Thursday, April 25, 2024

-->

पत्रकारहरू बिक्रीमा रहेको सभामुख घिमिरेको आरोप

सभामुख देवराज घिमिरेले पत्रकारले जिम्मेवारीका साथ काम नगरेको बताएका छन्।

पत्रकारहरू बिक्रीमा रहेको सभामुख घिमिरेको आरोप

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गरेका छन्। 

शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले पत्रकारहरूलाई थर्काएर, किनेर, फकाएर विग हाउसले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरूलाई त्यसबाट मुक्त हुनुपर्ने बताए।  

मुलुकमा पीत पत्रकारिता निकै डरलाग्दो गरी देखापरेको सभामुख घिमिरेको बुझाइ छ। उनले पत्रकारले जिम्मेवारीका साथ पत्रकारिता नगरेको बताउँदै त्यसको प्रभाव समाजमा परिरहेको पनि जिकिर गरे। 

सभामुख घिमिरेले सरकार र पत्रकारबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताए। उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरूले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराए। 

सभामुख घिमिरेले भने, “पत्रकारहरूले जति जिम्मेवारीसाथ पत्रकारिता गर्नु पर्दथ्यो । तर, पीत पत्रकारिता अहिले निकै डरलाग्दो गरी छ। जेजे कारणले भए पनि पत्रकारहरू प्रभावित छन्। अझ अर्को भन्ने हो भने त बिक्रीमा छन्।”

सभामुख घिमिरेले कानुनको अभावमा मुलुकमा ठगीहरू बढिरहेकाले त्यसलाई नियन्त्रण हुने गरी कानून निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरूलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने बताए। उनले कानुन निर्माणमा, राष्ट्र निर्माणमा र मुलुकलाई सही बाटोमा अघि बढाउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भएकाले पत्रकारले सोही अनुसार सञ्चारका कामहरू गर्नुपर्ने टिप्पणी गरे। 

त्यस अवसरमा महासंघका अध्यक्ष विपुल पोखरेलले मिडियामैत्री कानून निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए। 


सम्बन्धित सामग्री