बाघभैरव मन्दिरबाट चोरिएको गणेश मूर्तिसहित तीन सम्पदा भिएनामा लिलामी हुँदै

सत्रौँ शताब्दीको सिर्जना मानिने गणेशमूर्ति बाघभैरवबाट चोरिएको थियो। यसअघि, अमेरिकाको क्यालिफोर्नियास्थित जानदु ग्यालरीको संकलनमा रहेको मूर्ति भिएनाको ग्यालरी जेकी अक्सनमा लिलामीमा जान लागेको हो।

काठमाडौँ– कीर्तिपुरको बाघभैरव मन्दिर परिसरबाट चोरिएको भगवान गणेशको प्रस्तर मूर्तिसहित तीन पुरातात्त्विक सम्पदा अस्ट्रियाको भिएनास्थित एक कला–सम्पदा गृहमा आगामी महिना लिलामी बिक्री हुने भएको छ।

सत्रौँ शताब्दीको सिर्जना मानिने गणेशमूर्ति सन् ९० दशकको शुरूआतमा बाघभैरवबाट चोरिएको थियो। यसअघि, अमेरिकाको क्यालिफोर्नियास्थित जानदु ग्यालरीको संकलनमा रहेको गणेशमूर्ति अहिले भिएनाको ग्यालरी जेकी अक्सनमा लिलामीमा जान लागेको हो। यो सम्पदा अप्रिल ११ मा लिलामी बिक्री हुन लागेको जनाइएको छ। कला–सम्पदाको खोजबिन तथा घरफीर्ति अभियानमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, यो अभियानले सन् २०२१ अक्टोबर २२ मा उक्त सम्पदा जानदु ग्यालरीमा रहेको प्रमाण बाहिर ल्याएको थियो। ग्यालरी प्रमुख मार्सा भर्गास हेन्डलीको संकलनमा रहेको यो सम्पदाबारे कला अन्वेषक लैनसिंह वाङ्गदेलको ‘इन्भेन्ट्री अफ स्टोन स्कल्प्चर्स अफ द काठमाडौं भ्याली (१९९५, प्लेट १८)’मा उल्लेख छ। ५४.५ सेन्टिमिटर उचाइको यो पुरातात्त्विक मूर्ति चोरी भएपछि पहिलो पटक सन् २००३ मा हार्डट एन्ड सन्सको संग्रहमा देखिएको थियो।  

 यस्तै, बौद्ध स्तुपास्थित खस्टी महाचैत्यबाट चोरी भएको नवौँ शताब्दीको बोधिसत्व पद्यमपाणि प्रस्तर मूर्ति पनि भिएनाको ग्यालरी जेकी अक्सनमा लिलामीमा राखिने भएको छ । यो सम्पदाको अभिलेखीकरण सन् ७० को दशकमा प्रचलित रहेको हन्टिङटन अर्काइभ (द हन्टिङटन अर्काइभ अफ बुद्धिस्ट एन्ड एशियन आर्टस्)ले गरेको थियो। यो सम्पदा पनि गणेशमूर्ति झैं अप्रिल ११ मा भिएनाको ग्यालरी जेकी अक्सन गृहमा लिलामीमा जान लागेको हो। 

८० सेन्टिमिटर अग्लो यो मूर्ति चोरी गरिँदा यसको दायाँ हात र टाउको समेत टुटफुट भएको तस्वीरमा देख्न सकिन्छ। सन् १९८७ मा पहिलो पटक स्पिंक एन्ड सन (लन्डन)को संग्रहमा देखा परेको यो सम्पदा करिब ४० वर्षअघि चोरी भएको थियो।  

यसैगरी, भिएनाका यही लिलामीगृहमा पाटनको च्यासल हिटीबाट चोरिएको श्रीधर विष्णु प्रस्तरमूर्ति पनि लिलामीमा राखिने भएको छ। एघारौँ शताब्दीको यो प्रस्तरमूर्तिको विवरण अन्वेषक लैनसिंह वाङङ्गदेलको ‘स्टोलन इमेजेज अफ नेपाल (१९८९)’मा उल्लेख (प्लेट नम्बर १८६) गरिएको छ। यो सम्पदाको हन्टिङटन अर्काइभले पनि तस्वीर संग्रहित गरेको छ । यस्तै, स्वीस अध्येता उल्रिच भोन स्क्रोडरको ‘नेप्लीज स्टोन स्कल्प्चर्स’ पुस्तकमा पनि श्रीधर विष्णुको तस्वीरसहितको वर्णन उल्लेखित छ। 

‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, भिएनाको ग्यालरी जेकी अक्सन गृहमा नेपालबाट चोरिएका अरू सम्पदा पनि लिलामीमा राखिएकोबारे थप अनुसन्धान गर्ने क्रम जारी छ।