Friday, April 19, 2024

-->

चीनले सार्स लुकाएको खुलासा गर्ने डाक्टर जियाङ यानयोङको निधन

डाक्टर जियाङ यानयोङले सार्स महामारीबारे सार्वजनिक रूपमा बोल्दा सरकारले उनलाई नजरबन्दमा राखेको थियो।

चीनले सार्स लुकाएको खुलासा गर्ने डाक्टर जियाङ यानयोङको निधन

चीनले श्वासप्रश्वाससम्बन्धी गम्भीर संक्रमणको महामारीलाई ढाकछोप गरेको विषयबारे खुलासा गर्ने चिनियाँ डाक्टर जियाङ यानयोङको निधन भएको छ। 

डाक्टर जियाङको ९१ वर्षको उमेरमा राजधानी बेइजिङमा शनिबार निधन भएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

चीनका पूर्वसैन्य चिकित्सक समेत रहेका डाक्टर जियाङले सन् २००३ मा चीनमा सिभियर अक्युट रेस्पिरेटोरी सिन्ड्रम (सार्स) संक्रमणको महामारी फैलिएको विषयलाई विश्वमाझ पर्दाफास गरिदिएका थिए। 

सार्स संकटको शुरूआती चरणमै उनले चिनियाँ अधिकारीले यसलाई लुकाउने प्रयास गरेको भन्दै एक पत्र लेखेका थिए। त्यसपछि उनलाई यस विषयमा बाहिर बोलेको भन्दै सरकारले केही समय नजरबन्दमा राखेको थियो। 

सन् २००३ को अप्रिलमा बेइजिङको एक अस्पतालमा काम गरिरहेका बेला डाक्टर जियाङ चिनियाँ स्वास्थ्यमन्त्रीले नयाँ विनाशकारी संक्रमणबारे सचेत रहन गरेको आग्रहले सशंकित बनेका थिए। त्यसपछि जियाङले सैन्य अस्पतालमा मात्रै १ सय भन्दा बढी सार्स संक्रमित रहेको थाहा पाएका थिए।

यसबारेको समाचार प्रकाशनका लागि उनले केही चिनियाँ सरकारी मिडियामा पठाएको पत्रलाई बेवास्ता गरिएको थियो।

पछि उक्त पत्र विदेशी मिडियाहरूमा प्राथमिकताका साथ छापिएपछि चीन सरकार सार्स संक्रमणबारे गलत सूचना दिएको स्विकार्न बाध्य भएको थियो। त्यसपछि चीनमा संक्रमण कम गर्न रातारात नयाँ मापदण्ड लागू गरिएका थिए। 

सन् २००३ मा विश्वभर फैलिएको सार्स संक्रमणका कारण ७७४ जनाको मृत्यु भएको थियो भने झण्डै ८ हजार जनामा संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।

डाक्टर जियाङकै अभिव्यक्तिका कारण चीनले तत्कालीन स्वास्थ्यमन्त्री र बेइजिङका मेयरलाई बर्खास्त गरेको थियो। संक्रमणबारेको सूचनाबारे बोल्दै त्यतिबेला डाक्टर जियाङले भनेका थिए, “संक्रमणबाट चीनलाई मात्र होइन विश्वलाई नै जोगाउनुपर्छ भनेर जे भइरहेको छ त्यो कुरा सार्वजनिक गर्नुपर्छ भन्ने मलाई लाग्यो।”

त्यसको अर्को वर्ष उनले सन् १९८९ मा तियानानमेन स्क्वायरको प्रदर्शनका क्रममा हजारौँ सर्वसाधारण मारिएको विषय गलत हो भनेर चिनियाँ कम्युनिस्ट पार्टीले यसको जिम्मा लिनुपर्ने भन्दै बेइजिङलाई चुनौती दिएका थिए।

त्यतिबेला उनले बेइजिङमा चिकित्सकका रूपमा काम गर्दाको अनुभव लेख्दै उनले तत्कालीन संयन्त्रले निहत्था सर्वसाधारण र विद्यार्थीमाथि कसरी स्वचालित बन्दुक र हतियार चलाएर दमन गरेको थियो भन्ने लेखेका थिए। उनले लेखेका थिए, “प्रदर्शनबारे चिनियाँ कम्युनिस्ट पार्टी सीसीपीको धारणासँग सामान्य चिनियाँ नागरिक निकै रुष्ट र असन्तुष्ट थिए। हाम्रो पार्टीले आफूले गरेका गल्तीको सम्बोधन गर्नुपर्छ।”

त्यसपछि डाक्टर जियाङ र उनकी श्रीमतीलाई चिनियाँ सरकारले नियन्त्रणमा लिएको थियो। पछि सन् २०१९ मा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र लेख्दै तियानानमेन स्क्वायरको दमनलाई अपराधको संज्ञा दिएका थिए।

जियाङ, सन् १९३१ मा चीनको पूर्वी शहर हाङझाओको एक सम्पन्न परिवारमा जन्मिएका थिए। आफ्नी काकीको क्षयरोगका कारण मृत्यु भएपछि उनले मेडिसिन विषय अध्ययन गरेको बताइएको छ। सार्वजनिक सेवामा अनुकरणीय काम गरेका उनले जीवनकालमा थुप्रै अवार्ड तथा सम्मान पाएका छन्। 

सार्वजनिक सेवाका लागि उनले सन् २००४ मा प्रतिष्ठित रेमन म्यागसेसे अवार्ड समेत पाएका थिए। अवार्ड प्रदान समारोहमा उनलाई ‘सार्सबारे खुला रूपमा प्रस्तुत भएर चीनको मौन बस्ने र सत्यलाई लुकाउने बानी ताडेको भन्दै प्रशंसा गरिएको थियो। 

सन् २०१९ को डिसेम्बरमा पनि सार्स जस्तै भाइरस फैलिएकोबारे खुलासा गरेका वुहानका एकजना आँखासम्बन्धी डाक्टर ली वेनलियाङलाई चीनले दमन गर्न खोजेको र झुटो प्रचार गरेको भनेपछि उनीविरुद्ध प्रहरीले अनुसन्धान चलाएको थियो। 

त्यतिबेला डाक्टर लीले नयाँ किसिमको महामारी फैलने चेतावनी दिएका थिए। तर, चीन सरकारले साँचो नभएको प्रतिक्रिया दिएको थियो। तर, पछि कोभिड १९ का नामकरण गरिएको त्यस विनाशकारी संक्रमणको महामारीले विश्वभरका लाखौँ मानिसको ज्यान लिएको थियो। यो संक्रमण ३ वर्षयता अझै जारी छ।

पछि पश्चिमा मिडियाहरूले डाक्टर जियाङ र लीको अनुभवलाई तुलना गरेर हेरेको थियो।

कोभिड संक्रमण फैलिरहँदा पनि चिनियाँ अधिकारीले कुनै पनि डाक्टर यसबाट संक्रमित छैनन भनेर किन भनिरहेको छ भन्दै सामाजिक सञ्जालमा बोलेका थिए। पछि उनको संक्रमणका कारण सन् २०२० को फेब्रुअरीमा मृत्यु भएको थियो।


सम्बन्धित सामग्री