Wednesday, April 24, 2024

-->

थ्री नेसन्स कप : अनन्त र नवयुगको गोलमा नेपालको जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपालले लाओसलाई २-० गोलअन्तरले पराजित गरेको हो।

थ्री नेसन्स कप  अनन्त र नवयुगको गोलमा नेपालको जित

काठमाडौँ- नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा लाओसलाई पराजित गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपालले लाओसलाई २-० गोलअन्तरले पराजित गरेको हो।

नेपालका लागि डिफेन्डर अनन्त तामाङ र फरवार्ड नवयुग श्रेष्ठले गोल गरे। खेलको शुरूआतदेखि नै आक्रामक खेल पस्किएको नेपालले पहिलो र दोस्रो हाफमा १/१ गोल गरेको थियो।

नेपालले पाँचौँ मिनेटमा आयुष घलानले बायाँ साइडबाट दिएको एअर बललाई पोस्ट अगाडि रहेका फरवार्डद्वय नवयुग श्रेष्ठ र भरत खवासले हेडर गर्न भेटेनन्।

१८औँ मिनेटमा आयुषबाट लाओसका डिफेन्डरले खोसेको बल मिडफिल्डर एरिक विष्टको खुट्टामा पुगेको थियो। उनले नजिकै रहेका पूजन उपरकोटीलाई बल पास दिएका थिए। तर, डिबक्स बाहिरबाट गरेको प्रहार आकासिएको थियो।

३०औँ मिनेटमा डिफेन्डर अनन्त तामाङले नेपाललाई अग्रता दिलाए। नवीन लामाले प्रहार गरेको कर्नर बललाई अनन्तले रन लिँदै कट हेडरमार्फत् गोल गरे। विभागीय टोलीबाट खेलिरहेका नवीनको यो डेब्यू खेल हो। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरेपनि गोलमा परिणत भने गर्न सकेनन्।

दोस्रो हाफको शुरूआतमै मुख्य प्रशिक्षक भिन्सिन्जो अल्बर्टो एनिसले फरवार्ड मनिष डाँगी मैदान प्रवेश गराए। उनले भरत खवासलाई प्रतिस्थापन गरे। 

भरत सन् २०१८ मा माल्दिभ्समा आयोजित साफ च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्ध खेल खेलेपछि राष्ट्रिय टोलीबाट बाहिर थिए। उनले लाओसविरुद्धको खेलमार्फत् राष्ट्रिय टोलीमा कमब्याक गरेका हुन्।

५६औँ मिनेटमा नेपालले अग्रता दोब्बर बनायो। फरवार्ड नवयुग श्रेष्ठले डिबक्स बाहिरबाट गरेको प्रहारलाई लाओसका गोलरक्षक च्यासाभाथले बचाउन सकेनन्।

७८औँ मिनेट लाओसले गोलअन्तर कम गर्ने मौका पाएको थियो। दायाँ साइडबाट आएको एअर बललाई जम्प गरेर नेपाली टोलीका गोलरक्षक किरण चेम्जोङले नियन्त्रणमा लिने प्रयास गरेका थिए। तर, उनले खुस्काएको बललाई बोउनकोङले गरेको प्रहार गोल लाइनबाट अनन्त तामाङले बचाए। 

त्यसपछि लगातार दुईपटक लाओसले गोलरक्षक किरणलाई व्यस्त बनाएका थिए। तर, किरणले दुवै पटक प्रहार भएको बललाई विफल पार्दिए।

७२औँ मिनेटमा नेपालले अर्को गोलको अवसर पाएको थियो दायाँ साइडबाट लाओसका दुई रक्षकलाई छक्क्याउँदै मनिषले दिएको बल अनमार्कमा रहेका एरिकले पाएका थिए। उनले आयुषलाई बल दिएपनि पोस्टको दिशा दिन सकेनन्।

७४औँ मिनेटमा नवीन लामाको स्थानमा मणिकुमार लामा मैदान प्रवेश गरे। उनको यो राष्ट्रिय टोलीमा डेब्यू खेल हो।

८३औँ मिनेटमा दीपकसिंह ठकुरी मैदान प्रवेश गरेका थिए। उनले नवयुग श्रेष्ठलाई प्रतिस्थापन गरे। दीपकको पनि यो नै राष्ट्रिय टोलीको लागि डेब्यू खेल हो।

८४औँ मिनेटमा रोहित चन्दले गोलको अर्को अवसर खेर फ्याँके। मणिले करिब ३० यार्डको दायाँ साइडबाट गरेको प्रहारलाई डिबक्सभित्र रहेका रोहितले टच गरेका थिए। तर, उक्त बलले जाली चुम्न पाएन। निर्धारित समय सकिएपछि तीन मिनेट थप गरिएको थियो। त्यही अतिरिक्त समयमा मुख्य प्रशिक्षक एनिसले सुमित श्रेष्ठलाई मैदान प्रवेश गराए। उनी आयुष घलानको स्थानमा मैदान प्रवेश गरेका थिए।

जितसँगै नेपालले महत्त्वपूर्ण ३ अंक जोडेको छ। लाओसले भने अंकविहीन छ। सिंगल राउन्ड रोबिनमा सञ्चालन भइरहेको प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्ने छन्।

लाओसले दोस्रो खेल चैत ११ गते भुटानसँग खेल्ने छ। नेपालले भने चैत १४ गते भुटानसँग दोस्रो खेल खेल्ने छ। जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।


सम्बन्धित सामग्री