यो साता उकालोमा पर्सामा प्रशासन र प्रहरीको ‘असुली अभियान’, नियुक्तिमा पूर्वकर्मचारीको मरिहत्ते, संसद्मा विधेयक अड्किएका अड्कियै, क्यान बैठकमा बबन्डरलगायतका शीर्षकका समाचार चर्चामा रहे।
न्यूजलेटर शुरू गरौँ, भारत पुर्याएर मिर्गौला झिकिएको समाचारबाट। सिन्धुलीको दुधौली नगरपालिका–१ खिलबहादुर भुजेलको भारत पुर्याएर मिर्गौला झिकिएको खबर अहिले चर्चामा छ। मजदुरी गर्ने भुजेललाई राम्रो जागिरको प्रलोभन देखाएर गिरोहले सुनौली नाका हुँदै भारतको चण्डीगढ पुर्याएको थियो।
त्यहाँ एक महिनासम्म अपार्टमेन्टमा राखेर मेडिकल जाँच गराएपछि मिर्गौला दिन दबाब दिइयो। शुरूमा भुजेलले इन्कार गरे। त्यसपछि भने सबै खर्च बेहोर्नुपर्ने धम्की दिएर मिर्गौला निकालिएको खुलेको छ।
भुजेल वर्षौंदेखि सडक निर्माणमा मजदुरी गर्थे। अन्तिम पटक काठमाडौँमा काम गरिरहेका उनी पोखरा काम गर्न पुगेका थिए। भुजेलले भाउजू सीतालाई सुनाए अनुसार, पोखरामा सडक बनाउने काम गर्दा सडकमै पाल टाँगेर सुत्थे। त्यही क्रममा एक जना व्यक्तिले राम्रो काम लगाइदिने आश्वासन दिएर गत जेठमा भारत पुर्याका हुन्।
प्रहरीसमक्ष उनले दिएको बयान अनुसार डरत्रास देखाए साउन ९ गते चण्डीगढको एक क्लिनिकमा बायाँ मिर्गौला निकालिएको थियो। मिर्गौला निकालेबापत ६ लाख रुपैयाँ दिने भनिए पनि उनलाई पैसा नदिई साउन १५ गते नेपाल फर्काइएको थियो।
शनिबार कलंकीमा झरेका खिलबहादुर रातभर हिँडेर पहिले सँगै मजदुरी गर्ने साथीलाई भेट्न पुगे। खिलबहादुरले सीतालाई सुनाएअनुसार, साथीले घर सम्मको टिकट काटेर हातमा एक हजार ५०० रुपैयाँ हालिदिएपछि उनी घर पुगेका थिए। यसबारे विस्तृतमा पढ्नुहोस् सागर बुढाथोकीको रिपोर्ट– भारत पुर्याएर मिर्गौला झिकियो, नेपाल आउँदासम्म थाहा पाएनन्
भुजेल परिवारले दिएको उजुरीका आधारमा काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–१० का राजकुमार परियार (३५), नुवाकोट बेलकोटगढी नगरपालिका–९ का समीर नेपाली (२४) र सोही नगरपालिका वडा नम्बर ४ राकेश नेपाली (४७)लाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ।
यो घटनामा रोचक त के छ भने, पक्राउ गरेका समीर पहिले भारतमा गएर आफै मिर्गौला बेचेका व्यक्ति हुन्। पछि उनी यही गिरोहमा रहेर काम गर्न थालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनले नै राकेश नेपालीलाई साथ लिएर मिर्गौला तस्करीको धन्दालाई अगाडि बढाएको पाइएको ती अनुसन्धान अधिकारी बताउँछन्। विस्तृतमा पढ्नुहोस्, बीपी अनमोलको रिपोर्ट– पहिले आफ्नो मिर्गौला बेचे, पछि आफू नै त्यो गिरोहमा जोडिए
उकालोमा प्रकाशित अर्को चर्चामा रहेको समाचार भाषा आयोग सदस्यमा तीन वर्षदेखि एउटा कृष्णप्रसादको ठाउँमा अर्कै कृष्णप्रसादले नियुक्ति पाएको विषय हो। मन्त्रिपरिषद् बैठकले २०७९ असार २१ गते भाषा आयोगको सदस्यमा प्राडा कृष्णप्रसाद न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको थियो। त्यसपछि न्यौपानेको फेसबुकको ‘टाइमलाइन’ र ‘मेसेज बक्स’मा धमाधम बधाई सन्देश आए। फोन उठाउन भ्याइनभ्याइ भयो।
प्राडा न्यौपाने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नियुक्तिपत्रका लागि बोलावट हुने पर्खाइमा थिए। तर चिठ्ठी कुर्दाकुर्दै तीन वर्ष बित्यो, न्यौपानेले कुनै जानकारी पाएनन्। शंखमुलस्थित भाषा आयोग कार्यालयमा र कृष्णप्रसाद न्यौपानेको ‘नेमप्लेट’ झुन्डिएको छ। तर ती व्यक्ति मन्त्रिपरिषद्ले नियुक्त गरेका प्राडा न्यौपाने होइनन्। बरु उनी प्राडा न्यौपानेकै गाउँठाउँका हुन्।
दुवैको नाम, जिल्ला, पालिका र वडासम्म मिल्छ, तर व्यक्तिको अनुहार र योग्यता मेल खाँदैन। उनीहरू दुवै स्याङ्जास्थित कालिगण्डकी गाउँपालिका–५ का हुन्। मन्त्रिपरिषद्ले प्राडा न्यौपानेको नाममा निर्णय गर्दा स्याङ्जास्थित भगवती माविमा अध्यापन गराइरहेका न्यौपानेले नियुक्तिपत्र पाए। पढ्नुहोस् आदित्य नेपालको यो रिपोर्टिङ :भाषा आयोग सदस्यमा तीन वर्षदेखि अर्कै कृष्णप्रसाद न्यौपाने
साताका प्रमुख हेडलाइन:
देश-समाज
नियुक्तिमा पूर्वकर्मचारीको मरिहत्तेः धेरै पेन्सन र अतिरिक्त सुविधाको लोभ
निजामतीमा ‘कुलिङ अफ पिरियड’को विषय पेचिलो बन्नुको चुरो अवकाशलगत्तै आकर्षक पारिश्रमिक र सुविधासहित पाउने नियुक्ति मात्र होइन, त्यहीकारण ह्वात्तै बढ्ने निवृत्तिभरणको रकमसँग पनि जोडिएको छ।
भिजिट भिसामा सेटिङः नेपालमा कडाइपछि धमाधम भारतको बाटो
नेपालमा भिजिट भिसामा हुने सेटिङबारे अख्तियारले अनुसन्धान थालेपछि मानव तस्करहरूले नेपालीलाई खाडी मुलुक तथा युरोप पुर्याउन भारतको बाटो प्रयोग गरिरहेका छन्।
सहकारीको पैसा तिर्न देवीप्रकाश भट्टचन समूहलाई प्रभु मेनेजमेन्टको सार्वजनिक ताकेता
प्रभु मनी ट्रान्सफरको एजेन्ट बन्न सहकारीबाट उठाएको पैसा व्यवसायमा लगाएका देवीप्रकाश भट्टचन र उनको समूहलाई रकम फिर्ता गर्न ताकेता गर्दै प्रभु मेनेजमेन्टले कानूनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
पर्सामा प्रशासन र प्रहरीको ‘असुली अभियान’: बेकसुर नागरिकलाई पक्रिँदै, थुन्दै
जिल्ला प्रशासन तथा प्रहरी कार्यालयको गैरकानूनी गतिविधिले भ्रष्टाचार र तस्करी मात्र मौलाएको छैन, पर्साका नागरिकले सास्तीसमेत पाएका छन्। प्रशासनले बिनाकारण पनि थुनामा राखेर स्थानीयलाई आतंकित बनाएको छ।
संसद् चलेकै छ, विधेयक अड्किएका अड्कियै
प्रतिनिधिसभाको पाँच वर्षको अवधि आधा बितिसक्दा बजेट सम्बन्धीबाहेक मात्र २४ वटा कानून बनेका छन्। जबकि, संविधान जारी हुँदा तीन वर्षभित्र बनाइसक्ने भनिएका कतिपय कानून लामो समयदेखि संसद्मै अल्झिएका छन्।
एनपीएल अनियमितताः क्यान बैठकमा बबन्डर, पारसले बुझाएको हिसाबमै ‘गोलमाल’
भ्रष्टाचार र अपारदर्शी खेल भएको एनपीएलको पहिलो सिजनबारे प्रश्न उठिरहँदा क्यानसचिव पारस खड्काले बोर्ड बैठकमा बुझाएको हिसाब–विवरणले थप प्रश्नहरू उब्जाएको छ।
विचार-टिप्पणी
‘किड्नी किङ’ अमितकुमार र काठमाडौँ कनेक्सन
किड्नी बेच्नेलाई ७५ हजारदेखि डेढ लाख भारु तिर्ने उनले प्रत्यारोपण गरेका बिरामीबाट चार देखि आठ लाख भारु असुल्थे। उनले काठमाडौँमै पनि किड्नी प्रत्यारोपण केन्द्र खोल्ने तयारी गरेको समाचार आएका थिए।
कालोकुत्ता मियाँ र छोटु सतार थिए गिरीबन्धु जमिनका मालिक
यो सबै जालझेल जन्माउने एक शासक थिए, भैरवप्रसाद आचार्य। कालोकुत्ताले मालपोत नतिरेको किर्ते बात बढाएर मालअड्डाका सुब्बा आचार्यले त्यो जग्गा–जमिन हत्याए र कौडीको मोलमा शमशेर गिरीलाई बेचिदिए।
भागेका ललित, प्रश्नमा पारस
भस्मासुर जमात एनपीएल नै बिथोल्ने ध्याउन्नमा छ, यसका लागि यथाशीघ्र पारसको क्रिकेट सत्ता ढाल्न चाहन्छ। मन्त्री यिनै भस्मासुरहरूको चंगुलमा छन्, यथाशीघ्र छानबिनभन्दा पनि एनपीएल रोक्न लागिपरेका छन्।
उपचारमा डाक्टर छनोट: पाकाको अनुभव कि युवाको प्रविधि?
पाका र अनुभवी डाक्टरको सबैभन्दा ठूलो शक्ति तिनको लामो अनुभव र खारिएको सीप हो। बिरामीको कुरा सुनेर र कतिपय अवस्थामा मनोदशा पढेर उनीहरू रोगको गहिराइ अनुमान लगाउन सक्छन्।
सम्भ्रान्तको भोज-मोजको जलवायु मूल्य
जलवायु परिवर्तनको समाधान केवल प्रविधिमा छैन। यसको समाधान सामाजिक न्यायमा छ, जसबाट उत्सर्जन गर्ने र असर भोग्नेबीचको असमानता अन्त्य गर्न सकियोस्।
अन्तर्वार्ता
‘विपिन जोशीबारे शायद हमाससँग पनि उत्तर छैन होला’
‘विपिन जोशीको सरोकारमा जोडिएर आगामी साता विपिनकी आमा र बहिनी इजरायल आउँदै हुनुहुन्छ। उहाँहरूलाई यहाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गराउने पहल भइरहेको छ।’
कला/ जीवनशैली
‘किसुनजी र केपी ओली हामीलाई जित्ने कमेडियन हुन्’
‘मलाई के लाग्छ भने कमेडियनले पनि आफ्ना लागि लक्ष्मण रेखा कोर्नुपर्ने हुन्छ। कमेडियनको पनि निजी सम्पादकीय र आचारसंहिता हुनुपर्छ।’
खेल
एनपीएल अक्सनमा १५० खेलाडी छनोट, ८ खेलाडी ‘ए’ श्रेणीमा
नेपाल प्रिमियर लिग सिजन २ का लागि १५० खेलाडी अक्सनमा छनोट भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार विज्ञप्ति जारी गर्दै १५० जना खेलाडीको सूची सार्वजनिक गरेको हो।
क्यानका अनुसार एनपीएल अक्सनका लागि ४५८ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए। ती मध्येबाट क्यानको प्राविधिक समितिले तयार पारेको मापदण्डअनुसार अक्सनका लागि छनोट गरिएको हो।
अक्सन साउन २४ गते हुँदै छ। छनोटमा परेका १५० खेलाडीलाई विभिन्न श्रेणी (क्याटेगोरी)मा विभाजन गरिएको छ। जसअनुसार क्याटेगोरी ‘ए’मा ८ जना, ‘बी’मा ३५ तथा ‘सी’मा १०७ खेलाडी रहेका छन्।
क्याटेगफरी ‘ए’मा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल आलम, सूर्य तामाङ र सुनम गौतम रहेका छन्।
विश्व
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मदुरोमाथिको इनाम ५ करोड डलर पुर्यायो
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई संघीय लागुऔषध तस्करीको आरोपमा पक्राउ गर्नका लागि दिइने इनाम दोब्बर गरी पाँच करोड डलर पुर्याएको छ। यसलाई भेनेजुएलाको सरकारले ‘दयनीय’ र ‘हास्यास्पद’ भनेर कडा शब्दमा आलोचना गरेको छ।
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले सामाजिक सञ्जालमा एक भिडियोमार्फत यो घोषणा गर्दै भने, “मदुरो विश्वका सबैभन्दा ठूला लागुऔषध तस्करमध्ये एक हुन् र हाम्रो राष्ट्रिय सुरक्षाका लागि खतरा हुनुहुन्छ।” यसअघि जनवरीमा यो इनाम दुई करोड ५० लाख डलर तोकिएको थियो।
उत्तरकाशीमा बादल फाट्दा १०० भन्दा धेरै मानिस हताहत भएको आशंका: एनडीआरएफ
भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा पर्ने धरालीमा मंगलबार बादल फाटेर अचानक आएको बाढीमा परेर एक सयभन्दा धेरै मानिस हताहत भएको अनुमान त्यहाँको राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ)ले गरेको छ।
बाढीमा परेर ४ जनाको मृत्युको पुष्टि भइसकेको छ। घटनापछि राहत र उद्धार कार्य जारी छ। यसमा प्रहरी, भारतीय सेना, स्थानीय प्रशासन, एनडीआरएफ लगायतको टोली समावेश छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
