एमाले सचिवालय बैठक आइतबार, कांग्रेस केन्द्रीय समिति असोज २६ मा

एमालेले आइतबार दिउँसो १ बजे सचिवालय बैठक बोलाएको छ भने नेपाली कांग्रेसले असोज २६ गते केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ।

काठमाडौँ– जेनजी समूहको आन्दोलनबाट उत्पन्न नयाँ राजनीतिक परिस्थिति र देशको समसामयिक अवस्थाबारे छलफल गर्न प्रमुख राजनीतिक दलहरूले केन्द्रीय तहका बैठकहरू बोलाएका छन्। एमालेले आइतबार दिउँसो १ बजे सचिवालय बैठक बोलाएको छ भने नेपाली कांग्रेसले असोज २६ गते केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ बजे गुण्डुस्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाएका हुन्। एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले दिएको जानकारीअनुसार, बैठकमा मुख्यगरी देशको समसामयिक परिस्थिति, जेनजी आन्दोलनपछि पार्टीको अबको भूमिका, संगठन सुदृढीकरण र भावी कार्यक्रमबारे छलफल हुने छ।

त्यस्तै, कांग्रेसले भने बडादशैँपछि असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति रहनेछ।

जेनजी समूहको पछिल्लो आन्दोलनले राजनीतिक दलको नेतृत्व र भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको पृष्ठभूमिमा यी दुई मुख्य दलको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।