दशहराः न झिझियाको लय न ढोलको डिगडिगिया

दशैँका बेला बस्तीहरूमा नवरात्रभर प्रत्येक रात गुञ्जिने भिझियाको लय र नृत्य पनि बिस्तारै लोप हुँदै गएको छ।

दशहराः न झिझियाको लय न ढोलको डिगडिगिया
फाइल तस्वीर

महोत्तरी– महोत्तरीसहित मिथिला क्षेत्रमा दशहरा पर्व भन्नेबितिक्कै बूढापाका मैथिल झिझिया र ढोल सम्झिन्छन्। दशहारा पर्वको नवरात्र शुरू हुनासाथ घरघरै पुगेर ढोल बजाइन्थ्यो। यसको डिगडिगियाले (ढोल बज्दाको आवाज) गाउँ गुन्जायमान हुन्थ्यो। यसले दशैँ घरआँगनमा आएको आभाष हुन्थ्यो, दशैँको पर्याय बनेका यी परम्परागत कला पछिल्लो समय लोप हुँदै गएका छन्। भंगाहा–४ का ८० वर्षीय वृदेवसिंह दनुवार ढोलको आवाज सुन्न छाडेको एक दशक नै नाघिसकेको बताउँछन्। 

दशैँका बेला बस्तीहरूमा नवरात्रभर प्रत्येक रात गुञ्जिने भिझियाको लय र नृत्य पनि बिस्तारै लोप हुँदै गएको र पर्वविशेषको यो चलन मेटिँदै जाँदा दशैँको रौनक नै हराएको उनको भनाइ छ। “दशहारा आयो भन्छन्, तर न ढोल बज्छन्, न झिझिया देखिन्छ,” दनुवार भन्छन्, “पर्वविशेषका खास परम्परा हराउँदै गएपछि यसको मौलिकता देखिन, सुनिन छाडेको छ। यसले हामीलाई चिन्तित बनाएको छ।”

सोमवती चौधरी थारू पनि दशैँको परम्परागत मौलिकता हराउन थालेको बताउँछिन्। “दशहारा शुरू भेला तीन दिन भगेल, बुझाइते नई अई जे पावैन अई, न गामघरमें ढोल बजैय, न झिझिया नाच दिखाइय (दशहारा शुरू भएको तीन दिन  भइसक्यो, खै पर्व आएको जस्तो नै लाग्दैन, न ढोल बज्छन्, न झिझिया नृत्य देखिन्छ),” उहाँले भनिन्। 

सामाजिक संस्थाहरूले कतैकतै झिझिया आयोजना गर्ने गरेका छन्। यद्यपि, जनमनबाट मनाउने परम्परा हराउँदै जान थालेको गौशाला–१२ कालीपुरकी बासिन्दा  पवनदेवी महतोले पनि महसुस गरेकी छन्। 

महोत्तरीसहितका मिथिलामा दशैँ पर्वलाई दशहारा भनिन्छ। यस पर्वमा पहिलो दिन घटस्थापनासँगै शुरू हुने नवरात्रमा बस्तीका घरघरैज ‘दशैँके  ढोल’ भन्दै चमार नाइकेले बजाउने ढोल र राति महिलाले सामूहिक रूपमा गीत गाउँदै नाचिने झिझिया नाच्ने गर्थे। दशहारा पर्वको घटस्थापनाकै दिनदेखि नवमीसम्म बस्तीका चमार जातिका अगुवा ठूलो आवाजको नगरा (ढोल) बजाउँदै ‘दशैँके ढोल’ भनेर कराउँदै हिँड्दा ससाना नानीबाबुहरू अघिपछि झुम्मिने गरेका कुरा अब दन्त्यकथाजस्तै भएको बूढापाका बताउँछन्।

बस्तीबस्तीमा दुर्गा प्रतिमा बनाउने र दुर्गामेला आयोजना गर्ने कुरामा नयाँ पुस्ता देखिए पनि पर्वको पुरानो परम्परा ‘झिझिया’ र ‘ढोल’ बिना दशैँ खल्लो लाग्ने गरेको स्थानीय बताउँछन्। “प्रतिमा बनाउने, मेला आयोजना गर्ने त ठिकै छ, मेलामा ढोल बजाउने र झिझिया नाच्ने कार्यक्रम राखे त हुन्थ्यो नि,” औरही–७ भोइलका ७५ वर्षीय मोहन महतो भन्छन्,  “यी कार्यक्रम राखिँदैनन्, बरु लाखौँ खर्चेर कर्कश स्वरका डिजे बाजामा भद्दा नाच नचाइन्छ। यो राम्रो भएन।”

यसैगरी नवरात्र शुरू भएकै दिनदेखि मिथिला क्षेत्रमा घन्कने झिझिया गीत र त्यसको तालमा नाच्ने नृत्यंगनाको समूह पनि अब पातलिँदै गएको छ।  ‘तोहरेलागि झिझिया बनैली हो बरमबाबा...!’ को रागले सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता (ब्रह्मस्थान) स्थलमा पुगेर मिथिलानी (मिथिलाका नारी) हरूले  सुरिलो भाखामा गाउँदै फनफनी आफूलाई घुमाएर नाचेको देखाउने यो प्राचीन तान्त्रिक नृत्य अब देखिन छाडेको छ।

गाउँनगर बस्तीका पाका चमार जातिका अगुवा नयाँ पुस्ताका चमार युवाले पुरानो थिति नअँगालेपछि अब दशैँको ढोल बज्न छाडेको बताउँछन्। “शरीरले साथ दिउन्जेल रमाइलो मानेर ढोल बजाउँथे, अब छोरा/नाति ढोल बजाउन चाहँदैनन्, के गरौँ?” भंगाहा–५ सीतापुरका अछवा राम चमारको गुनासो छ। दलित समुदायभित्रको चमार जातिका नयाँ पुस्ताका किशोर र युवा रोजगारीका लागि भारत र अन्य देश जान थालेपछि पुख्र्यौली रीतिथिति र पेसा थाम्ने कुरा ओझेलमा परेको हो। 

त्यसैगरी असुर प्रवृत्तिविरुद्ध सात्विक व्यवहार र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने दशहारा पर्वमा झिझिया नृत्य मिथिला क्षेत्रको प्रमुख आकर्षण  रहँदै आएको थियो। रामगोपालपुर–२ टेङरका बासिन्दा ७५ वर्षीय गणेशप्रसाद यादव दशैँ लागेपछि प्रत्येक रात बस्तीका महिलाहरू सहभागी हुने झिझिया नृत्य पछिल्ला केही वर्षयता सुनिन छोडेको बताउँछन्। उनी भन्छन्, “मनोरञ्जनका हाम्रा आफ्नै समृद्ध परम्परा छन्, यी अहिले मेटिने अवस्थामा पुगेका छन्, पछिल्ला पुस्ताले यस कुरामा ख्याल गर्न पर्‍यो।”

झिझिया गीतमा देवी दुर्गाको प्रार्थना, बोक्सी भनिने दुष्ट आत्मालाई गाली र सन्तानको कल्याण एवं दीर्घायुको कामनाको भाव हुन्छ। पुरानो यो लोकसंस्कृति कायम राख्न अब यसलाई समयअनुसार परिष्कृत गर्दै अघि बढ्नुपर्ने धेरैको सुझाव छ।