नुवाकोटमा प्राची डंगोल नयाँ कुमारी चयन

नुवाकोटमा प्राची डंगोल नयाँ कुमारीको रूपमा चयन भएकी छन्।

नुवाकोट- नुवाकोटमा प्राची डंगोल नयाँ कुमारीको रूपमा चयन भएकी छन्। जीवित देवीको रूपमा पुजिने कुमारीलाई तलेजु भवानीको स्वरूप मानिन्छ।

पहिलो रजस्वलापछि नयाँ कुमारीको चयन गर्ने परम्पराअनुसार यस पटक लामो अन्तरालपछि तान्त्रिक विधिमार्फत भैरवी मन्दिर परिसरमा नवकुमारीको आसन गराइएको हो। नुवाकोट कुमारी संरक्षण समितिका अध्यक्ष गौतममान डंगोलले औपचारिक रूपमा कुमारीको चयन गरी विधिवत् पूजाआजालाई सुचारु गरिएको बताए। नुवाकोटमा डंगोल समुदायबाट कुमारी चयन गर्ने गरिन्छ।

null

दशैँ अवधिभर बिहान ७ बजेदेखि ९ बजेसम्म भैरवी मन्दिर परिसरको शीतल पाटीमा कुमारी दर्शनको व्यवस्था मिलाइएको डंगोलले जानकारी दिए। नुवाकोटमा वर्षमा तीन पटक, दशैँ, नुवागी र भैरवी जात्राका बेला कुमारीलाई निकालिन्छ। प्राची नुवाकोटकी नवौँ कुमारी हुन्। यसअघि दिनिशा डंगोल कुमारी थिइन्। यसै अवसरमा नुवाकोटका भूतपूर्व कुमारीहरूको पूजा तथा सम्मान पनि गरिएको थियो।