जनमतमा परिवारवाद : विरोध गर्नेलाई अध्यक्ष राउतले नै छोडाउँछन् पार्टी

जनमत अध्यक्ष सीके राउतले तीन महिनाअघि सहोदर दाइ जयकान्तलाई उपाध्यक्ष बनाएका थिए। पार्टी केन्द्रीय सदस्य तथा पदाधिकारीहरू यो देखिने उदाहरण मात्र भएको बताउँछन्।

काठमाडौँ– जेन–जी आन्दोलनलगत्तै राजनीतिक दलहरूमा नेतृत्व हस्तान्तरणको बहस शुरू भएपछि जनमत पार्टीका ६ नेताले असोज १ गते अध्यक्ष सीके राउतलाई मार्ग प्रशस्त गर्न २४ घण्टे अल्टिमेटम दिए। यसरी अल्टिमेटम दिनेमा निवर्तमान सांसद तथा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता शरदसिंह यादवसहित चार पदाधिकारी पनि थिए।

अध्यक्ष सीके राउत र उपाध्यक्षसमेत रहेका संगठन विभाग प्रमुख जयकान्त राउतलाई दिइएको अल्टिमेटममा नेतृत्व परिवर्तनको विकल्प नरहेको दाबी गरिएको थियो। “देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता दिन प्रतिदिन तीव्र रूपमा महसुस भइरहेका बेला जनमत पार्टीले समेत आत्मसमीक्षा गर्दै परिवर्तनको मार्ग अपनाउनु अत्यावश्यक भइसकेको छ,” ६ नेताले जारी गरेको विज्ञप्तीमा भनिएको थियो, “...अध्यक्ष डा. सीके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतले २४ घन्टाभित्र आफ्नो पदबाट स्वेच्छिक राजीनामा दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।”

६ नेताले पद छाड्न २४ घन्टे अल्टिमेटम दिएको १५ मिनेटपछि नै अध्यक्ष राउतले फेसबुक पोस्टमार्फत उल्टै ती नेतालाई पार्टी छाड्न भने। राउतले लेखेका थिए, “प्रिय साथीहरू, यो राम्रो मौका हो पार्टी छोड्ने। यदि कसैलाई पार्टीमा उकुसमुकुस लागि रहेको छ, अनुशासनमा बस्न सकिँदैन, एउटै पार्टीमा बस्दाबस्दै वाक्क लाग्यो र नयाँ पार्टी रोज्न वा खोल्न चाहनु हुन्छ, पार्टीमा नै बसेर दिनरात पार्टीको विरोध गर्नुपरेको छ, भित्रभित्रै पार्टीलाई खोक्रो बनाउनु परेको छ भने, योभन्दा राम्रो मौका आउने छैन। किनकि अहिले कुनै बहाना पनि चाहिँदैन। जेन–जी आन्दोलन छ, युवाहरूको रापताप छ।”

लामो समय अध्यक्ष राउतसँग रहेर काम गरेका निवर्तमान प्रवक्ता शरदसिंह यादव राउतले आफूहरूसँग एकपटक पनि संवाद र छलफल नगरी फेसबुकमा लेखेर पार्टी छाडिहाल्न भन्लान् भन्ने अनुमान नै नगरेको बताउँछन्। राउतको पोस्टपछि २४ घन्टे अल्टिमेटम आफूहरूतिरै फर्किएको बुझेको उनको भनाइ छ।

“त्यसलगत्तै हामीले पार्टी परित्यागका लागि छलफल गर्यौं,” यादव भन्छन्, “यति भइसकेपछि नैतिक रूपमा पार्टीमा बस्ने आधार नै देखेनौँ र असोज २ गते विज्ञप्ति जारी गर्दै ६ जनाले नै सामूहिक राजीनामा दियौँ।”

पार्टीमा परिवारवाद
मधेश प्रदेशबाट वैकल्पिक शक्तिको रूपमा उदाएको जनमतमा ६ महिना अघिसम्म पनि ठूलो विवाद थिएन। तर पार्टीका धेरै नेतालाई ‘बाइपास’ गरेर अध्यक्ष राउतले आफन्तलाई प्राथमिकता दिन थालेपछि आन्तरिक द्वन्द्व चुलिँदै गएको नेताहरू बताउँछन्।

तीन महिनाअघि मात्र उपाध्यक्ष मनोनीत भएका संगठन विभाग प्रमुख जयकान्त राउत अध्यक्ष सीकेका सहोदर दाइ हुन्। उनले दाइ जयकान्त र अर्का नेता दानबहादुर चौधरीलाई गत असार १७ गते उपाध्यक्ष मनोनीत गरेका थिए। उनीहरूको मनोनयनको दुई दिनपछि पार्टी स्थायी समिति सदस्य ई. दीपककुमार साहले विज्ञप्ति नै निकालेर विरोध जनाएका थिए।

निवर्तमान प्रवक्ता यादवका अनुसार, अहिले जनमतमा अध्यक्ष राउतका आफन्त १९ जनालाई विभिन्न पदमा मनोनीत गरिएको छ। पहिला संगठन विभाग प्रमुख र पछि पार्टी उपाध्यक्ष बनाइएका जयकान्तको पार्टी निर्माणमा कुनै योगदान र भूमिका नभएको पनि यादवको दाबी छ।

जयकान्त पार्टीकै सिफारिसमा मधेश प्रदेशअन्तर्गत जनकपुरधाम नगर विकास प्रमुख पनि बनाइएका थिए। “पहिला राष्ट्रिय योजना आयोगको सदस्य बनाउनु भयो। पछि उपध्यक्ष हुँदै पार्टीको हर्ताकर्ता नै उहाँ भएको भाष्य बनाइदिनु भयो,” यादव भन्छन्, “दाइबाहेक उनले बाँकी कसैलाई गन्दै गन्दैनन्।”

nullअध्यक्ष राउतले आफ्ना दाइलाई मात्रै नभएर भतिजा र भाञ्जालाई पनि पार्टीमा महत्त्वपूर्ण स्थान दिएका छन्। भाञ्जा ओम मण्डल केन्द्रीय कार्यालयको जागिरे हुन्। उनले केन्द्रीय कार्यालयमा राखेका आफन्तको काम पार्टी नेताको चियोचर्चो गरेर रिपोर्टिङ गर्नु मात्र भएको यादव बताउँछन्।

अध्यक्ष राउतले मधेश प्रदेश सरकारदेखि केन्द्रीय सचिवालयसम्म आफन्तलाई पद बाँडेको यादवको भनाइ छ। यसरी पद बाँडिएका चन्दन रजक, बबिता राउत, प्रमोद इशर, नरेश अधिकारी, प्रियंका सन्त, वचन राउत, दिलीप खड्का, सरस्वती कापर राउतका आफन्त वा नजिकका व्यक्ति रहेको उनी बताउँछन्। 

निवर्तमान सांसद तथा पार्टी उपाध्यक्ष रहेका अब्दुल खान पनि अध्यक्ष राउतको परिवार मोहले नै आफूसहित केन्द्रीय नेताहरू पार्टी परित्याग गर्न बाध्य भएको बताउँछन्। चाडबाड सकिएपछि पार्टी छाड्ने अझ धेरै हुने उनको भनाइ छ। “म शुरूदेखि नै सीके राउतसँग थिएँ, तर केही समयदेखि उहाँको व्यवहारमा एकदमै धेरै बदलाव आयो। परिवारबाहेक कसैलाई विश्वास नै गर्नुहुँदैन,” खान भन्छन्।

तर अध्यक्ष राउतका दाइ जयकान्त जनमत पार्टीमा परिवारवाद नभएको दाबी गर्छन्। पार्टी छाडेकाहरूले पार्टीप्रति नकारात्मक भावना फैलाउने उद्देश्यले परिवारवादको आरोप लगाइरहेको उनको भनाइ छ। “कहाँ छ आफ्नो मान्छे? खाली बदनाम गराउन खोज्ने? अरू कति योग्य मान्छेलाई अवसर दिएको पनि हेर्नुपर्यो नि,” जयकान्त भन्छन्।

केही आफ्ना मान्छे भए पनि ती योग्य रहेको जयकान्त बताउँछन्। “योग्य भएपछि त परिवारै भए पनि पद त दिनुपर्ने होला नि। उनीहरू (पार्टी छाडेका नेता) गएर पनि पार्टीलाई कुनै घाटा भएको छैन,” उनी भन्छन्।

बोल्नै पाइँदैन!
जनमतका एक उपाध्यक्षका अनुसार पार्टीमा केन्द्रीय समितिको बैठक नियमित छैन। अध्यक्ष राउतले बैठक बोलाइहाले पनि उनले चाहेकाहरू मात्रै उपस्थित हुने ती उपाध्यक्ष बताउँछन्।

“बैठक शुरू हुँदा सबैलाई जानकारी गराइन्थ्यो, तर पछिपछि अध्यक्षजीले आफूलाई लागेको मान्छे मात्र बोलाउन थाल्नुभयो,” उनी भन्छन्, “बैठकमा बोलाए पनि अध्यक्षजीको कुरा चाहिँ काट्न मिल्दैन। असहमति जनाउनेलाई कुनै न कुनै विषयमा मुछेर स्पष्टीकरण सोधिहाल्नुहुन्छ।”

६ महिनाअगाडि पार्टी छाडेका सञ्जय स्वराज आफू फरक विचार राख्दा नै अध्यक्ष राउतको तारो बनेको बताउँछन्। आफूले परिवारवाद र आसेपासेका कारण पार्टी धेरै दिन टिक्न नसकेको धारणा केन्द्रीय समितिमा राखेको उनको भनाइ छ। “मैले बैठकमै यो कुरा राख्दा मलाई बाइपास गरियो। डा. राउत त केही बोल्नुभएन, तर उनी निकटकाले बेठकमै मलाई नजरअन्दाज गरे,” उनी भन्छन्। 

आफूले त्यति कुरा राख्दा मात्रै पनि पटकपटक स्पष्टीकरणको सामना गर्नुपरेको स्वराज बताउँछन्। सीके राउत पहिलाजस्तो नभएको र बदलिइसकेको पनि उनले बताए।

राउतलाई आफ्ना करिबीबाहेक कोही प्यारो नभएको स्वराजको भनाइ छ। “म डेढ वर्ष उहाँकै लागि जेल बसेको मान्छे हुँ। तर मलाई त चिन्नु भएन उहाँले, अरूको हालत के भइरहेको होला त्यो त मलाई नै थाहा छ,” उनी भन्छन्।

जनमत उपाध्यक्ष एवं मधेश प्रदेशसभा सदस्य चन्दन सिंह भने पार्टीमा बोल्न नपाइने कुरा छाडेर गएकाहरूको आरोप मात्रै भएको दाबी गर्छन्। जनमतभित्र आन्तरिक लोकतन्त्रको उत्तम अभ्यास भइरहेको पनि उनको दाबी छ।

“बोल्न किन नपाउनु? बोल्दै नबोलेपछि त के कुरा भयो? पार्टीभित्र छलफल गर्नुपर्नेमा साथीहरू बाहिरबाहिर हल्ला गरेर हिँड्छन्,” सिंह भन्छन्, “बोल्न मात्र होइन, मजाले आफ्ना कुरा राख्न पाइन्छ। हामी आन्तरिक लोकतन्त्रमा विश्वास गर्छौं।”