Saturday, April 20, 2024

-->

बैंक अकाउन्ट ह्याक गर्ने ८ जना पक्राउ

मोबाइल बैंकिङ खाता ह्याक गरी ४ लाख चोरीको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

बैंक अकाउन्ट ह्याक गर्ने ८ जना पक्राउ

काठमाडौँ– अरूको बैंक अकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जना पक्राउ परेका छन्। 

ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशिया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी ४ लाख चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए। 

सोही उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा सो कार्यमा संलग्न पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रबिना चौधरी, बाराका सन्तोष कुँवर, सप्तरीका दिलीप चौधरी र भारत बिहार प्रदेशका अवधेश कुमारलाई काठमाडौँ र मकवानपुरको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए। 

उनीहरूको साथबाट नौ थान मोबाइल, एक थान ल्यापटप र पाँच थान एटीएम कार्ड पनि बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।


सम्बन्धित सामग्री