संघीय अस्पतालमा स्वास्थ्य उपकरणको लेखा परीक्षण अनिवार्य

संघीय अस्पतालहरूमा उपकरणको यकिन विवरण नहुँदा र धेरै उपकरण बिग्रिएर थन्किएको पाइएपछि स्वास्थ्य मन्त्रालयले अब ती उपकरणको अनिवार्य लेखा परीक्षण गर्ने निर्णय गरेको छ।

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सबै संघीय अस्पतालका स्वास्थ्य उपकरणको अनिवार्य लेखा परीक्षण गर्नुपर्ने निर्णय गरेको छ। अस्पतालमा रहेका उपकरणको यकिन विवरण नभएको र धेरै उपकरण बिग्रिएर थन्किएको पाइएपछि मन्त्रालयले यो कदम चालेको हो।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उपकरण व्यवस्थापनमा विशेष चासो देखाउँदै बिग्रिएका उपकरणको मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएका थिए। यस क्रममा सामान्य खर्चमा मर्मत गर्न सकिने थुप्रै उपकरण अस्पतालमा प्रयोगविहीन अवस्थामा थन्किएको पाइएको थियो। यही अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले उपकरणको लेखाजोखा सुनिश्चित गर्न लेखा परीक्षणको प्रक्रिया अघि बढाएको हो।

गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका प्रमुख डा. सरोज शर्माका अनुसार, तीन वर्षदेखि यस्तो प्रयास चलिरहे पनि हालको निर्णयले लेखा परीक्षणलाई स्पष्ट रूपमा अनिवार्य गरेको छ।

डा. शर्मा भन्छन्, “सामान्य मर्मत गर्न सकिने उपकरण पनि बेवास्ताका कारण थन्किएका छन्, यसले नयाँ उपकरण खरिदमा अनावश्यक खर्च बढाएको छ।” अडिटको व्यवस्था लागू भएपछि उपकरणको अवस्था, मर्मतको आवश्यकता, सुरक्षा तथा स्टक व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको उनको भनाइ छ।

झन्डै २४ करोड रुपैयाँ बराबरका बिग्रिएका उपकरणलाई राष्ट्रिय आविष्कार केन्द्रले २३ लाख रुपैयाँमा मर्मत गरेको विवरण मन्त्रालयलाई उपलब्ध गराएको थियो।

यसबाट ठूलो मात्रामा आर्थिक बचत हुने देखिएको छ। अधिकारीहरूका अनुसार, यो व्यवस्थाले अस्पतालमा उपयोगमा नरहेका तर अन्यत्र आवश्यक पर्ने उपकरणहरूको पुनर्वितरणमा समेत सहजता ल्याउनेछ।