ओली–तोग्बे भेट: अमेरिकाबाट भुटान हुँदै नेपाल आएका शरणार्थीबारे कुरा भएन

‘कुरा उठाउने नै यस्तै बेला हो। भुटानसँग द्विपक्षीय वार्ता होला र, कुरा गरौँला भनेर पर्खिबस्ने बेला यो होइन।’

काठमाडौँ– अमेरिकाले भुटान ‘डिपोर्ट’ गरेका भुटानी शरणार्थीलाई फेरि भारतीय बाटो हुँदै नेपाल पठाउने रणनीति सक्रिय रहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली र भुटानी समकक्षी छिरिङ तोग्बेबीच थाइल्यान्डमा भेटवार्ता भए पनि यो गम्भीर सरोकार छलफलमा आउन सकेन।

प्रधानमन्त्री ओली र भुटानका प्रधानमन्त्री तोग्बेबीच बिहीबार थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता भएको थियो। “भेटमा आपसी सहकार्यका विविध पक्षमा कुराकानी भयो। विशेष गत सेप्टेम्बरमा न्युयोर्कमा सम्पन्न ७९औ राष्ट्रसंघीय महासभा क्रममा भएको भेटघाटको स्मरण भएको थियो,” प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा रहेका एक सदस्यले भने, “यो अनौपचारिक साइडलाइन भेटघाट भएकाले भुटानी शरणार्थी समस्या वा अहिलेको कुनै सरोकारमा विषय प्रवेश नै भएन।”

थाइल्यान्ड जानुअघि मंगलबार परराष्ट्रसचिव अमृतबहादुर राईले भुटानी शरणार्थीको अनधिकृत नेपाल प्रवेशबारे जानकारी भएको र यसको समाधानमा गृह मन्त्रालयसँग समन्वय भइरहेको प्रतिक्रिया दिएका थिए। तर, बैंककको भेटमा भने सचिव राईले पनि समकक्षी पेमा छोदेनसँग शरणार्थी सरोकारका पछिल्ला मुद्दामा कुनै संवाद गरेनन्। पररष्ट्रमन्त्री आरजु राणा देउवाले पनि भुटानी समकक्षी डीएन ढुंग्यालसँग शरणार्थी सरोकारमा कुराकानी गरेकी थिइनन्। 

थाइल्यान्डमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री राणा, परराष्ट्रसचिव राई, प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालको प्रतिनिधिमण्डलले भुटानी समकक्षीसँग भेटवार्ता गरेको थियो। नेपाली मण्डलमा परराष्ट्र मन्त्रालय, दक्षिण पूर्वी एशिया र प्यासिफिक महाशाखाका सहसचिव तापस अधिकारी र उपसचिव अम्बिका जोशीसमेत रहेका थिए। भुटानी प्रतिनिधिमण्डलमा भने प्रधानमन्त्री तोग्बेसहित विदेशमन्त्री डीएन ढुंग्याल, विदेशसचिव पेमा छोदेनको प्रतिनिधिमण्डल थियो। 

सन् ९० को दशकमा भुटानले एक लाखभन्दा बढी नेपालीभाषी ल्होत्साम्पा समुदायलाई देश निकाला गरेकै शैलीमा पछिल्लो सातायता भुटानमा ‘डिपोर्टेसन’ गरिएका १० भुटानी शरणार्थीलाई भारत (जयगाउँ)को बाटो हुँदै पानीट्यांकीबाट नेपाल छिर्न उद्यत गरेको थियो। तीमध्ये ४ जना पूर्वी नेपालको भारत सीमावर्ती विन्दुमा भेटिएपछि उनीहरूलाई काँकडभिट्टा अनुसन्धान कार्यालयमा आवश्यक अनुसन्धान प्रक्रियामा राखिएको छ। 

बिमस्टेक बैठकको साइडलाइनमा भुटानी समकक्षीसहितका पदाधिकारीलाई भेट गरे पनि प्रधानमन्त्री, परराष्ट्रमन्त्रीको तहमा अहिले उब्जिएको शरणार्थी आगमनको मुद्दा नउठाइएकोमा विज्ञहरूले आश्चर्य मानेका छन्। 

“कुरा उठाउने नै यस्तै बेला हो। भुटानसँग द्विपक्षीय वार्ता होला र, कुरा गरौँला भनेर पर्खिबस्ने बेला यो होइन,” पूर्व परराष्ट्रसचिव मधुरमण आचार्यले उकालोसँग भने,“विगतमा पनि सार्क, बिमस्टेकका मञ्चहरूको साइडलाइनमा शरणार्थी मुद्दा उठ्ने गरेकै थियो। अहिले अमेरिकाबाट डिपोर्ट गरिएका भुटानी शरणार्थी नेपाल आइरहेको तातो सन्दर्भमा कुरा हुनैपर्ने थियो, यो एकदमै अनौठो अवस्था हो।”

अधिकारकर्मी डा.गोपालकृष्ण शिवाकोटीले नेपालको कुटनीतिक शैली र प्राथमिकता लाजमर्दो रहेको बताए। आफ्नो गम्भीर चासोलाई उठाउने गरी बैंककमा फेला परेको मौकालाई वेवास्ता गरिएको क्षण आफैमा प्रश्नातीत रहेको उनको भनाइ छ। “यो प्रसंग अहिले पनि नउठाए कहिले उठाउने? यो एउटा अवसर थियो,” उनले भने, “भुटानी शरणार्थी मामलामा हाम्रो पोजिसन के हो भन्ने थाहा हुनै नसकेको स्थिति छ, एउटा अवसर मिस भएको छ।” 

अमेरिकाबाट भुटान पठाइएका भुटानी नागरिकलाई भारतसँगको मिलेमतोमा फेरि नेपाल छिराइएको यो घटनालाई सामान्य रूपमा लिन नमिल्ने उनको भनाइ छ। नेपाल सरकारले भुटानलाई ‘डिप्लोम्याटिक नोट’ पठाउँदै फेरि आफ्ना नागरिकलाई देश निकाला गरिएको र नेपालको अभिभारा बनाइएकोमा आपत्ति जनाउनुपर्ने उनले बताए।

नेपाल तथा भुटानका दुवै प्रधानमन्त्रीले आफ्नो सामाजिक सञ्जालमा आपसी भेटवार्ताको तस्वीर राख्दै दुई देशको मित्रवत् सम्बन्धको चर्चा गरेका छन्। दिगो विकासको अवधारणाका र द्विपक्षीय हकहितमा छलफल केन्द्रित भएको वार्तामा सहभागी एक अधिकारीले जानकारी दिएका छन्।