Thursday, April 25, 2024

-->

टर्की भूकम्प : मृतक संख्या ४६ हजार नाघ्यो, संक्रमण फैलिन सक्ने चेतावनी

भूकम्प प्रभावित क्षेत्रमा ढल तथा फोहोर व्यवस्थापनका हजारौँ संरचना क्षतिग्रस्त भएकाले संक्रमण फैलिने जोखिम बढेको स्वास्थ्यकर्मी र विज्ञहरूले चेतावनी दिएका छन्।

टर्की भूकम्प  मृतक संख्या ४६ हजार नाघ्यो संक्रमण फैलिन सक्ने चेतावनी
तस्वीर : रोयटर्स

टर्की र सिरियामा फेब्रुअरी ६ मा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४६ हजार नाघेको छ। टर्कीमा ४० हजार ६४२ र सिरियामा ५ हजार ८०० जनाको मृत्यु भएको सरकारी तथ्यांक छ। हजारौँ घाइते भएका छन् भने कैयौँ मानिस अझै बेपत्ता छन्। यस्तै, भूकम्पमा परी ८४ हजार घरमा क्षति पुगेको सरकारी अधिकारीहरूले बताएका छन्।

भूकम्पबाट ध्वस्त बनेका भग्नावशेषमा पुरिएकाहरूको खोजी र उद्धार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। जीवितै उद्धारको सम्भावना न्यून भएको बताइरहँदा कतै चामत्कारिक रूपमा मानिसहरू जीवित भेटिएका खबरले उद्धारकार्यलाई थप प्रेरित गरिरहेको बताइन्छ।

शनिबार मात्रै टर्कीको दक्षिणी अन्तक्या शहरमा भत्किएको भवनभित्र पुरिएका तीन जनालाई जीवितै उद्धार गरिएको थियो। किर्गिस्तानका उद्धारकर्ताहरूले एक सिरियाली परिवारका पाँच जनाको उद्धार गर्न खोज्दा एक बालकसहित तीन जना जीवितै भेटिएका हुन्।

तर जीवितै उद्धार गरिएका ती बालकको पछि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको अलजजिराले जनाएको छ। उनको शरीरमा पानीको कमीका कारण मृत्यु भएको जनाइएको छ।

टर्कीले विपद् व्यवस्थापनको प्रयास गरिरहेको छ। सिरियाको उत्तरपश्चिमी क्षेत्रमा उद्धार प्रभावित भएको छ। खाद्यान्न र मानवीय सहयोगको आवश्यकता रहेका सयौँ हजार भूकम्पपीडितको सहयोगमा प्रतिबन्ध नलगाउन विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले स्थानीय निकायलाई आग्रह गरेको अलजजिराले उल्लेख गरेको छ।

त्यस क्षेत्रमा सहयोगका लागि राहत सामग्रीको अभाव भएको र सीमा क्षेत्र थप खुकुलो पार्नुपर्ने डब्लूएफपीका निर्देशक डेभिड बिसलेको भनाइ छ। उनी भन्छन्, “हामी सीमा वारिपारिको उद्धार तथा राहत वितरणमा सहभागी छौँ, तर समस्या के छ भने उत्तरपश्चिमी सिरियाली निकायहरूले हामीलाई आवश्यक समन्वय गरिरहेका छैनन्।”

दशकयता गृहयुद्धको चपेटामा परेको सिरियाको उत्तरपश्चिमी क्षेत्रलाई भूकम्पले समेत अस्तव्यस्त पारेको छ। यो क्षेत्र विशेषगरी सिरियाका राष्ट्रपति बसर अल असाद समर्थित लडाकु समूहको नियन्त्रणमा रहेको र उनीहरूले राहत वितरणमा बाधा पुर्‍याइरहेको बताइएको छ।

जनस्वास्थ्य चासो
भूकम्प प्रभावित क्षेत्रमा ढल तथा फोहोर व्यवस्थापनका हजारौँ संरचना क्षतिग्रस्त भएकाले संक्रमण फैलिने जोखिम बढेको स्वास्थ्यकर्मी र विज्ञहरूले चेतावनी दिएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा मानिसलाई विशेषगरी पाचन र श्वाप्रश्वाससम्बन्धी संक्रमण तुलनात्मक रूपमा बढे पनि यो संख्याले जनस्वास्थ्यमा गम्भीर जोखिमको खतरा नहुने टर्कीका स्वास्थ्य मन्त्री फेहरेतीन कोकाको दाबी छ। “जनस्वास्थ्यलाई जोखिम पार्ने अवस्थाविरुद्धको लडाइँ र संक्रामक रोग नियन्त्रण गर्नु नै अहिलेको हाम्रो प्राथमिकता हो”, उनले भने।

महत्त्वपूर्ण संरचनाहरूमा क्षति पुगेकाले भूकम्पमा ज्यान जोगाएकाहरूलाई थप केही महिना सहयोगको आवश्यकता पर्ने सहयोगी संगठनहरूको भनाइ छ। विनाशकारी भूकम्पको १३ दिनसम्म पनि परकम्प जाने क्रम जारी छ। शनिबार पनि टर्कीको मध्यक्षेत्रलाई केन्द्रबिन्दु बनाएर नयाँ भूकम्प गएको युरोपेली भूमध्यरेखिय भूकम्प मापन केन्द्रले जनाएको छ।


सम्बन्धित सामग्री