सुदूरपश्चिममा शुरू भयो गौरा पर्व

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ।

अमरगढी– सुदूरपश्चिमको मौलिक पर्व गौरा बिहीबारदेखि विधिवत् रूपमा प्रारम्भ भएको छ। पहिलो दिन व्रतालु बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको शुरूआत गर्ने चलन छ। त्यसैले यस दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ। 

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। गौरादेवीको पूजामा बिरुडा प्रयोग गरिन्छ।

पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा शुरू हुने यसका जानकार खगेश्वरी साउदले बताए। “एक महिनाअघि देखि नै शुद्ध शाकाहार र बह्मचार्यको पालना गर्नुपर्छ,” उनले भने, “बिरुडा भिजाइँदा मांगलिक सगुन फाँग गाउँछौँ।” यो पर्वमा पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लगाउँछन्। 

“गौरा हाम्रो ठूलो पर्व हो पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रूपमा दुवधागो लगाउने गछौँ,” उनले भने, “गौरामा व्रत बसी पूजाअर्चना गर्दा श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि हुने विश्वास छ।” 

आजैदेखि ठाउँठाउँमा देउडा समेत खेल्ने प्रचलन छ। प्राचीनकालदेखि पार्वतीलाई गौरा देवीका रूपमा पूजाअर्चना गर्ने चलन छ ।