शिक्षकको हडताल: माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने

शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

काठमाडौँ– नेपाल शिक्षक महासंघले चौथो चरणको आन्दोलन घोषणा गरेको छ। यही चैत २० गतेदेखि काठमाडौँमा सडक आन्दोनल गरिरहेको महासंघले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

आन्दोलन अवधिभर उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा संलग्न नहुन उनले आग्रह गरेका छन्। यसले गर्दा एसईईलगायत अन्य विद्यालयस्तरीय कक्षाको नतिजामा ढिलाइ हुने देखिएको छ।

महासंघको अगुवाइमा विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरूको आन्दोलन भइरहेको छ। महासंघ अध्यक्ष सुवेदीले विगतमा भएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने र सो नभएसम्म आन्दोलनमै रहने बताए। महासंघले अध्यादेशबाट भए पनि विगतमा गरिएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने माग गर्दै आएको छ।