थकाली समुदायले मनाए तोरन्ल पर्व

फागु पूर्णिमाका बेला परे पनि तोरन्लमा रंग खेल्ने चलन पहिला नरहेको र पछिल्लो समय भने रंग पनि खेल्न थालिएको छ।

तस्वीर: नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– थकाली समुदायले बुधबार तोरन्ल (फागु पूर्णिमा) पर्व मनाएका छन्। थकालीहरूले नयाँ वर्षको रूपमा तीन दिनसम्म तोरन्ल पर्व मनाउने गर्छन्। 

घरको कन्या वा महिला बिहानै उठेर पितृलाई सम्झेर पूजाआजा गर्छन्। त्यसैगरी छोरी, ज्वाइँ, भान्जी तथा आफन्तलाई बोलाएर मीठा-मीठा परिकार खुवाउने चलन छ। 

फागु पूर्णिमाको समयमा पर्ने यस पर्वमा तारो खेलेर मनोरञ्जन लिने गरिन्छ। तोरन्लमा पितृ सम्झेर पूजा हुने थकाली समुदायका अगुवाहरू बताउँछन्। तोरन्ल तीन दिन मनाइन्छ। तीन दिनमा जति धेरै रमाइलो गर्‍यो, मिलेर मिठो खायो, पितृ त्यति खुसी हुने र आशीर्वाद दिन्छन् भन्ने विश्वास छ।

थकाली समुदायले फागु पूर्णिमामा रंगहरू नलगाउने भए पनि आजभोलि लगाउने गरिएको छ।

मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ। मुस्ताङबाट थकाली समुदाय बसाइँसराइ गरेर देशका विभिन्न शहर तथा विदेशमा गएका छन्।