हरितालिका: पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ। लाइनमा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्किन सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ।

काठमाडौँ– हरितालिका (तीज) पर्वका अवसरमा बिहानैदेखि  पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो छ। 

पशुपतिनाथको दर्शनार्थीलाई सहज दर्शन गर्न प्रबन्ध पशुपति क्षेत्र विकास कोषले मिलाएको छ। यसका लागि पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले  जानकारी दिए। 

केही भक्तजन भने बिहान ३ बजेअघि नै पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाइनमा बसिसकेका थिए। लाइनमा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने अवस्था रहेको उनले बताए। पशुपति क्षेत्रमा करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटाइएको छ।

पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने लाइनको व्यवस्था गरिएको छ। पशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ। 

कोषका सूचना अधिकारी अनिता भट्टले मूल मूर्तिअघि पुगेपछि दर्शन गरेर भक्तजन बाहिरिने गरी व्यवस्थापन गरिएको जानकारी दिइन्।