा हुन्थ्यो।

अरू बेलाचाहिँ जुवा भनेर खेल्न नपाए पनि दशैँदेखि तिहारसम्मै लङ्गुरबुर्जा खेल्न पाइन्थ्यो। बाटोबाटोमा मानिसहरू लङ्गुरबुर्जा खेल्थे। हाम्रो चाहिँ घरमै बनाएर घरभित्रै खेल्थ्यौँ। पाँच रुपैयाँ/दश रुपैयाँ हार्ने-जित्नेभन्दा पनि त्यो माहोल नै रमाइलो हुन्थ्यो।

अर्को रमाइलो भनेको खानपानका परिकारहरू पनि हुन्। दशैँको बेलामा हाल्ने खल्पीको अचार अलिक विशेष हुन्थ्यो। तिहारको बेलामा मात्रै होइन, दशैँमा पनि सेलरोटी, फुरनदाना, निमकिन बनाइन्थ्यो। अहिले जस्तो खाद्य सामग्री बजारमा किन्न पाइँदैनथ्यो। मासुको परिकार पनि त्यस्तै। हाम्रो घरमा चाहिँ काटमार गर्ने चलन थिएन, तर मासु चाहिँ खान्थ्यौँ। खानपानको विविधता (भेराईटी) हुन्थ्यो।

null

बाल्यकालको दशैँ भन्नेबित्तिकै मलाई सबैभन्दा बढी याद आउने ‘कन्यापूजा’ हो। मेरो त्यतिखेर घर कुपन्डोल, मामाघर ओमबहाल। मेरा हजुरबुबा प्रेमराज शर्मा पौड्याल, जो गोरखापत्रका सम्पादक हुनुहुन्थ्यो, उहाँले हामी केटीहरूलाई दशैँमा सानो बेलामा अनिवार्य पूजा गर्नुहुन्थ्यो। उहाँले हामीलाई ‘कन्यापूजा’ गर्नुहुन्थ्यो। सकेसम्म नौ दिनसम्मै गर्नुहुन्थ्यो। छुटे पनि सप्तमी, अष्टमी, नवमी र दशमीमा त अनिवार्य गर्नुहुन्थ्यो। कन्यापूजा गर्दा हामीलाई गोडामा पूजा गरेको असाध्यै रमाइलो लाग्ने। पूजा गरेर नयाँ फ्रक, काटा, मीठामीठा खानेकुरा दिने गर्नुहुन्थ्यो।

दशैँको दिन दाजुभाइले पैसा नपाएर केटीहरूले मात्रै पाउँदा दाजुभाइले भने हामीसँग रिस गर्थे, झगडा नै पनि पर्थ्यो। एक पैसा, एक रुपैयाँ, बढीमा दुई रुपैयाँसम्म दिनेसम्म चलन थियो।

असन र पाटनका मन्दिर र डबलीहरूमा महाभारत र रामायणका पुराना चित्र र फ्रेमहरू सजाइएको हुन्थ्यो। प्रदर्शनीमै राखिन्थ्यो। त्यो चलन अहिले पनि असनमा छ।

सांस्कृतिक रूपमा हेर्दा दशैँमा मनाइने चालचलनहरूमा के–कस्ता परिवर्तनहरू देख्नुभएको छ?
टोलटोलमा मालती राग बजाउने चलन नै हरायो। अलिअलि चलन भए पनि देवीको मन्दिर जाने चलन पनि हरायो।

दशैँमा टोलछिमेकका गन्यमान्य मान्छेहरू जम्मा भएर सामूहिक सरसफाइ गर्ने चलन थियो। हिजोआज देखिँदैन। सप्तमी, अष्टमी, नवमी कुनै दिन पारेर सबै मिली सरसफाइ गर्थे। काठमाडौँमा अधिकांश घर सिमेन्टेड भए पनि पूजाकोठाहरूचाहिँ अनिवार्य लिपपोत गर्थे।

राष्ट्रिय चाड मानिने दशैँ हिजोआज ‘डिकन्स्ट्रक्ट’ भइरहेको देखिन्छ। कसैले दशैँ नै मनाउन छोड्नेदेखि कसैले मनाउने चालचलन फेरिरहेका छन्। यसलाई कसरी हेरिरहनुभएको छ?
अहिले हामी पहिचानको युगमा छौँ। सबैले आफ्नो पहिचान, अस्तित्व वा भनौँ आफ्नो इतिहास खोजिरहेका छन्। चेतनशील र जागरुक भएपछि खोज्दै जाँदा मान्छेले 'मेरो पुर्खाले गरेभन्दा मैले अलिक फरक तरिकाले चाडपर्वहरू मनाइरहेछु' भनी खोजी गरिरहेको पनि हुनसक्छ।

कसैले प्रमाण पाएर दशैँ मनाउने तौरतरिका परिवर्तन गर्छन् भने त्यो ठीक छ। सबैले एउटै तरिकाले मनाउनुपर्छ भन्ने नै छैन। यदि कसैलाई दशैँ मेरो पर्व होइन भन्ने लाग्छ भने नमनाउन पनि पाइन्छ। कतिले दवावमा नगरे पनि प्रभावमा गरिरहेको हुनसक्छ। मेरो कूल परम्परामा दशैँ मनाउने चलन होइन रहेछ भन्ने मान्छेलाई बोध भयो भने नमनाउन पनि पाइन्छ। तर, कुरा के हो भने, अर्काले गरेकोचाहिँ विरोध गर्नुभएन।

कतिले प्रमाणले विरोध गर्नुभएको छ भने कतिले चाहिँ नियतवश समाजलाई भड्काउने हिसाबले पनि यो विषयको उठान गरेको पाइन्छ। हाम्रो समाजको ठूलो विशेषता भनेको धार्मिक सहिष्णुता हो। दुइटा धर्मका मानिसहरू यहाँ एकै ठाउँमा बस्छन्। कतिले थाहा पाएर, कतिले थाहा नपाएर यो काम गरिरहनुभएको छ। संस्कृति, धर्ममा विघटन ल्याउन सकियो भने आफ्ना उद्देश्यहरू लाद्न सकिन्छ भन्ने अभिप्रायः हुन्छ। संसारका अरू देशमा पनि यस्तो भएको छ। त्यसैले यसलाई नियोजनवश (योजनाबद्ध) गर्न भएन। जसरी म हिन्दू भए पनि इच्छाअनुसार ल्होसार, क्रिसमस मनाउँछु, त्यसरी मनाउँदा केही फरक पर्दैन।

भारतमा मनाइने र नेपालमा मनाइने दशैँमा के भिन्नता हुन्छ?
भारतमा दशैँको दशौँ दिनमा रामले रावणमाथि विजय प्राप्त गरेको हुनाले विजयस्वरूप रावण र कुम्भकर्णको पुतला जलाइन्छ। नेपालमा हामी त्यसरी मनाउँदैनौँ। हामी एउटै देवीलाई नौ दिनसम्म लगातार पूजा गरी, दशैँको दिन मान्यजनको हातबाट टीका लगाउँछौँ।

हामीकहाँ कस्तो चलन छ भने, आफूभन्दा अग्रजबाट— चाहे उमेरको हिसाबले होस् या ज्ञानको हिसाबले, चाहे आफ्नो घरको होस् या बाहिरको मान्छे— टीका थाप्ने र आशीर्वाद लिने चलन छ। देवीलाई अर्पण गरिसकेको टीका तेस्रो आँखाको प्रतीक स्वरूप दुई आँखाको बीचमा लगाइन्छ।

null

आशीर्वादहरू देवीको प्रशंसा गरेर लेखिएका छन्। जस्तैः जयन्ती मंगलाकाली भद्रकाली कपालिनी.....। जहाँ देवीका विभिन्न स्वरूपलाई सम्मान गरिएको छ। त्यस्तैगरी महाभारतका पात्रहरूलाई लिएर आशीर्वादका मन्त्र बनेका छन्।

जस्तै:
आयु द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यन्च कुन्तीसुते ।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

यो मन्त्रले के भनेको छ भने महाभारतका पात्रहरूको राम्रो-राम्रो गुण लागोस्। सबै मान्छेसँग गुण र दोष दुवै हुन्छ। तर, गुणचाहिँ यस्तो होस् भनेर यो आशीर्वाद दिइएको हो। जस्तै: द्रोणसुते अर्थात् द्रोणका छोरा अश्वत्थामाको जस्तो आयु होस् भनिएको छ। भलै अश्वत्थामाले थुप्रै गल्ती गरेका छन्। महाभारतको युद्धमा अश्वत्थामाले गर्न नहुने काम पनि गरेका छन्। युद्धको अन्तिम समयमा जब अश्वत्थामाले पाण्डवका पाँच छोराहरूलाई सुतिरहेको बेलामा मारिदिए, त्यतिखेर धर्मयुद्ध भङ्ग भयो। तर, थुप्रै वैगुणका बाबजुद पनि उनी अष्टचिरञ्जीवी थिए। त्यसैले उनको जस्तो पूर्ण आयु होस् भनेर यस मन्त्रमा भनिएको हो।

नहुष राजाको थुप्रै वैगुण भए पनि उनको जस्तो ऐश्वर्य होस् भनिएको हो।

दुर्योधन महाभारतको सबैभन्दा ठूला खलनायक पात्र हुन्। उनका थुप्रै दुर्गुणहरू छन्। तर, मानञ्च दुर्योधने भनेर दुर्योधनको जस्तो मान होस् भनिएको छ। आफ्नो मानमा बस्नु भनिएको हो।

त्यसैले 'खराब मान्छेसँग दशैँको टीका लगाउनु हुँदैन' भन्ने चलन छ। टीका जसबाट थापिन्छ, ऊसँग विशेष ऊर्जा हुनुपर्छ। टीका यस्तो व्यक्तिसँग मात्रै लगाउनुपर्छ जसका सामु शिर झुकाउन सकियोस्। भारतमा यसरी टीका लगाइँदैन। देवीको आराधना गरी शक्ति आर्जन गरेर, आशीर्वाद लिएर ऊर्जावान् बन्नका लागि दशैँ मनाइन्छ।