‘संकटकै बेलामा मिथ्या सूचनाको बाढी आउँछ’

‘इन्टरनेट, सामाजिक सञ्जाल आएसँगै मिथ्या सूचना फैलिने गति अझ बढेको मात्रै हो। तर, यो अहिलेको मात्र समस्याजस्तो देखिए पनि सामाजिक सञ्जाल नहुँदा पनि मिथ्या सूचना फैलिरहेकै थियो।’

समाचार र सूचनाको सत्य-तथ्य निरूपण तथा त्रुटि पहिचानमा जोडिएर अब्बल ‘फ्याक्ट-चेकर’को नाम बनाएका उमेश श्रेष्ठ ‘सालोक्य’ हाल मूलधारको पत्रकारिता बाहिर रहेर पनि सन् २००५ देखि ‘माइसंसार डट कम’ ब्लगमार्फत उत्तिकै चर्चित छन्। विगतमा ‘पहिलोपोस्ट’का सम्पादक रहिसकेका श्रेष्ठले ‘हु किल्ड निर्मला’ शीर्षकमा निर्मला पन्तको हत्या छानबिनसम्बन्धी अनुसन्धानमूलक शृंखला चलाएका थिए, जुन अनुसन्धानमूलक पत्रकारिताको मानक मानिन्छ। हालैको ‘जेनजी’ आन्दोलनका क्रममा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलिएको मिथ्या सूचना र नियामक निकायको अन्योलबारे उकालोकर्मी प्रबिता श्रेष्ठले उमेश श्रेष्ठसँग गरेको कुराकानीः

मिथ्या सूचनाको यति धेरै प्रयोग किन हुन्छ, यसको प्रभाव कस्तो होला?
मिथ्या सूचना परम्परागत रूपमा चल्दै आएको ट्रेन्ड हो, यो चलिरहेकै छ। उदाहरणका लागि, महाभारतमा कहिले झूटो नबोल्ने भनिएका युधिष्ठिरले द्रोणाचार्यका छोरा अश्वत्थामाको निधन, रामायणमा एक धोबीले सीताको चरित्रमाथि उठाएको प्रश्नसँगै दिनुपरेको अग्निपरीक्षा सबै मिथ्या सूचनाका प्रकार हुन्।

इन्टरनेट, सामाजिक सञ्जाल आएसँगै मिथ्या सूचना फैलिने गति अझ बढेको मात्रै हो। तर, यो अहिलेको मात्र समस्याजस्तो देखिए पनि सामाजिक सञ्जाल नहुँदा पनि मिथ्या सूचना फैलिरहेकै थियो।

विगतमा ऋतिक रोशन काण्ड (२०००) हेर्न हो भने पनि त्यतिबेला सामाजिक सञ्जाल थिएन। ‘नेपालबारे भारतको अभिनेताले यस्तो भन्यो रे’ भनिएकै आधारमा त्यत्रो विध्वंस मच्चियो, मानिस मरे। बरु त्यसबेला सामाजिक सञ्जाल भएको भए त्यत्रो क्षति हुँदैन थियो होला। ऋतिक रोशनले आफ्नो सामाजिक सञ्जालबाटै हल्लाको तत्कालै स्पष्टीकरण दिन्थे होलान्। यसकारण मिथ्या सूचना फैलाउन सामाजिक सञ्जाल मात्रै दोषी छ भन्न मिल्दैन।

त्यसो भए, अहिले डिजिटल दुनियाँलाई सामाजिक सञ्जालले भ्रमित वा मार्गनिर्देश के गरिरहेको छ?
सोसल मिडियामा नराम्रो मात्रै छ भन्ने पक्षमा म छैन। यो आन्दोलन केही अघि भएको भए सायद अहिले जसरी सामाजिक सञ्जालमा भिडियो आउँदैन थिए होलान्। ती भिडियो मात्र होइनन्, प्रमाण पनि हुन्। नत्र वरपरका सीसीटीभीमा मात्र हुन्थ्यो होला। अहिले हरेक मानिसले खिचेका अनि सञ्जालमा राखेका भिडियो सार्वजनिक रूपमै उपलब्ध हुन्छ नै जुन डेटाबेसमार्फत खोजेर पत्ता लाग्न सकिन्छ। हरेक कुरामा राम्रो र नराम्रो दुवै पक्ष हुन्छ, हामीले राम्रोलाई पछ्याउने हो।

उसो भए, मिथ्या सूचनाबाट कसरी बच्ने त?
अन्य समयको तुलनामा संकटका बेलामा मिथ्या सूचनाको बाढी आउँछ नै। यस्तो बेलामा प्रयोगकर्ता पनि सचेत हुनुपर्छ। यसका लागि हामीले सूचना साक्षरता बढाउनुपर्छ। यस्तो बेलामा रिस, आक्रोश, आशा अथवा गौवान्वित गराउने खालका सूचना बढी फैलन्छन्। पुष्टीकरण पूर्वाग्रह (कर्न्फमेन्स बायस), इमोसनल–अपिल लगायतका यावत् कारण मानिसलाई धेरै मिथ्या सूचना सही लाग्न सक्छन्। त्यस्तोमा मानिसले आफ्नो विवेक प्रयोग गरिहाल्दैनन्। अनि मिथ्या सूचनाको पछि लाग्छन्, फैलाउँछन्। 

यस्तोमा आफूले पढिरहेको समाचार, सूचनालाई शंकाको दृष्टिकोणले पनि हेर्नुपर्छ।

null

युट्युबमा पनि टेलिभिजनका अनेक समाचार आउँछन्। तर टेलिभिजनका समाचारभन्दा थम्बनेलमा उत्तेजक शीर्षक, दृश्य, समाचार पढेको शैलीमा पढिने युट्युब समाचारमा बढी भ्युज आइरहेका हुन्छन्। अहिले ज्येष्ठ नागरिकको पहुँच पनि युट्युबमा छ। उनीहरूलाई त्यही सामग्रीलाई समाचार भन्ठान्छन्।

रिपोर्टिङ गरेका हिसाबले निर्मला पन्त बलात्कार तथा हत्या काण्डमा पनि निकै मिथ्या सूचना आए। म आफै फिल्ड रिर्पोटिङ गएपछि मात्र थाहा भयो मैले लेखेका, सुनेका कतिपय कुरा गलत रहेछन् भन्ने। मिथ्या सूचनाकै कारण मान्छेको मृत्युसम्म भयो निर्मला हत्या काण्डमा। निर्मला पन्तको हत्यारा अहिलेसम्म समात्न नसक्नुको एउटा कारण मिथ्या सूचना पनि हो।

सञ्चार क्षेत्र मिथ्या सूचना प्रवाहबाट कसरी बच्न सक्छ?
प्रथमतः स्रोतले दिएको सूचना भेरिफाइ(पुष्टि) हुनुपर्छ। कहिलेकाहीँ सरकारले दिएको सूचना पनि गलत हुनसक्छ। सरकारले आफ्नै हितका लागि त्यस्तो गर्ने गर्छ। देशको सीमाबाहिर पक्राउ परेको दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले राति नै सूचना जारी गर्‍यो। जबकि, अर्को दिन पक्राउ परेको सूचना प्रकाशित गर्‍यो।

झलनाथ खनालकी श्रीमतीको मृत्युको सूचना अहिलेको सबैभन्दा बढी फैलिएको मिथ्या सूचना हो। सो समाचार हाम्रो सरकारी न्युज एजेन्सी राससले दिएको थियो। धेरै अनलाइनले त्यसैलाई साभार पनि गरे। भारतीय मिडियासमेतले त्यसरी नै प्रवाह गरे। यस्तो अवस्थामा उपचाररत अस्पतालको आधिकारिक भनाइ (कोट)मा विश्वास गर्ने कि नेता, नातेदार, परिवारको?

यो हतार र संकटका बेलामा कहीँकतैबाट मिथ्या सूचनाको फ्याक्ट चेकिङ नभएको वा नदेखिएको हो? यो अवस्थालाई कसरी बुझ्नुपर्ला?
फ्याक्ट चेकिङ नभएको होइन। तर, मिथ्या सूचनाको बाढी यति आयो कि सीमित जनशक्तिले कति चेकजाँच गर्ने त्यो कुरा पनि आउँछ।

फ्याक्ट चेकिङ गर्ने अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल फ्याक्ट चेकिङ नेटवर्क (आईफसीएन) छ। नेपालबाट फ्याक्ट चेक नेपाल एक मात्र त्यहाँ आबद्ध नेपाली संस्था हो। छिमेकी मुलुक भारतबाट पनि धेरै त्यसमा आबद्ध छन्। अहिले टेकपाना नामक अनलाइन न्युजर्पोटलले फ्याक्ट चेकिङ गरिरहेको छ। तर, यी दुईले यति धेरै मिथ्या सूचनाको फ्याक्ट चेक गर्न सक्लान्?

फ्याक्ट चेकिङ प्राविधिक विषय हो। प्रमाण नभए सही वा गलत भन्न गाह्रो हुन्छ। विष्णु पौडेलले कुटाइ खाएको विषय पौडेलले, “मैले कुटाइ खाएको होइन” भन्दैमा मात्र प्रमाणित हुँदैन। प्रधानमन्त्री सुशीला कार्कीले ‘बंगारा झार्नुपर्छ’ भनेको कुरा प्रमाण छ/छैन थाहा हुनुपर्छ। फ्याक्ट चेकिङ मिथ्या सूचनाको काउन्टर होइन। फ्याक्ट चेकिङ भनेको मिथ्या सूचनाले बढी क्षति नगरोस् भनेर गर्ने काम हो।

अर्को कुरा, प्रयोगकर्ताले सही कुरा थाहा भएपछि पनि सही सूचना फैलाउने अग्रसर देखिँदैन। तर, गलत कुरालाई ‘इमोसनल टिगर’ भएर पनि होला धेरै फैलाउँछन्।

पाठक आफैले पनि मिथ्या सूचना कुन हो कुन होइन भनेर छुट्याउन सक्ने केही आधारभूत तरिका होला?
प्राविधिक पाटोलाई छाडेर मिथ्या सूचनाको पहिचान गर्ने केही आधारभूत तरिका छन्। जस्तो आएको सूचनाले एकदम रिस उठ्यो, घृष्णा जाग्यो अथवा गौरवान्वित महसुस भयो भने त्यो पोस्ट क्लिक, लाइक, शेयर गर्नुअघि सोच्नुपर्छ। यस्ता सूचना कसले दिइरहेको छ भनेर पनि सोच्नुपर्छ। इन्फ्लुयन्सरले कति मिथ्या सूचना फैलाए त्यो पनि उदाहरण हो।

मिडिया साक्षरताको कुरामा फरक पर्छ, मिडियाकै विषयमा पनि साक्षरता आवश्यक छ।

null

अनलाइन न्युजर्पोटल यति धेरै छन्, आजकल कुनै वेबसाइटको डोमेन दर्ता गर्न केही गाह्रो छैन। बाइलाइन नभएका समाचारमा, स्रोत नभएको समाचारमा विश्वास गरिहाल्न हुँदैन। त्यस्तै, समाचारको शीर्षक पनि हेर्नुपर्‍यो। शीर्षक र समाचार मिल्छ/मिल्दैन त्यो अर्को कुरा हो।

फेक न्युज भनेको के हो?
‘फेक न्युज’ शब्द अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक राष्ट्रपति हुँदा त्यहाँका मिडियालाई गाली गर्ने सन्दर्भमा प्रयोग गरेका थिए। नेपालमा पनि ‘फेक न्युज’ भन्ने गरिन्छ। फेक न्युज भनेर नेताहरूले मिडियालाई अविश्वसनीय बनाउने प्रयोग गर्ने हतियार हो। आफूलाई मन नपर्ने जति सबै फेक न्युज भनेर नेताहरूले मिडिया डिस्क्रेडिट(अविश्वसनीय) गर्ने काम हो।

पत्रकारिताको सिद्धान्तअनुसार कुनै पनि गलत सूचना समाचार होइन। गलत हो भने त्यो समाचार बन्दैन। यसकारण फेक न्युज भन्ने शब्द हुँदैन। बेलायती सरकारले सन् २०१८ मा ब्यान्ड (निषेध) गरेको शब्द हो। युनेस्कोले पनि यो शब्द प्रयोग नगर्न भनेको छ।

फेक न्युजको सट्टा सूचनाको चलखेल, मिथ्या सूचना वा अंग्रेजीमा ‘इनफोरसमेन डिसअर्डर’ भन्न सकिन्छ। यसको छाता शब्दलाई ‘मिसइन्फोरसमेन’ अर्थात् ‘मिथ्या सूचना’ भनिन्छ।

मिथ्या सूचना रोक्न सरकारले कहिले विद्युतीय ऐन, त कहिले मिडिया विधेयक ल्याउन खोजिएको दाबी गरेको पाइन्छ, यो नियमन हो कि नियन्त्रण!
अहिले त नियन्त्रण गर्ने प्रयास भइरहेको छ। मुलुकी ऐनदेखि हालसम्म पनि मिथ्या सूचनासम्बन्धी कानूनहरू छन्। विद्यमान कानूनमै मिथ्या सूचनाका लागि दण्डसजायको व्यवस्था छ। यसका लागि सजाय नै दिनुपर्ने, जेल नै कोच्नु पर्छ भन्नेमा जानु हुँदैन। बरु सूचनाको साक्षरता बढाउनुपर्ने हुन्छ। मिडियाले कसरी काम गर्ने, सोसल मिडियामा मिडियाको पूर्वाग्रह कस्तो छ? सोसल मिडिया ब्यान्ड गर्न खोज्दाको नतिजा अहिले देखियो।

युट्युब, सामाजिक सञ्जालले मिथ्या सूचनाको तीव्र प्रसार गरेको भनिन्छ, वास्तविकता के हो? व्यक्ति र सञ्चारमाध्यमको स्वतन्त्रता यिनै कारण हनन हुने पुगेका हुन्?
इन्फ्लुयसरले गलत सूचना दिए, आमसञ्चार, सोसल मिडियाले मिथ्या सूचना दिए भनेर सामाजिक सञ्जाल ब्यान्ड गर्नुपर्ने स्थिति आयो। तर, प्रश्न प्रयोगकर्ताको रूपमा मात्र नभई सेवाप्रदायको पाटोबाट पनि सम्बोधन हुनुपर्ने देखिन्छ।

तपाईंले जस्तो कन्टेन्ट हेरिरहनुभएको छ सोही अल्गोरिदमको हिसाबमा बाँकी कन्टेन्ट आउनथाल्छ। जस्तो कि, हिंसात्मक वा गलत सूचनामा मानिसहरूको एन्जेगमेन्ट हुन्छ भने त्यही आउन थाल्छ। त्यसमा रोक नै हुँदैन। किनकि फेसबुक, इन्स्टाग्राम अथवा टिकटकलगायतका सञ्जाललाई भ्युज आइरहेको हुन्छ।

हामीले २ माघदेखि यही विषयमा अध्ययन अनुसन्धान गरिरहेका छौँ। हेट स्पिच र हिंसात्मक भिडियोबाहेकका मिथ्या सूचनामा यस्ता सञ्जालले प्रतिक्रिया जनाइहाल्दैनन्। हामीले गरेको रिपोर्टबाट दुई महिनामा जम्मा ३–४ वटा भिडियो मात्र हटाइए।

मतलब नगरेको मान्छे, सामग्री आजकल सबै सामाजिक सञ्जालमा आइरहेको हुन्छ। यसमा धेरै इन्गेजमेन्ट हुने कारण हाम्रो सोसल मिडियामा नोटिफिकेसन आइदिन्छन्। टिकटकको यो अल्गोरिदमलाई अन्य सोसल मिडिया पनि अपनाएका हुन्। मिथ्या सूचना हटाउन यस्ता सोसल मिडिया प्रदायक हाम्रो देशप्रति जिम्मेवार/गम्भीर नभएको देखिन्छ।  

भिडियो :