देशभर शुरू भयो कक्षा १२ को परीक्षा

परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपांगता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डले जनाएको छ।

काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित मानसिहं धर्म माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा  दिन आएका  परीक्षार्थी। तस्वीर:रासस

भक्तपुर– देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को वार्षिक परीक्षा शुरू भएको छ। पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा भइरहेको छ। हरेक दिन परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। 

परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ। सबैभन्दा बढी काठमाडौँमा १६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

त्यत्ति नै संख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी संख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। परीक्षमा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ तीन लाख ९५ हजार ९०८ र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका छन्। 

परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपांगता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना जोकोहीलाई परीक्षा केन्द्रमा प्रवेश गर्न नदिइने बोर्डले जनाएको छ। 

परीक्षाको मर्यादा पालना नगरेको अवस्थामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक तत्काल परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ। परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ। परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको छ।