प्रदर्शनीमा भारत, नेपाल, श्रीलंका, पाकिस्तान र बांग्लादेशका कलाकारले आ–आफ्ना कलामार्फत पारम्परिक लैंगिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र सामाजिक संरचनाको प्रभाव उजागर गर्ने प्रयास गर्नेछन्।
काठमाडौँ– दक्षिण एशियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी आयोजना हुने भएको छ। शनिबार (माघ १२) देखि काठमाडौँमा शुरू हुने प्रदर्शनीमा दक्षिण एशियाका दश जना महिला कलाकारले आफ्ना सिर्जना प्रदर्शन गर्न लागेका हुन्।
बिहीबार कलाकारसहित राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एन्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने जानकारी दिइयो।
तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा काठमाडौँको बौद्धस्थित तारागाँउ सांस्कृतिक केन्द्रमा हुने कार्यक्रम अर्सिया डा. लोखन्डवालाको परिकल्पनामा आयोजना हुन लागेको हो। प्रदर्शनीमा राखिएका सिर्जना सर्वसाधारणले तीन महिनासम्म अवलोकन गर्न सक्नेछन्।
प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैंगिक राजनीति जस्ता विषय सम्बोधन गर्ने डा. लोखन्डावालाले बताइन्। “म नेपालसँग लामो समयदेखि परिचित छु, यहाँको समाज र महिलाको अवस्थाबारे पनि केही जानकारी छ, त्यसैले नेपालमा यस प्रकारको प्रदर्शनी आयोजना गर्न खोजिरहेकी थिएँ, धेरै वर्षअघि आउँदा जीवित देवी कुमारीको दर्शनपछि यस विषयमा प्रदर्शनी गर्नुपर्छ भन्ने लागेको थियो”, उनले भनिन्।
प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलंका, पाकिस्तान र बांग्लादेशका एक/एक महिला कलाकारका सिर्जना रहने आयोजकले जनाएको छ। आयोजकका अनुसार भारतीय कलाकारहरू अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला, नेपाली कलाकार अश्मिना रञ्जित, विधाता केसी र उमा विष्टसँगै श्रीलंकाकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बांग्लादेशकी तायबा बेगम लिपीका सिर्जना प्रदर्शनीमा रहनेछन्। सबै कलाकारले कलामार्फत पारम्परिक लैंगिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र सामाजिक संरचनाको प्रभाव उजागर गर्ने प्रयास गर्नेछन्।

“प्रदर्शनीले दक्षिण एशियाली महिला कलाकारको शक्तिलाई उजागर गर्नेछ”, उनले भनिन्, “कलामार्फत गहिरो गरी समाजमा व्याप्त पितृसत्तात्मक संरचनाको विरोध र सोचमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।”
नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एशियाली देशका महिला अधिकारको संघर्षसँग जोड्ने प्रयास स्वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेसन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफले बताइन्। “प्रदर्शनीमार्फत भारत, पाकिस्तान, श्रीलंका, र बांग्लादेशका महिलाको संघर्षसँगै नेपाली महिलाका समस्यालाई प्रकाशमा ल्याउन चाहन्छौँ”, उनले भनिन्।
आयोजकका अनुसार प्रदर्शनीमा विभिन्न समकालीन मुद्दालाई अन्वेषण गर्ने सिर्जनासमेत समावेश छन्। पुष्पमाला एनको ‘अभेगा– द प्यासन (२०१२)’ ले रामायणका महिलाका पात्रको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गर्नेछ।
अश्मिना रञ्जितको ‘सीता! द आइडियल वाइफ (२०२५)’ ले महिलाको अधिकार र स्वतन्त्रता खोस्ने हिन्दू परम्पराअनुसारको विवाहमा गरिने ‘कन्यादान’ प्रथाको आलोचना गर्नेछ। त्यस्तै, तायबा बेगम लिपीले आफ्ना सिर्जनामा विवाहको जटिलता र हिंसात्मक प्रवृत्तिलाई चित्रित गर्दै छिन्। उमा विष्टले छाउपडी प्रथाको आलोचना गर्दै नेपाली महिलाका संघर्षलाई प्रस्तुत गर्ने जनाइएको छ।
विधाता केसीले कलामार्फत महिलालाई आफ्ना आकांक्षा व्यक्त गर्न र समाजका अपेक्षालाई चुनौती दिनेछिन्। अनिता दुबे, नाइजा खान र अनोली पेरेराले आफ्नो कलामार्फत महिला सशक्तीकरण र स्वतन्त्रताका विषय उठान गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
