बोडेमा शुरू भयो नीलबाराही नाच

नीलबाराही देवीको तान्त्रिक शक्तिका आधारमा यो नाच नाच्ने र देवगणहरूलाई देवीको शक्ति प्राप्त हुने जनविश्वास रहँदै आएको छ।

भक्तपुर– मध्यपुरथिमि नगरपालिका–८ बोडेमा नीलबाराही नाच शुरू भएको छ। सोमबार मध्यरातमा बोडेको अखा द्यों छेँ अर्थात् देवता घरबाट शुरू भएको नाच तीनदिन चार रातसम्म मनाइन्छ। 

शहरका विभिन्न चोक एवं टोलमा नाचिरहेको र स्थानीयले पूजा गरिरहेको मध्यपुरथिमि नगरपालिका–८ बोडेका वडाध्यक्ष एवं नीलबाराही नाचका संरक्षक रमेश थापा श्रेष्ठले जानकारी दिए। नाच हेर्ने र पूजा गर्नेको घुइँचो लागेको उनको भनाइ छ। 

बिहान नीलबाराही नाचका सबै देवगणलाई स्थानीयले पूजा गर्ने गर्छन्। नीलबाराही देवीको तान्त्रिक शक्तिका आधारमा यो नाच नाच्ने र देवगणहरूलाई देवीको शक्ति प्राप्त हुने जनविश्वास रहँदै आएको छ। 

मध्यपुरथिमि–७ नगदेशमा तान्त्रिक शक्ति रहेको भैलः प्याखँ (भैरव नाच) पनि प्रदर्शन भइरहेको छ। गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया)देखि पञ्चमीसम्म चार रात मध्यपुरथिमिमा भैरव नाच प्रदर्शन हुनेछ। उक्त नाच १२ वर्षपछि मनाउने चलन छ। 

भैलः प्याखँमा न्हापाँ र लिपाँ गरी दुई जना भैलः, न्हापाँ र लिपाँ गरी दुई जना दाँगी र एक जनाज्यापुंगको भेषमा नाचिन्छ। धाँ, मुहालीलगायतका बाद्यवाधक एवं सहयोगीसमेत गरी १०० जनाभन्दा बढीको समूह सक्रिय छन्।

नगदेश ऐतिहासिक सांस्कृतिक भैलः पुचःले आयोजना गरेको भैलः प्याखँमा यस वर्ष नगदेशका विभिन्न क्षेत्रमा र टोलमा भैरव नाच प्रदर्शन गरिन्छ। 

यस्तै, सोमबार रातिदेखि मध्यपुरथिमि –५ पोबुटालबाट सलचा प्याँख अर्थात् घोडा नाच प्रदर्शन गरिएको छ। चार रातसम्म प्रदर्शन हुने यो नाच भुलाखेल, द्धिगुटोल, बालकुमारी, चपाचालगायत क्षेत्रमा प्रदर्शन हुनेछ। 

मध्यपुरथिमिका तीन ठूला शहरमा रातभर चार दिनसम्म विभिन्न देवीदेवताको नाच प्रदर्शन हुनेछ।