गणतन्त्रवादीले विध्वंसकहरूलाई नजन्माऊन्

एउटा मेडिकल व्यवसायी चुड्कीको भरमा वा चमत्कार गरेर यो हदसम्म पुगेको होइन। यिनलाई हुर्काउने गणतन्त्रका ‘फ्य्रांकन्स्टाइन’हरू हुन्। यसमा ओली र प्रचण्ड सबैभन्दा बढी जिम्मेवार छन्।

विज्ञानले जन्माएको एक राक्षसको कथामा आधारित सिनेमा हो– फ्य्रांकन्स्टाइन। जेम्स वेल यसका निर्देशक हुन्। बजारमा फ्य्रांकन्स्टाइनका अनगिन्ती ‘भर्जन’ छन्। सन् १९३१ मा रिलिज भएको फ्य्रांकन्स्टाइनलाई कतिपय सिनेमा समालोचकहरूले उत्कृष्ट मान्छन्।

सिनेमा धेरै भए पनि यसको मूल स्रोत विश्वविख्यात लेखिका मेरी सेलीको पुस्तक ‘फ्य्रांकन्स्टाइन’ हो।

सिनेमामा विज्ञानप्रति हेनरी फ्य्रांकन्स्टाइनको ठूलो अभिरुचि छ। उसको सहयोगी छ, फ्रिन्ज। यी दुई जना मिलेर एउटा मृत शरीरलाई प्रयोगशालाबाट ज्युँदो बनाउँछन्। जब मृत शरीर प्रयोगशालामा चलमलाउँछ, खुशीले यी दुई पात्रको भुईंमा खुट्टा हुँदैन। तर त्यो खुशी लामो समय टिक्दैन।

पुनर्जीवन पाएको मानिसले समाजमा विध्वंस गर्छ। एकपछि अर्को मानिस मार्न थाल्छ। ऊ कतिसम्म क्रूर हुन्छ भने, खेलिरहेकी सानी स्कुले बच्ची मारियालाई खोलामा डुबाएर मारिदिन्छ। खोलामा छट्पटाउनु अगाडि मारिया किनारामा बसेर फक्रिएका सुन्दर फूलहरू पानीमा बगाइरहेकी हुन्छे। क्षणभरमा ऊ पनि फूलसँगै बग्छे।

सिनेमामा एउटा यस्तो समय आउँछ, राक्षस आफ्नै रचनाकारलाई पनि मार्न तम्सिन्छ। ‘विन्डमिल’को माथि हेनरीलाई राक्षसले लछारपछार गर्छ। फ्रिन्जले त शुरूआततिरै मरणासन्न हुनेगरी राक्षसको कुटाइ खाइसकेको हुन्छ। राक्षसले चलाएको बबन्डरले दर्शकको मनमा पटक–पटक हेनरी र फ्रिन्जप्रति दया र आक्रोश एकसाथ उत्पन्न गराउँछ।

गणतन्त्रकालमा सिनेमामा जस्तो अनेक राजावादी पात्र जन्मिएका छन्, जसले विध्वंस निम्त्याएका छन्। शुक्रबार काठमाडौँमा त्यसको निकृष्ट नमूना देखियो।

दुई युवाले अनाहकमा ज्यान गुमाउनु पर्‍यो। प्रदर्शनका क्रममा कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनलाई छातीमा गोली लागेको थियो। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो।

एभिन्युज टेलिभिजनमा काम गर्ने ३४ वर्षका पत्रकार सुरेश रजक आन्दोलनकारीले आगो लगाएको घरभित्र मृत फेला परे। उनी आन्दोलनको फुटेज खिच्न भवनभित्र गएका थिए, त्यहीबेला परिबन्दमा परेर बाहिर आउन सकेनन्। यसबारे थप छानबिन होला, थप तथ्यहरू खुल्दै जालान्। राजावादीको समाचार संकलन गर्न गएका पत्रकार दिनेश गौतमलाई जासुसको आरोपमा प्रदर्शनकारीले खुट्टा भाँचिदिए।

विध्वंस अरू पनि भए। कयौँ मानिस घाइते भए। सरकारी तथा निजी सवारीसाधन जलाइए। सार्वजनिक तथा निजी भवनमा आगजनी, तोडफोड तथा लुटपाट भयो। प्रदर्शनकारीले ठाउँ–ठाउँमा योजनाबद्ध ढंगले क्षति पुर्‍याए। घरभित्र बसेका मानिसमा पनि भय उत्पन्न भयो।

‘सन्चो’लगायत महत्त्वपूर्ण औषधि उत्पादन गर्ने जडीबुटी तथा प्रशोधन कम्पनी लिमिटेडमा आगो लगाएर खण्डहर बनाइयो। सञ्चारमाध्यममा तोडफोड मात्र गरिएन, आगोसमेत सल्काइयो। कोटेश्वरस्थित भाटभटेनी पुगेर लुटपाट गरे, बियरका बोतलदेखि फलफूल लिएर हिँड्नेको भीड थियो। 

घरहरूमा जथाभाबी ढुंगा हानेर सिसामा भ्वाङ नै भ्वाङ पारियो। ठाउँ–ठाउँमा गाडी जलाइयो। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले ‘आफूले बुद्धि नपुर्‍याएको भए प्रदर्शनकारीले मार्ने रहेछन्’ भनिरहेका छन्। उनी चढेको गाडीलाई बालकुमारीमा जलाइएको थियो।

यो हिंसात्मक प्रदर्शनको कमान्डर थिए– दुर्गा प्रसाईं।

प्रसाईंले दाबी गरेजस्तो लाखौँ मानिस राजा माग्दै सडकमा आएनन्। गृह मन्त्रालयका अनुसार लगभग चार हजार जना सडकमा ओर्लिएका थिए। तर विध्वंस निम्त्याउन यो संख्या काफी भयो। आफूले नेतृत्व गरेको प्रदर्शनलाई अराजक हुनबाट रोक्न उनले भूमिका खेलेनन्, बरु आफै फ्य्रांकन्स्टाइनको प्रयोगशालामा हुर्किएको पात्रजस्तो संहारक बने।

प्रसाईंको व्यवहार उद्दण्ड थियो। उनले चलाएको गाडी प्रहरीको सुरक्षा घेरा तोडेर अगाडि बढेको थियो। प्रहरीको समूहलाई नै कुल्चने ढंगले गाडी दौडाएका थिए, जसकारण प्रहरी बाटो छाडिदिन बाध्य भयो। 

प्रसाईंले गाडीबाटै प्रदर्शनकारीलाई घेरा तोड्न हौस्याइरहेका थिए, प्रहरीलाई जथाभाबी गाली गरेका थिए। उनको यो हदको व्यवहार देखेर प्रहरी प्रवक्ताले भनेका थिए, “उनीहरूले आगजनी पनि गर्न खोजेका छन्। गाडीलाई हतियारको रूपमा प्रहरीमाथि नै चलाउन खोजेका छन्। दुर्घटना गराउने प्रयास गरिरहेका छन्।”

प्रदर्शनलाई प्रसाईंले उत्तेजित बनाए। उनको उग्र चरित्र विगतमा पनि देखिन्थ्यो। केही वर्षदेखि उनका क्रियाकलाप अपाच्य किसिमका थिए, अराजकताले सीमा नाघेको थियो। सोसल मिडियामा बारम्बार आउने उनका अभिव्यक्ति मनोरञ्जनका सामग्री थिएनन्। तथ्यबिना उनले बकवास गफ छाँटिरहे, सोसल मिडियामा उनका गफ बिक्थे। ती बेतुकका गफ समाजका निम्ति घातक थिए। हेपाहा, जातिद्वेषी, महिलाद्वेषी र विभेदकारी थिए।

अराजक शैलीमा प्रसाईं बेलगाम अगाडि बढे।

एउटा मेडिकल व्यवसायी चुड्कीको भरमा वा चमत्कार गरेर यो हदसम्म पुगेको होइन। यिनलाई हुर्काउने गणतन्त्रका फ्य्रांकन्स्टाइनहरू हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसका निम्ति सबैभन्दा बढी जिम्मेवार छन्।

एमाले र माओवादीको एकता हुनुभन्दा अलिक अगाडि प्रसाईंले ओली र दाहाललाई चरेशको थालमा मार्सीको भात खुवाएको तस्वीर भाइरल भयो। यसले उनीहरूबीचको सम्बन्ध कति प्रगाढ छ भनेर समेत देखाउँथ्यो। यो सम्बन्ध केही समय सुमधुर नै रह्यो।

पहिलापहिला प्रसाईं आफूलाई माओवादी कार्यकर्ता मान्थे। आफू युद्धको सिपाही भएको बताउँथे। प्रचण्डको खुब तारिफ गर्थे। मिडियामा दिएका अन्तर्वार्तामा प्रचण्डको परिवारलाई आर्थिक सहयोग गरेको समेत बताउँथे। 

माओवादीकै सहयोगमा उनले जग्गा कारोबार गरेको समाचार बाहिर आयो। बैंकबाट करोडौँ ऋण लिएर मेडिकल व्यवसाय चलाएका उनी किन प्रचण्ड र ओलीजस्ता नेतासँग हिमचिम बढाउँथे भनेर बुझ्न गाह्रो छैन।

ओलीले त प्रसाईंलाई सक्रिय राजनीतिमै ल्याए। आफ्ना पुराना राजनीतिक सहयात्रीहरू जिल्ला तहमै अड्किरहेका बेला ओलीले प्रसाईंलाई एमालेको केन्द्रीय सदस्य नै बनाइदिए। प्रसाईंले गरेको ‘हजुरबुवा’ सम्बोधनमा ओली लट्ठ थिए। व्यापारमा मात्र सीमित उनी अब ‘नेता’ बने। 

स्वार्थ बोकेर राजनीतिक नेतृत्वको वरपर घुम्न सिपालु प्रसाईंलाई ‘स्पेस’ दिएर ओली र दाहालले गल्ती गरेका हुन्। प्रसाईंलाई यिनै दुई नेताले दिएको स्पेस र जगाइदिएको महत्त्वाकांक्षाको मूल्य अहिले समाजले बेहोर्नुपरेको छ। उनलाई बेलैमा सजायको भागिदार नबनाउने हो भने कानूनी राज्यको अवमूल्यन त हुने छ नै, समाजमा पनि अराजकताले प्रश्रय पाउने छ।