चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको विकास, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने लक्ष्य रहेको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ।

भोजपुर– सरकारले १०० पर्यटकीय गन्तव्य घोषणा गरेको मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारले तस्वीरमा उतारेका छन्।

पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको ‘क्यानभास’मा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’मार्फत चित्रकारले चित्र तयार गरेका हुन्। 

पर्यटकीयस्थल चखेवामा आयोजना गरिएको कार्यशालामा २० जना कलाकारले पदमार्गमा देखिने रेडपाण्डा (हाब्रे), किरात संस्कृतिसँग जोडिएको तायामा खियामा, चिण्डो (वाबुक) तथा स्थानीयको भेसभुसालाई चित्रमा समेटेका छन्। 

चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको विकास, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने लक्ष्यसहित कार्यक्रम गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए। मुन्दुम पदमार्गलाई योग, ध्यान केन्द्रको रूपमा स्थापित गराउने लक्ष्य रहेको उनले सुनाए। 

चित्रलाई काठमाडौँमा प्रदर्शन गर्ने तयारी छ।