एलएलडीसी सम्मेलन: सहयोग र साझेदारी विस्तारमा नेपालको जोड

स्मार्ट पूर्वाधारको निर्माण, राजमार्ग र रेलवे विस्तार, व्यापारिक मार्ग निर्माण र हरित ऊर्जा, कोरिडोर निर्माणमार्फत सीमापार सम्पर्क विस्तारमा नेपालले काम गरिरहेको प्रधानमन्त्री ओलीले बताएका थिए।

काठमाडौँ– भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको तर्फबाट आपसी सहयोग र साझेदारी विस्तारमा जोड दिइएको छ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई विकास साझेदारले थप सहयोग गर्नुपर्नेमा नेपालजस्ता देशले आवाज उठाएको परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।  

प्रधानमन्त्री ओलीले भूपरिवेष्टित मुलुकको विकास र समृद्धिका लागि भूपरिवेष्टितबाट भूजडित, पारवहन निर्भरबाट व्यापार प्रतिस्पर्धी र जलवायु संकटापन्नबाट जलवायु प्रतिरोधी मुलुकका रूपमा रूपान्तरणका लागि आवाजा कार्यक्रम एउटा कोशेढुंगा सावित हुने परराष्ट्रसचिव अमृतबहादुर राईले जानकारी दिए। 

स्मार्ट पूर्वाधारको निर्माण, राजमार्ग र रेलवे विस्तार, व्यापारिक मार्ग निर्माण र हरित ऊर्जा, कोरिडोर निर्माणमार्फत सीमापार सम्पर्क विस्तारमा नेपालले काम गरिरहेको सम्मेलनमा प्रधानमन्त्री ओलीले बताएका थिए। 

प्रधानमन्त्री ओलीले नेपालको विकास यात्रामा थप सहयोग गर्न छिमेकी मुलुक, विकास साझेदार तथा दातृ निकायलाई आह्वानसमेत गरेको मन्त्रालयले जनाएको छ।