Friday, April 19, 2024

-->

पोखरा विमान दुर्घटना: मानवीय त्रुटि कि प्राविधिक समस्या अझै निर्क्योल भएन

पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुर्घटना छानबिन गर्न गठित आयोगले सार्वजनिक गरेको 'विमानको दुवै इन्जिन बन्द' भएको विवरणले विवाद सिर्जना गरेको छ।

पोखरा विमान दुर्घटना मानवीय त्रुटि कि प्राविधिक समस्या अझै निर्क्योल भएन

काठमाडौँ– यती एयरलाइन्सको जहाज दुर्घटनाबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगले दुर्घटनाअघि जहाजको दुवै पंखा 'फेदरिङ' भएको प्रारम्भिक विवरण सार्वजनिक गरेपछि थप विवाद सिर्जना भएको छ।

जाँचबुझ आयोगले २०७६ माघ २३ गते सोमबार दुर्घटनाअघि जहाजको दुवै पंखा फेदरिङ भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो। आयोगका सदस्यसचिव एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषणपछि जहाज दुर्घटनाबारे संक्षिप्त विवरण सार्वजनिक गरिएको हो।

आयोगका सदस्यसचिव लामिछाने जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो भनी आयोगले प्राविधिक र मानवीय पक्षको अनुसन्धान अघि बढाएको बताउँछन्। “अबको छानबिनको विषय नै यही हो,” उनी भन्छन्।

फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरमा जम्मा भएका डाटाको आयोगको नेतृत्वमा टीएसआईबी सिंगापुर, बीइए फ्रान्स,  टीएसबी क्यानडाका प्रतिनिधिको सहभागितामा विभिन्न प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको थियो।

“फलाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त नाइनएन एनसी जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलर फेदरमा गएको देखिन्छ,” आयोगले भनेको छ।

बेस लेग भनेको जहाज फाइनल एप्रोचमा रनवेमा लाइन अप हुनुभन्दा अघिको चरण हो। बेस लेगबाट ९० डिग्री घुमेपछि मात्र जहाज रनवेको सीधा लाइनमा उत्रन्छ।

फेदरिङ के हो?
फेदरिङ भनेको घुम्ने पंखाको एउटा विशेष अवस्था हो, जुन उड्दै गरेको जहाजमा इन्जिन बन्द भएपछि हुने गर्छ। यस्तो भएको अवस्थामा पंखाहरू हावाको बहावसँग समानान्तर हुन्छन् र तिनीहरूले हावा धकेल्दैनन् वा हावाले पनि पंखालाई विन्डमिललाई झैँ धकेल्दैन।

एटीआरजस्तो विमानमा साधरणतया उड्दै गरेको विमानको इन्जिन फेल भएको अवस्थामा जहाजलाई ग्लाइड दूरी बढाउनका लागि पंखा फेदर गरिने गरिन्छ। हवाई मामिलाका जानकार हेमन्त अर्ज्यालचाहिँ फेदरको अवस्थालाई बुझाउन घरमा राखिएको पंखाको उदाहरण दिन्छन्।

"जसरी पंखाले स्विच खोलेपछि हावा फाल्न थाल्छ। पंखाको फ्यान अलिकति बांगो नभएर सोझो भयो भने पंखा घुम्छ। तर, त्यसले हावा दिँदैन”, अर्ज्याल भन्छन्, “हवाई जहाजको पनि अवस्था त्यही हो। पंखा घुमेको हुन्छ। तर, शक्ति कम हुन्छ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्ववरिष्ठ एरोनोटिकल इन्जिनियर रतिस सुमनका अनुसार पावर फेदर हुनु भनेको जहाजको इन्जिनमा पावर कम हुनु हो। यस्तो अवस्था जहाजमा प्राविधिक र चालकले जहाजको गति कम गर्दा हुन्छ।

“फेदर गरियो वा भयो, त्यो स्पष्ट भएको छैन”, रतिस सुमन भन्छन्, “फेदर भएपछि इन्जिनको पावर कम हुन्छ। त्यसले गर्दाखेरि जहाज खस्यो वा उड्न सकेन। अहिले केही भन्न सकिन्न। गन्तव्यमा पुग्न थालेपछि तेलको खपत कम गर्न पनि इन्जिनको पावर घटाउन यसो गर्न सकिन्छ। आफैँ भयो कि गरियो, यो त छानबिनकै विषय भयो।”

‘गलत सूचना दिइयो’
छानबिन आयोगले विज्ञप्तिमार्फत सार्वजनिक गरेको जहाज दुर्घटनाको विवरणलाई लिएर हवाई क्षेत्रमा संलग्न पाइलट भने 'आयोगले विज्ञप्ति जारी गरेर गलत सूचना दिएको' बताउँछन्। नेपालमै एक निजी वायुसेवा कम्पनीको एटीआर जहाज उडाउने एक पाइलटले छानबिन आयोगले अपूरो विवरण सार्वजनिक गरेर गलत सूचना दिएको तर्क गर्छन्।

“फ्रि टर्बाइन इन्जिन फेदरमा बसेको हुन्छ। स्टार्ट गरेपछि फाइन पिचमा जान्छ। आयोगले पूरा रिपोर्ट नदिएर आधा मात्र म्यासेज दिएको छ। हतारमा विज्ञप्ति निकाल्यो”, आफ्नो नाम उल्लेख गर्न नचाहने ती पाइलट भन्छन्, “दुवै इन्जिनमा फेदरको अवस्था आउने चान्स एकदमै कम हुन्छ। कि चालकले दुवै पावर घटाउनुपर्‍यो होइन भने इन्जिनमा समस्या, तेल जाने फिल्टर ब्लक भयो भने त्यस्तो हुन्छ। तर, दुवै इन्जिनमा यस्तो अवस्था कसरी आयो? हिजोको विज्ञप्तिले मानिसहरूलाई गलत सूचना दिएको छ।”

हवाई मामिलाका जानकार हेमन्त अरज्याल भने आयोगको कामलाई सकारात्मक ठान्छन्। “सामान्यतया अरू मुलुकमा घटना भएको एक महिनासम्ममा प्रारम्भिक रिपोर्ट निकाल्ने चलन छ। यहाँ विज्ञप्तिमार्फत आयो। हामीले काम गरिरहेका छौँ भनेर जानकारी दिएको विषयलाई गलत रूपमा व्याख्या गर्न हुन्न”, उनी भन्छन्, “अहिलेसम्म यसरी विज्ञप्ति निकालेर जानकारी गराइएको थिएन। पहिलोपटक यस्तो काम गरिएको छ, यो सकारात्मक हो।”

गत माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइएन एनसी जहाज अवतरणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गभन्दा करिब १ हजार ५ सय मिटर पश्चिमतर्फ दुर्घटना भएको थियो। उक्त दुर्घटनामा चालक दलका चार सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो।


सम्बन्धित सामग्री