म्याग्दीका क्याम्पसमा विद्यार्थी संख्या निरन्तर ओरालो

विद्यार्थीहरू कक्षा १२ सकेपछि रोजगारीसँगै आम्दानी गर्ने अवसर खोज्दै ठूला शहरका क्याम्पसमा भर्ना भएर तयारी गर्ने र उच्च शिक्षा पूरा नहुँदै विदेश जाने क्रम बढेको छ।

म्याग्दी– बेनीमा रहेको एकमात्र म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थी संख्या तीन वर्षयता निरन्तर ओरालो लागेको छ।

 सदरमुकाम बाहिर बाबियाचौरको मंगला शिक्षा क्याम्पसमा ११२ र घारको मुक्तिमार्ग क्याम्पसमा ५५ जना विद्यार्थी अध्ययनरत छन्। समुदायस्तरबाट सञ्चालित तीनवटै क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हुन्। विद्यार्थी संख्या कम भएपछि न्यु वेस्ट पोइन्ट फाउन्डेसनले व्यवस्थापन संकायमा सञ्चालन गर्दै आएको स्नातक तहको कक्षा दुई वर्षअघि बन्द गरेको थियो। 

पछिल्लो दुई दशकयताको न्यून जन्मदर, बढ्दो बसाइँसराइ र विद्यार्थी रोजगारीसँगै अध्ययनको अवसर खोज्दै विदेश जाने क्रम बढेपछि निजी क्षेत्रले सञ्चालन गरेको क्याम्पस बन्द तथा समुदायको प्रयासमा सञ्चालन भएका क्याम्पसमा विद्यार्थी संख्या ओरालो लागेको हो। 

म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले स्नातक तहमा नयाँ भर्ना हुने दर घटेको र भर्ना भए पनि अन्तिम वर्षसम्म नटिक्ने बताए। उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा स्नातक तहको मानविकी, व्यवस्थापन र शिक्षा संकायमा भर्ना हुने विद्यार्थीको संख्या ८८५ जना रहेकामा आव २०८०/८१ मा ७०३ र गत वर्ष ५५८ जनामा झरेको छ। 

क्याम्पसमा अध्ययनरत ६२८ जनामध्ये ६४.९७ प्रतिशत छात्रा छन्। विद्यार्थी संख्या कम भए पनि क्याम्पसको उत्तीर्णदर बढेको प्रमुख सुवेदीले बताए। स्नातक तहमा २०७८ सालमा २८.६८, २०७९ मा ३५.२२ र २०८० सालको उत्तीर्णदर ३७.२२ प्रतिशत छ। २०८१ सालको नतिजा सार्वजनिक हुन बाँकी छ। स्नातकोत्तर तहमा सन् २०२३ को परीक्षामा सहभागी १०८ विद्यार्थीले सबै विषय उत्तीर्ण गरेका क्याम्पस प्रमुख सुवेदीले बताए। 

“विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए) पाएको क्याम्पसमा उत्तीर्णदर बढे पनि विद्यार्थी संख्या बढाउन र टिकाउन चुनौती भएको छ,” उनले भने, “विद्यार्थीको संख्यासँगै शुल्कबाट हुने आम्दानी घट्दा क्याम्पस सञ्चालनका लागि स्रोत जुटाउन समस्या भएको छ।”

म्याग्दी क्याम्पसका पूर्वप्रमुखसमेत रहेका समाजशास्त्र विषयका प्राध्यापक गोरखबहादुर जिसीका अनुसार त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त १ हजार ५०० मध्ये १०० भन्दा कम विद्यार्थी रहेका क्याम्पसको संख्या ४०० छ। “५०० देखि माथि विद्यार्थी संख्या हुने सामुदायिक क्याम्पस १०० पनि छैनन्, करिब एक हजार जनाको हाराहारीमा विद्यार्थी हुने ४०–४५ वटा क्याम्पसमध्ये म्याग्दी क्याम्पस पनि एक हो,” उनले भने, “२०७८ सालसम्म एक हजार ४०० को हाराहारीमा विद्यार्थी संख्या भएको क्याम्पसमा विद्यार्थी घट्नुको प्रमुख कारण वैदेशिक रोजगारी नै हो।”

व्यवस्थापन संकायका ३५ विद्यार्थीले एकै वर्षमा जापान अध्ययन गर्न जानका लागि सिफारिसपत्र बनाएको उनले बताए। कक्षा १२ सकेपछि विद्यार्थी रोजगारीसँगै आम्दानी गर्ने अवसर खोज्दै ठूला शहरका क्याम्पसमा भर्ना भएर तयारी गर्ने र उच्च शिक्षा पूरा नहुँदै विदेश जाने गरेको प्राध्यापक जिसीले बताए।  

ग्रामीण क्षेत्रका क्याम्पसमा अध्ययन गर्नेमा विपन्न समुदायका, छोरीबुहारी र जागिरेहरूको संख्या बाहुल्यता छ। म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले छात्रावास, छात्रावृत्तिको सुविधा, उद्यमशीलता प्रवर्द्धन कार्यक्रम, लोकसेवा तयारी कक्षा, प्राविधिकतर्फ कम्प्युटर, विज्ञान विषयको कक्षा सञ्चालन गरेको बताए।  

“राज्यले नै उच्च शिक्षा अध्ययनसँगै रोजगारीको अवसर पाउने वातावरण नबनाए सामुदायिक क्याम्पसहरूमा विद्यार्थीको अभाव कायम रहन्छ,” उनले भने, “उच्च शिक्षाका लागि अन्य सहरमा जाने विद्यार्थीलाई जिल्लाकै क्याम्पसमा टिकाउन समुदाय केन्द्रित र स्थानीय तहसँग समन्वय गरेर अनुसन्धानमूलक परियोजनाको योजना बनाएका छौँ।”