Thursday, April 25, 2024

-->

संगठन हल्लाउने सई शम्भु : जो २८ वर्षदेखि पशुपतिमै छन्

प्रहरीको जागिर जीवन नै जम्माजम्मी ३० वर्षको हुन्छ। शम्भु ठाकुर २८ वर्ष पशुपतिको ‘सेवा’ मा बिताउन पाउने भाग्यमानी भक्त हुन्, जो पाँच महिनापछि प्रहरी सेवाबाट अवकाश पाउँदै छन्।

संगठन हल्लाउने सई शम्भु  जो २८ वर्षदेखि पशुपतिमै छन्

काठमाडौँ- कुरा केही कनिष्ठ प्रहरीको काज फिर्ता अनि पुनश्च: साबिककै ठाउँमा फिर्ताको मात्र हो, तर घटनाक्रम र पृष्ठभूमि देशको सिस्टम, नेपाल प्रहरीको हविगत, पशुपतिमा हुने ‘गोरखधन्दा’ सुस्पष्ट देखिने ऐना पनि हो। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले निकै लामो समयदेखि पशुपति मन्दिरमा तैनाथ प्रहरी नायब निरीक्षक (सई) शम्भु ठाकुर, सहायक निरीक्षक (असई) रणधीरकुमार सिंह र प्रहरी जवान रामजनम बैठाको पुस २२ गते काज फिर्ता गर्‍यो, तिनको दरबन्दी कायम थियो सामाखुसीस्थित पहरा गणमा। 

बाहिरबाट हेर्दा तीन थान कनिष्ठ प्रहरीको काज फिर्ता थियो, एकदमै सामान्य नियमित प्रक्रिया। तर, उक्त घटना अति असामान्य रहेछ भन्ने केहीबेरमै थाहा भइहाल्यो। काज फिर्तीको सर्कुलर हुनासाथ कार्यालय प्रमुख एआईजीपी दिवेश लोहनी, महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहको मोबाइलमा तिनको काज फिर्ताको निर्णय रद्द गरी पशुपतिमै तैनाथीका लागि अनुरोध/आदेश गरिएका कलको घण्टी बज्न थाले। ठाकुरसहितको काज फिर्तालाई पुनः फिर्ता गराउन सबैभन्दा पहिले त पशुपतिका मूल भट्ट गणेश भट्ट नै अघि सरे। त्यसपछि क–कसले फोन गर्‍यो भन्दा पनि देशका ‘हु इज हु’ को छुट्यो भन्ने अवस्था रह्यो। आईजीपी सिंह त खासै टिक्नै सकेनन्, गलेर ठाकुरसहितलाई पुनः पशुपति पठाइदिनु भनेर मौखिक आदेश दिन थालिहाले। लोहनी अटेर गरिरहे। अब्बल प्रहरीको पहिचान बनाएका लोहनी करिब–करिब प्रहरीको जागिर जीवन नै पशुपतिमा बिताएका ठाकुरलाई पुनश्च: पशुपति नपठाउनेमा अड्डी कसिरहे।

एकजना सूचनादाताले माघ २४ गते शम्भु ठाकुर काज फिर्ता भई पुनः पशुपतिमा फिर्ता भइसकेको सुनाए। “ठाकुरलाई मूल भट्टबाट अलग गर्नै सकिँदैन,” सूचनादाता भन्दै थिए, “केही उपाय नलागेको भए उनले एम्बेसी (भारतीय दूतावास) मा धर्ना दिएर भए पनि फिर्ता गराई छाड्ने थिए।” घटनाक्रम नियालिरहेको म तत्कालै काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीतिर सोझिएँ। एआईजीपी लोहनीको कार्यकक्षमा प्रवेश गरेपछि कुरा झिकिहालेँ, “सर, ठाकुर त टोलीसहित पशुपतिमै फिर्ता भएछन् त!” लोहनीले भने, “मलाई जानकारी नै छैन, होइन होला।” काज फिर्ताका बाबजुद ठाकुर पहरा गणमा हाजिर नभई साँझ–बिहान नियमित पशुपतिमै गइरहेको सुनिएको भन्दै उनले कुरा त्यतिमै सीमित रहेको हुनसक्ने बताए।

वास्तविकता लोहनीले लख काटेभन्दा फरक निस्कियो। उनी दुई दिनअघि (माघ २२) देखि पशुपति क्षेत्रको साबिक ड्युटीमा औपचारिक रूपमै फर्किसकेको पुष्टि भयो। सूचनादाताले मलाई दिएको सूचना न गलत थियो, न एआईजीपी लोहनीले पत्तो नपाएको नै। लोहनी मात्रै होइन काठमाडौँ उपत्यका प्रहरी कार्यालय नै ठाकुरको पशुपति फिर्तीमा बेखबर थियो। खासमा आईजीपी धीरजप्रताप सिंहको मौखिक आदेशअनुसार पहरा गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विमल कँडेलले मौखिक आदेश दिई ठाकुरलाई पशुपतिमा ड्युटीमा तैनाथ गराएका छन्। सबै काम मौखिक आदेशमै तमाम भएकाले कँडेलले उपत्यका प्रहरी कार्यालयलाई पनि भनेका थिएनन्। बरु आईजीपी पशुपतिमै पठाइदे भनेर आदेश दिने, काठमाडौँ उपत्यका प्रहरी कार्यालय हाम्रो जानकारीबेगर कसरी फिर्ता भए भनेर सोध्ने भएपछि आफैँ ‘स्यान्डबिच’ महशुस गरिरहेका छन्।

प्रहरीको जागिर जीवन नै जम्माजम्मी ३० वर्षको हुन्छ। शम्भु ठाकुर २८ वर्ष पशुपतिको ‘सेवा’ मा बिताउन पाउने भाग्यमानी भक्त हुन्, जो पाँच महिनापछि प्रहरी सेवाबाट अवकाश पाउँदै छन्। तालिममा बिताएको समय घटाउँदा पशुपतिबाहिर उनले चारपाँच महिनाभन्दा बढी ड्युटी गर्न परेको देखिँदैन। जुन नेपाल प्रहरीमै सम्भवतः अद्वितीय हुनसक्छ। डा. गोविन्द टण्डनका अनुसार उनी २०७०–०७४ मा पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिव छँदा ठाकुरको सरुवा/काज फिर्ता भएको पटक–पटक सुनिन्थ्यो, तर एकाध दिनमै फर्किहाल्थे। “चारचोटि जति उनी आउने–जाने भएको जस्तो लाग्छ,” शुक्रबार उनले भने।

त्यसो त ‘शम्भु ठाकुर एन्ड कम्पनी’ को पशुपतिबाट पहरा गणमा काज फिर्ता कुनै नियमित प्रक्रियाजसरी सजिलै भएको चाहिँ थिएन। अवकाशप्राप्त प्रहरी नायब उपरीक्षक (डीएसपी) विशाल भारतीले पुस २२ गते तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पशुपतिमा ठाकुर–मूल भट्टले चलाएको गोरखधन्दाबारे सविस्तार ब्रिफिङ गरेपछि त्यसैदिन काज फिर्ता भएको थियो। “हतारमै रहेका गृहमन्त्रीलाई झटपटमै कुरा सुनाएँ, सचिवालयका सहयोगीहरूसित अलि विस्तारमै कुरा भयो,” भारती त्यस दिनको कुरा सम्झिन्छन्, “म घर नपुग्दै मन्त्रीको सचिवालयका दीपक बोहोराले फोन गरेर काज फिर्ता भइसकेको जानकारी गराएका थिए।” ठाकुरको गोरखधन्दाबारे हाकिमसाबहरू बेखबर थिएनन्, यसैले गृहमन्त्रीको आदेश आउनासाथ काम तमाम भइहाल्यो। 

भारती पशुपतिमा ‘शम्भु ठाकुर एन्ड कम्पनी’को गोरखधन्दाको गुनासो लिएर मन्त्री र उच्च पदस्थ प्रहरीकहाँ धाएको पहिलोचोटि होइन, न त्यो अन्तिम नै हुनेछ। रविभन्दा अघिका गृहमन्त्री बालकृष्ण खाँणसमक्ष पनि उनले यो ब्रिफिङ गरेका थिए। उनी हात धोएरमात्र होइन नुहाएरै ‘शम्भु ठाकुर एन्ड कम्पनी’ को पछि लाग्नुको अर्कै कथा–व्यथा छ। 

पशुपति मन्दिरको सुरक्षार्थ प्रहरीको पहरा गणबाट निरीक्षक (इन्स्पेक्टर) को कमान्डमा ३५–४० जनाको टोली तैनाथ हुन्छ। तत्कालीन इन्स्पेक्टर भारती २०७७ साल वैशाखमा पशुपतिमा सरुवा भए। त्यतिबेला देशव्यापी बन्दाबन्दी थियो, पशुपतिमा सर्वसाधारणको लागि पूजा–अर्चना निषेधित थियो। काठमाडौँका धनाढ्य सेठ–सेठानीका लागिचाहिँ दर्शन निर्बाध थियो। भारतीका अनुसार त्यसै बेलादेखि कमान्डर र ठाकुरबीच खटपट शुरू भयो।

‘शम्भु ठाकुर एन्ड कम्पनी’ को धन्दा त्यतिमै सीमित थिएन। दशकौँ पशुपतिमै बिताइसकेका ठाकुरलाई पशुपति आउजाउ गरिरहने सेठ–सेठानीबारे थाहा नहुने कुरै भएन, चाहे ती काठमाडौँका हुन वा वीरगन्जका अथवा भैरहवाका हुन वा नेपालगन्जका, सबैलाई भीआईपी प्रवेशको बन्दोबस्त मिलाएका थिए र छन्। ‘मालदार पार्टीहरू’ पूर्व जानकारी गराई मन्दिर आउँछन्, ठाकुरको टोलीले दक्षिणतिरको ढोकाबाट सोझै दर्शन गराउँछ, मूल भट्टकै हातबाट चन्दन, माला, प्रसाद ग्रहण गराउँछ। कतिपय नेपाली तथा भारतीय सेठहरू मूल भट्टलाई निवासमै भेटेर दानदक्षिणा दिन चाहन्छन्, तिनका लागि नित्य पूजापाठ सकिएपछि (सामान्यतया १ बजे उपरान्त) मूल भट्ट निवासमै भेटघाट दान–दक्षिणा लेनदेनको बन्दोबस्त उनैले मिलाउँछन्। 

यसबाहेक ठाकुरले ‘धकेडियाहरू’ परिचालन गर्छन्, जसको कामै भिडभाडका दिन मन्दिर परिसरमा परिचालित भई हेर्दै हुनेखाने (खासगरी भारतीय) लाई ‘शम्भु ठाकुर एन्ड कम्पनी’ को सम्पर्कमा पुर्‍याई दक्षिण ढोकाबाट मन्दिर दर्शन गराउनु हुन्छ। “मैले त यो सब थाहा पाएदेखि पवित्र पशुपतिको दक्षिण ढोकालाई पापीहरूको ढोका बनाए पो भन्ने गर्‍या छु,” भारती भन्छन्।  

तिनको गोरखधन्दा यतिमै सकिँदैन। पशुपतिमा विशेष पूजाहरू हुन्छन्– २१ सयदेखि २५ लाख रुपैयाँसम्मका। जसका लागि बैंकमा रकम दाखिला गरी भौचर लिएर पूजा गराउन जानुपर्छ। ‘शम्भु ठाकुर एन्ड कम्पनी’ ले बैंक दाखिला नगरी थोरै पैसामा पूजा गराइदिने दलाली गर्छ। र, ‘क्लाइन्ट’ रेडी भए सोझै मूल भट्टकहाँ पुर्‍याएर गराई पनि दिन्छ। 

‘क्लाइन्ट’बाट आउने रकममा मूल भट्ट र ठाकुरको भागबन्डा हुन्छ। भारतीयसँग विशेष पूजाका लागि भारु लिए पनि बैंकमा त्यति नै नेरुमात्र दाखिला गरी बाँकी रकम गोजीमा हाल्ने अर्को धन्दा यो कम्पनीले गर्छ। जस्तो, कुनै भारतीयले १ लाखको पूजा गराउनु छ भन्यो भने ऊसँग भारु १ लाख लिइन्छ, तर रसिदचाहिँ नेरु १ लाखको थमाइन्छ, बाँकी रकम फिर्ता लिइँदैन। पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य–सचिव डा. गोविन्द टण्डनका अनुसार भारतीय दातामाथि यस्तो ठगी पञ्चायतकै पालादेखि भइरहेको बताउँछन्। 

दाताले भारुमा दिने, तर पशुपतिबाट नेरुको रसिद थमाउने गरिन्थ्यो। यसबाहेक ‘प्रिभलेज्ड’ दर्शनार्थीबाट विभिन्न उपहार संकलन गरी पुलिसकै हाकिमहरूसम्म पुर्‍याउने धन्दा पनि छ। भारतीका अनुसार पशुपति आइरहने सेठहरूमा ठूल्ठूला उद्यमी, आयातकर्ताहरू हुन्छन्। ठाकुरको टोलीले तिनका उत्पादन उपहारस्वरूप लिएर आफूले खुशी पार्नपर्नेहरू कहाँ चढाउने गर्छन्। 

“दशैँको बेला त सेठहरूका घरदैलोमा पुगेर नगद/जिन्सी उठाउने काम  हुनेरहेछ,” भारती भन्छन्, “रोक्न खोजेपछि ठाकुरले मलाई नै पहरा गणमै सरुवा गराइदिए।” ठाकुरलाई लगाम लगाउन खोज्दा उल्टै सरुवा भएपछि उनी तत्कालीन आईजीपी शैलेस थापा क्षेत्रीकहाँ फरियाद गर्न पुगे। उनले तिनको धन्दाको पोको खोल्दै उल्टै आफूलाई सरुवा गरेर ‘साधुलाई शूली, चोरलाई चौतारो’ गरेकोमा असन्तुष्टि पोखे, न्याय मागे। कुरा अघि बढ्दै गयो। उनले आईजीपीलाई घुस नखाए पनि निरीह हाकिम भएको आरोप लगाइदिए।

इन्स्पेक्टरले निरीह भन्दिएपछि थापा पनि ‘तँ बढ्ता बोल्छस्’ भनेर जंगिए। धन्न त्यही कार्यकक्षमा उपस्थित एआईजीपीद्वय प्रद्युम्न कार्की र नीरज शाहीले उनलाई बाहिर पठाइदिए। ‘नत्र त्यो दिन तत्कालै बर्खास्त भइने काम मबाट हुनसक्थ्यो,’ सम्झिन्छन् । 

भारती गत कात्तिकदेखि सेवा निवृत्त भइसकेका छन्। तर उनी ठाकुर एन्ड कम्पनीविरुद्ध हात धोएरमात्र होइन नुहाएरै पछि लागेका छन्। सेवा निवृत्त भएपछि पनि उनले आईजीपी धीरजप्रताप सिंह, एआईजीपी लोहनी आदिलाई पटकपटक भेटेर रिमाइन्डर दिएकै थिए। आईजीपी सिंह शुरूमा उनकै पक्षमा थिए। यसैले गृहमन्त्रीले भन्ने बित्तिकै काज फिर्ता गराउन उनको पनि साथ सहयोग रह्यो। पछिल्ला दिनमा चाहिँ उनी ‘तँ साला रिटायर्ड भइसकिस्, कति पछि लाग्छस्, छोड्दे’ भन्न थालेका छन्। भारतीचाहिँ ‘पानीमुनि पुगे पनि छाड्दिन, जमिनमुनि जमे पनि छाड्दिन’को शैलीमा पछि परेकै छन्। 

पशुपतिका मूल भट्टको कारण सरुवा भएकोमा भारतीले यसरी चित्त दुखाएका छन् कि, बेलाबेला ‘म पत्रकार सम्मेलन गर्छु’ भन्छन्। पशुपतिको आम्दानी नियमन गरी यसमा भट्ट/भण्डारीको एकलौटी तोड्न खोज्दा यसअघि सदस्य सचिवले राजीनामा गर्नुपरेको इतिहास छ। पशुपति क्षेत्र विकास कोष पहिलो संशोधन (२०५०) विधेयकमा पशुपतिको आम्दानी कोषमा दाखिला गरी भट्ट/भण्डारीलाई निश्चित तलब दिने प्रावधान राखिएपछि तत्कालीन मूल भट्ट पद्यनाथ शास्त्रीको नेतृत्वमा त्यसलाई तुहाउन ‘लविइङ’ चल्यो। 

विधेयकमै रोक्न नसक्ने देखेपछि उनले सदस्य–सचिव डा. गोविन्द टण्डनलाई हटाउनुपर्ने माग राखे। आफ्नो राजीनामाले विधेयक ऐन बन्छ भने राजीनामा दिन तयार रहेको खबर टण्डनले दिएपछि तत्कालीन तालुकदार मन्त्री गोविन्दराज जोशीले बोलाएर उनलाई राजीनामा गर्न भनेका थिए। यो प्रकरणपछि लेखक सौरभले ‘अर्को भीम मल्लको अन्त’ शीर्षकमा लेख लेखेका थिए। "मूल भट्ट शास्त्रीले चाहिँ मलाई धर्म नमान्ने कम्युनिस्ट भनेका थिए," डा. टण्डन सम्झिन्छन्।  

संशोधित ऐन त लागू भयो, तदनुरूपको नियमावली बनेर भट्ट/भण्डारीलाई पशुपतिको सारा आम्दानी नै भागबन्डा गर्न दिने चलन रोक्नचाहिँ उनै डा. टण्डनको अगुवाइमै सम्भव भयो। २०७० सालमा खिलराज रेग्मी नेतृत्वमा बनेको सरकारले सदस्य–सचिवको जिम्मेवारी दिएपछि दुई दशकअघि अधुरो छाड्न परेको यो काम तमाम गरे।

२०४३ सालमा पशुपति क्षेत्रमै पीएचडी गर्ने क्रममा शोध गर्दा पछिल्ला ६ वर्षमा पशुपतिमा दाखिला भएको जम्माजम्मी आम्दानी ८ हजार रुपैयाँ थियो। एउटा खुत्रुकेमा खसालिएको नगद पशुपतिको हुन्थ्यो भने बाँकी सबै भेटी, दान, दातव्य भट्ट–भण्डारीले भागबन्डा गरी बुझ्थे। उनका अनुसार श्री ३ रणोद्दिप सिंहकै पालामा पशुपतिको आम्दानीमा भट्ट/भण्डारीको एकलौटीविरुद्ध उजुरी परेको थियो। त्यसको १३० वर्षपछि २०५० सालमा त्यसलाई नियमित गर्न कानूनी प्रावधान बन्यो। त्यसको कार्यान्वयनका लागि अर्को दुई दशक कुर्नपर्‍यो। शम्भु ठाकुरसहितका कनिष्ठ पुलिसको काज फिर्ताको निर्णय र पुनश्च: तिनैलाई पशुपति फर्काउने आदेशमा जोडिएका बेथितिमा सुधार देखिन अरू कति दशक लाग्ने हो?


सम्बन्धित सामग्री