Thursday, April 25, 2024

-->

मोन्टी देसाईको लक्ष्य : एकदिवसीय मान्यता जोगाउने, एशिया कप र विश्वकपमा पुर्‍याउने

मुख्यप्रशिक्षक नियुक्त भएकै दिन मोन्टीले ब्याटिङमा क्षमतावान् खेलाडी भए पनि एकताबद्ध भएर नखेल्दा क्षमताअनुसार प्रदर्शन नभएको औँल्याए। र, लक्ष्य सुनाए– एकदिवसीय मान्यता जोगाएर विश्वकपसम्म पुर्‍याउने।

मोन्टी देसाईको लक्ष्य  एकदिवसीय मान्यता जोगाउने एशिया कप र विश्वकपमा पुर्‍याउने

काठमाडौँ– यस वर्ष भारतमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप–२०२३ को ग्लोबल क्वालिफायरका लागि नेपाल सिधै छनोट हुन सक्ने माध्यम हो, लिग–२। २४ खेल खेलिसक्दा जम्मा आठ खेल जितेको नेपालको प्रदर्शन हेर्दा ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना न्यून देखिन्छ।

यद्यपि, लगातार खराब प्रदर्शन गर्दै आएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले फागुन २ गतेदेखि घरेलु मैदानमा आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखला खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबिया र स्कटल्यान्डसँग हुने त्रिकोणात्मक श्रृंखला नेपालका लागि ‘गर या मर’को स्थितिमा छ।

१२ मध्ये अधिकांश जित निकाल्दै आसन्न विश्वकप छनोटमा स्थान बनाउने र चार वर्षका लागि एक दिवसीय मान्यता कायम राख्ने लक्ष्य बोकेको नेपाल घरेलु भूमिमा शतप्रतिशत जितको खोजीमा छ। विभिन्न उतारचढाव, खेलाडीसँगको विवाद, दुई कप्तान परिवर्तन र एकै वर्षमा तीन प्रशिक्षक भित्र्याएको नेपाल क्रिकेट संघ (क्यान)ले यसपटक पाँच वर्षअघि पाएको एक दिवसीय मान्यता जोगाउने कडीका रूपमा भने उही पात्रलाई चुनेको छ। अर्थात् भारतीय क्रिकेट प्रशिक्षक मोन्टी देसाई।

नेपाली क्रिकेटसँग परिचित देसाईले यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकप पहिलोपटक खेल्दा ब्याटिङ प्रशिक्षकका रूपमा काम गरेका थिए। यस्तै, सन् २०१७ मा यू–१९ एशिया कपमा नेपालले भारतमाथि ऐतिहासिक १९ रनको जित हात पार्दा ब्याटिङ प्रशिक्षकमा देसाई नै थिए। त्यसैले होला क्यानका अध्यक्ष चतुरबहादुर चन्द गत वर्षदेखि नै उनलाई भित्र्याउने प्रयासमा थिए।

तर, इन्डियन प्रिमियर लिग (आईपीएल)मा छुट्टी र चर्को पारिश्रमिक मागेको भन्दै ‘रिजेक्ट’ भएका उनै देसाईलाई क्यानले यसपटक भित्र्याउन सफल भएको छ। सोमबार उनै देसाईलाई चिनाउन गरिएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष चन्दले ‘भिजन’ र अन्य कुरा मिलेका कारण प्रशिक्षकको रूपमा स्वीकार गरेको दाबी गरे।

“नेपाली क्रिकेटमा केही गर्छु भन्ने हौसला र उत्साहसहित मुख्य प्रशिक्षक बन्ने प्रस्ताव पेस गर्नुभयो। उहाँसँग लामो अनुभव छ। यसअघि उहाँले विज्ञको रूपमा नेपाली टोली हेर्नुभएको छ। हामीले घरेलु मैदानमा ८ सिरिज खेल्नुपर्ने छ। जुन प्रक्रियाबाट उहाँ आउनु भएको छ, त्यसबाट हामी राम्रो रिजेल्ट निस्किनेमा आशावादी छौँ”, उनले भने।

ब्याटिङ प्रशिक्षकको छवि बनाएका देसाईले आफ्नै राष्ट्र भारतका मनोज प्रभाकरलाई प्रतिस्थापन गरेका हुन्। प्रभाकरले नामिबियामा आयोजित लिग–२ अन्तर्गतका चार खेलमा नेपाललाई अंक दिलाउन नसकेपछि क्यानले उनलाई गत मंसिर २५ गते मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको थियो।

त्यसपछि रिक्त रहेको पदमा क्यानडा राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी सम्हालिसकेका देसाईलाई क्यानले भित्र्याएको हो। भारतका लागि एक टेस्ट र एक ओडीआई खेलेका उनले २५ वर्षको उमेरमा सन्न्यास लिएका थिए। यद्यपि, विभिन्न राष्ट्रिय प्रतियोगिता खेलेका देसाईको विशेषता भनेको ब्याटिङ सुधार गर्ने नै हो। 

सन् २००८ मा आयोजना भएको पहिलो संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा देसाईले सहायक प्रशिक्षकका रूपमा राजस्थान रोयल्सको जिम्मेवारी सम्हालेका थिए। सोही वर्ष उपाधि जितेको राजस्थानले उनलाई सन् २०१५ सम्म राखेको थियो। सन् २०१६ र ०१७  गुजरात लायन्सको पर्फर्मेन्स प्रशिक्षक रहेका उनी त्यसपछि अफगानिस्तान पुगे। 

अफगानिस्तान सन् २०१८ को एकदिवसीय विश्वकप छनोटमा हुँदा उनी ब्याटिङ प्रशिक्षक थिए। अफगानिस्तानले फाइनलमा वेस्ट इन्डिजलाई ७ विकेटले हराउँदै उपाधि जितेपछि उनी यूएई लागे। करिब एक वर्ष यूएईको ब्याटिङ प्रशिक्षक भएका उनी त्यसपछि क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त भए। उनी एक वर्ष क्यानडाको मुख्य प्रशिक्षक भए। उनी गत डिसेम्बरसम्म वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक थिए।

त्यसयता खालीजस्तो रहेका उनलाई क्यानले दुई वर्षका लागि भित्र्याएको अध्यक्ष चन्दले जानकारी दिए। “नेपाली राष्ट्रिय टिम विगतका प्रशिक्षकहरूका लागि ट्रान्जिट प्वाइन्ट हुने आरोप लागेको छ। तर, यसपटक उहाँ (देसाई)लाई लामो समयका लागि ल्याएका छौँ। आशा छ यसपटक उक्त आरोपबाट मुक्त हुनेछौँ”, उनले भने।

देसाईको लक्ष्य
देसाईले आफूलाई व्यक्तिगत विवरणमा प्रतिभा पहिचान गर्न सक्ने र आधुनिक अभ्यास शैली अपनाउने प्रशिक्षकका रूपमा क्यानसामू आफूलाई उभ्याएका छन्। सोमबार सञ्चारकर्मीहरूमाझ उभिएका उनले उक्त कुरा पुनः दोहोर्‍याए। गत जुन २२ मा घरेलु टोली अमेरिकासँग खेलिएको खेलमा २७४ रनको लक्ष्य पछ्याएको नेपालले ‘म्याच टाई’ गराउन सकेको उदाहरण दिँदै उनले नेपालको ब्याटिङमा पनि क्षमतावान् खेलाडी भएको बताए। यद्यपि, टोलीका खेलाडी एकताबद्ध भएर नखेलेको महसुस गरेका उनले क्षमताअनुसार प्रदर्शन गर्न सके नेपालको ब्याटिङ सुध्रिने धारणा राखे।

“थुप्रै चुनौती भए पनि नेपाली खेलाडीमा राम्रो खेल्ने क्षमता छ। अनुभवी खेलाडी पनि छन्। तर, टिमका खेलाडी एकताबद्ध भएर खेल्नुपर्छ”, उनले भने। 

खराब ब्याटिङकै कारण नेपालले टी–२० विश्वकपमा छनोट हुने मौका गुमाएको थियो। यस्तै, लिग–२ का अधिकांश खेलहरूमा पनि नेपालको ब्याटिङ खराबै रह्यो। दुई वर्षका लागि नियुक्त भएका देसाईले नेपाली टोलीबाट एकैनासको प्रदर्शनको अपेक्षा गरेका छन्। लिग–२ का बाँकी १२ खेल जितेर एकदिवसीय मान्यता जोगाउन आफू लाग्ने उनले बताएका छन्।

“यसका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएको छु। तत्कालीन योजनामा १२ खेल जित्ने र नेपालको एक दिवसीय मान्यता जोगाउने हुनेछ”, उनले भने, “यससँगै अब खेल्ने एक दिवसीय खेल जित्ने गरी काम गर्ने छु। दोस्रो लक्ष्य एशिया कप र तेस्रो विश्वकप छनोट हुने हो। नामिबियामा हुने छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गर्नेछौँ।”


सम्बन्धित सामग्री