मनाङमा राम्रो खेतीपातीको कामनासहित मनाइँदै ‘यार्तुङ’ पर्व

खेतीबाली लगाइसकेपछि किसानको थकान मेटाउन र राम्रो उत्पादनको कामनाका लागि ‘यार्तुङ’ अर्थात् घोडेजात्रा पर्व मनाउने चलन छ।

मनाङ– हिमाली जिल्ला मनाङमा सोमबारदेखि ‘यार्तुङ’ अर्थात् घोडे जात्रा पर्व शुरू भएको छ। यो पर्व ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनाका साथ मनाइन्छ। वर्षायाममा पर्ने यस पर्वमा विशेषगरी घोडा कुदाउने गरिन्छ। खेतीबाली लगाइसकेपछि किसानको थकान मेटाउन र राम्रो उत्पादनको कामनाका लागि यो पर्व मनाउने चलन छ।

यार्तुङ पर्व माथिल्लो मनाङको मनाङ गाउँ, खाङ्सार, पिसाङ, भ्राका, हुम्डे र सदरमुकाम चामेसम्म मनाइन्छ। यो पर्व पाँच दिनसम्म चल्छ। ट्याङ्की, मनाङ समाज र ङिस्याङ युवा क्लबको आयोजना तथा नेपाल प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ट्याङ्की मनाङ पर्यटन व्यवस्थापन उपसमितिको समन्वयमा यसको आयोजना हुँदै आएको छ।

पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार, यस पर्वमा विशेषगरी लामा नाचेर मनाउने गरिन्छ। विगतमा जिल्लाभर मनाइने यो पर्व बसाइँसराइका कारण हाल माथिल्लो मनाङमा मात्र सीमित भएको उनको भनाइ छ।

स्थानीयका अनुसार यस पर्वमा घोडालाई भगवान्को रूपमा पुजिन्छ। अध्यक्ष गुरुङले भने, “विगतमा गाउँमा सबैले घोडा पाल्थे, खेतीपाती लगाउने सिजन सकिएपछि फुर्सदको बेला घोडालाई संयुक्त रूपमा पूजा हुन्थ्यो।” अचेल घोडा पाल्ने प्रचलन कम भए पनि माथिल्लो क्षेत्रमा भने यो चलन कायमै छ। मनाङमा घोडालाई महत्त्वपूर्ण साधनका रूपमा लिइन्छ। यस पर्वले घोडा संरक्षणमा प्रोत्साहनसमेत गर्ने उनी बताउँछन्।।

यो पर्व वर्षायाममा रोगव्याधिबाट जोगिनुका साथै मनाङको परम्परागत धार्मिक आस्थालाई जोगाउन र गाउँ, समाज तथा व्यक्ति-व्यक्तिबीच सामाजिक सद्भाव विकास गर्न पनि महत्त्वपूर्ण मानिन्छ।

स्थानीय ज्येष्ठ व्यक्तित्व सगर गुरुङका अनुसार, यस पर्वप्रति विदेशी तथा स्वदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ, तर स्थानीय युवाको सहभागिता भने कम हुँदै गएको छ। युवा विदेशिनु, अध्ययन र जागिरका कारण गाउँ छोड्नुजस्ता कारणले सहभागिता घटेको उनको बुझाइ छ। गुरुङले यहाँका वेशभूषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण गर्नु कर्तव्य भएको र यसले पर्यटकलाई आकर्षण गर्न थप ऊर्जा मिल्ने बताए।

मनाङका धेरै ठाउँमा अझै पनि सडक नपुगेकाले घोडा यहाँको प्रमुख यातायात तथा सामान ढुवानीको साधन हो। विशेषगरी नार्पाभूमि गाउँपालिकामा सडक नपुगेकाले त्यहाँ घोडा अझै उत्तिकै महत्त्वपूर्ण छ। सडक पुगेका स्थानमा भने यसको प्रयोग घट्दै गएको छ र घोडा पाल्ने चलन पनि कम भएको छ।

समुद्री सतहबाट ४,९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल र विश्वको १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गतको थोराङ्ला भञ्ज्याङ (४,५१६ मिटर) यात्रामा पर्यटकको सहजताका लागि घोडाकै प्रयोग गरिन्छ। गाउँपालिकाका अध्यक्ष कुञ्जो तेञ्जिङ लामाका अनुसार, घाँस-दाउरा, जडीबुटी सङ्कलन, खाद्यान्न तथा औषधि ढुवानी र बिरामीलाई अस्पताल लैजानसमेत घोडाको प्रयोग हुँदै आएको छ। मनाङमा मुख्यतया आलु, फापर, जौ, करु, कोदो र बोडीलगायत बाली लगाइने गरिन्छ।