कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

आवश्यक सबै तयारी भइसकेकाले परीक्षा नरोक्ने र तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन्।

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा नरोक्ने भएको छ। बोर्डको मंगलबार बिहान बसेको बैठकले वैशाख ११ देखि हुने परीक्षा नसार्ने निर्णय गरेको हो।

आवश्यक सबै तयारी भइसकेकाले परीक्षा नरोक्ने र तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। 

“केन्द्र तोकिसकिएको छ। हरेक विद्यालयबाट समयमै परीक्षा होस भन्ने अनुरोध आएको छ। आज पनि सबै जिल्लाका परीक्षा समन्वय समितिलाई जहाँजहाँ केन्द्र तोकिएको छ, त्यहाँ आवश्यक तयारी गर्न र परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ,” उनले भने, “साढे पाँच लाख विद्यार्थीको परीक्षा भएको हुनाले सञ्चालन गर्न अनुरोध गर्ने नै निर्णय भएको छ।” 

अब पूर्वनिर्धारित तालिकाअनुसार, परीक्षा वैशाख ११ गते शुरू भई २४ गते सकिनेछ। 

शिक्षा ऐन जारी गर्नुपर्नेलगायत माग राख्दै शैक्षिक हडताल गर्दै शिक्षक आन्दोलनमा उत्रिएपछि परीक्षाबारे अन्योल रहेको थियो। शिक्षक आन्दोलन चैत २० गतेदेखि काठमाडौँमा जारी छ।