शनिबार नै हिन्दू धर्मावलम्बीले वर्षभर घरमा धार्मिक कार्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी र बाबुको मुख हेर्ने पर्व पनि मनाउँदैछन्।
काठमाडौँ– दिवंगत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न काठमाडौँको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा भक्तजनको घुइँचो छ।
बिहानैदेखि वैदिक सनातन हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको छ। गोकर्णमा भक्तजनको भीडका कारण शनिबार बिहानैदेखि सुन्दरीजल–जोरपाटी र बागमती करिडोर भएर गुड्ने सवारीसाधन निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ।
यातायात व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, खोजतलासलगायत सेवा पनि मन्दिर क्षेत्रमा दिइएको गोकर्णेश्वर मेला समितिका संयोजक एवं गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिए। भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ताअघिदेखिका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास रहेको छ।
सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले पितृले मोक्ष प्राप्त गर्ने धार्मिक विश्वासका कारण पनि यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिए।
गोकर्णेश्वरमा आएका भक्तजन भने धार्मिक रूपमा धेरै महत्त्व भए पनि गोकर्णेश्वरमा राम्रो व्यवस्थापन हुन नसक्दा दुःख पाएको बताउँछन्। डोल्पाबाट आएका दर्शनार्थी रणेन्द्र बुढाथोकीले गाडीको असुविधाले मेलामा दुःख पाइएको बताए। “मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर थाहा पाएँ,” उनले भने।
मन्दिरक्षेत्रमा सार्वजनिक जग्गामा घर बनाई बाटो साँघुरो भएकाले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको पनि उनले गुनासो गरे। शास्त्रीय रूपमा महत्त्व रहेको पवित्र तीर्थस्थलको सुव्यवस्थापनमा तीन तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको यहाँ आएपछि थाहा पाएको धेरै भक्तजन बताउँछन्।
यस क्षेत्रमा बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ। एक वर्षभित्र पिताको दिवंगत भएका बौद्धमार्गी यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु डुण्डुप लामाले बताए।
बौद्धमार्गीले आजको दिनमा गोकर्णमा आई दर्शन गरेमा दिवंगत पिताको स्वरूप दर्शन गर्न पाइने विश्वास रहेको उनी बताउँछन्। गोकर्णमा मेला लाग्ने भएकाले यस औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ। पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता छ।
आजैको दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कार्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन्। कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ। त्यसैगरी आफ्ना बाबुलाई मीठो मीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि आज देशभर मनाइँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
